पोखरा । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री शाहीविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले नै अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाका १८ जना सदस्यहरुले नै मुख्यमन्त्री शाहीलाई हटाउन भन्दै हस्ताक्षर सहित संसदीय दलका प्रखुम सचेतक गुलाबजंग शाहलाई बुझाएका हुन् ।
प्रस्तावमा सचेतक शाह सहित उपसभामुख पुष्पा घर्तीमगर, यामलाल कँडेल लगायतको हस्ताक्षर रहेको छ । शाही मुख्यमन्त्री निर्वाचित भएपछि पार्टी तथा कामकारवाही फितलो बन्दै गएको, पार्टीको प्रभावकारितामा कमी आएको लगायतका आरोप लगाइएको छ ।