नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख नाघ्यो, ६ सयको मृत्यु

पोखरा । नेपालमा थप २ हजार ५९ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५९ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरो संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

हाल नेपालमा २७ हजार ५३ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १३ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

यो अवधीमा नेपालमा १ हजार ६ सय ८० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोमामुक्त भएर डिस्चार्ज हुनेको कुल संख्या ७३ हजार २३ पुगेको छ ।

हाल नेपालमा ३ सय १८ को आइसियु तथा ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही तथा सुर्खेत जिल्लामा ५ सयभन्दा धेरै सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै मनाङ तथा मुस्ताङ कोरोना संक्रमणमुक्त जिल्ला हुन् ।

नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोना भाइरस संक्रमणबाट थप १० जनाको ज्यान गएको छ । जसमध्ये १ महिला तथा ९ जना पुरुष रहेका छन् । यो अवधीमा काठमाडौंकी ८७ वर्षीय महिलाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकी छिन् ।

त्यस्तै झापाका २९ र ५२ वर्षीय, सुनसरीका ४६, ५२ र ६८ वर्षीय तथा काठमाडौंका ७१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ललितपुरका ८४ वर्षीय, रुपन्देहीका ४७ तथा ८४ वर्षीय पुरुषले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ६ सय पुगेको छ ।

कमेन्टहरु
Loading...