बढ्दैछ संक्रमण, जिम्मेवार को ?

सरकारले साउन महिना लकडाउन खुकुलो बनाउँने निर्णय गरेसँगै नेपाली जनजीवनले राहतको सास फे¥यो । चैतको १० गते लकडाउन सुरु भएपछि आम नेपालीले केही हप्ता वा केही महिना आफुलाई बन्दाबन्दीमा राखेर कोरोना भाइरसलाई पन्छाउने सोचेका थिए । सरकार पनि केही हप्ता वा महिनामा कोरोनाको कहर हट्ने विश्वासमा रहेको थियो । तर हामी कसैले सोचेजस्तो भएन । छिमेकी मुलुक चीन, जहाँबाट कोरोना सुरु भएको थियो । त्यही, पुनः कोरोना दोहोरिएपछि सरकारले आजित भएर साउन अन्त्यदेखि केही व्यवसायलाई छाडेर लकडाउन हटायो ।

 

सरकारको आफ्नै बाध्यता थियो नै तर सर्वसाधारण रोगले भन्दा भोकले मर्ने ठानेर विरोधमा उत्रिएपछि सरकारसँग विकल्प थिएन । फलस्वरुप लकडाउन अन्त्य गरियो । त्यतिबेलासम्म सरकारले दैनिक १० हजार जनाको परीक्षण गर्दा मुस्किलले ५ सयमा संक्रमण देखिएको थियो । लकडाउन वा निषेधाज्ञा हटाइएपछि असोजको अन्त्यसम्म आइपुग्दा कोरोना संक्रमणको दर ह्वात्तै बढेर ३ हजारको आांकडा नाघेको छ । यसबीचमा दैनिक १४ हजारको परीक्षण गर्न थालिएको छ ।

 

चाडवाड मुखैमा आइसकेकोबेला सरकार पुनः लकडाउन गर्ने वा नगर्ने भन्नेमा ठोस निर्णय लिन सकेको छैन । यसबीचमा सरकारले कोरोना नियन्त्रणमा कुनै पहलकदमी गर्न सकेन । हिजोको भन्दा आज क्वारेन्टाइनको संख्या बढाइएको छ । आइसोलेशन बेडको संख्या थपिएको छ । परीक्षण बढाइएको छ । तर उल्लेख्य हुन सकेको छैन । यसरी कोरोना संक्रमणको ग्राफ चुँलिदै जाँदा को जिम्मेवार छ ? वा कसको लापरवाहीका कारण बढेको छ ? भन्ने विषयमा समीक्षा गर्नुपर्ने बेला भएको छ ।

 

सम्भवतः अब चाहेर पनि सरकारले पुनः लकडाउन गर्न सक्छ जस्तो लागेको छैन । साउन लागेपछि सरकारलाई कर उठाउनु थियो । र, लकडाउन खुल्यो । तर, नेपाली जनमानस स्वयं पनि लकडाउन झेल्ने अवस्थामा थिएन । सरकारले लकडाउन खुलेपछि आम जनता र व्यवसायीले राहतको श्वास फेरेको पक्कै हो । हामी खुसी भएको पक्कै हो । तर खुसी टिकाइरहने चुनौति बढेको छ ।

 

उकुसमुकुस भएका जनता लकडाउनपछि घर बाहिर निस्के । तर उनीहरुले सुरक्षाको मापदण्ड जति अपनाउनु पर्ने थियो त्यति अपनाएनन् । कोरोना भाइरस र रोकथामबारे सूचना पाएको नेपाली समाज लकडाउनपछि बेवास्ता गर्न थाल्यो । नेपालीको मनबाट डर त हरायो नै लापरवाहीसमेत उत्तिकै गरियो । भीडमा समाहित हुन थालियो । संक्रमणबाट बच्न आ–आफ्नै पद्दति अपनाउन थालियो । घरबाहिर निस्कदा अपनाउनु पर्ने सुरक्षाको उपाय अपनाउन आनाकानी गर्न थालियो । सम्पूर्ण दोष सरकारतिर लगाउँदै उन्मुक्त वातावरणमा हिँड्न थालेपछि यस्तो अवस्था आउनु स्वभाविकै थियो । र, आयो पनि ।

 

विश्वस्त भए हुन्छ, यसबीचमा सरकारकोतर्फबाट केही गैरजिम्मेवार अभिव्यक्ति आएको छ । जसले प्रष्ट्याएको छ, सरकार जनता जोगाउन सक्दैन । हुनत आर्थिक र विज्ञानको क्षेत्रमा उच्च स्थानमा रहेका देशसमेत लाचार भएकाबेला हाम्रो सरकारसँग कुनै त्यस्तो जादुको छडि छैन । यसर्थ, बढदै गएको संक्रमणको ग्राफमा हामी आफै जिम्मेवार छौं । चाडवाड नजिकिँदै गएको बेला हाम्रो रवैया अझै यस्तै हुने हो भने हामी लगभग कालको मुखमा छौं । हामी बाँच्ने कि नबाँच्ने ? प्रश्नको उत्तर आफैभित्र खोज्ने बेला आएको छ ।

कमेन्टहरु
Loading...