समाज रुपान्तरण एवम् प्रजातन्त्र स्थापनाका लागि योगदान गरेका रामप्रसाद अधिकारीको जीवनका भोगाई र योगदान पुस्तकका रुपमा बजारमा आएको छ ।
राणाकालीन समयमा वि. सं. १९९३ साल साउन ११ गते कास्कीको अधिकारी डाँडामा पिता वासुदेव र माता मनकर्णाको कोखबाट जन्मिएका अधिकारीकोे जीवनका अनेकन भोगाइ अनुभव र योगदान ʿमेरो जीवन रेखाʾमा समेटिएको छ ।
जीवनको केही समय पर्शु प्राइमरी स्कूल भाटडाँडा र बालप्रबोधनि प्रावि मान्द्रेढुङ्गामा शिक्षण पेशामा खर्चिएका अधिकारी रजस्थल कास्कीकोट गाउँपञ्चायतको प्रधानपञ्च, दुई कार्यकालसम्म जिल्ला पञ्चायत सदस्य, दुई कार्यकालसम्म जिल्ला पञ्चायतको उपसभापतिको रुपमा काम गरिसकेका छन् ।
कश्यप गोत्रीय अधिकारी समाजको संस्थापक आजीवन सदस्य एवम् उपाध्यक्षको जिम्मेवारी समेत उनलाई सामाजिक क्षेत्रमा योगदान गरेवापत विश्वज्योति कालीसमुन्द्र विकास समाज, कश्यप गोत्रीय अधिकारी समाज, नेपालका साथै नेपाली काँग्रेस क्षेत्रीय समिति क्षेत्र नं ३ लगायतका संघसंस्थाबाट सम्मानित गरिएको थियो ।
श्रीमती कल्पना र छोराहरू श्यामराज, अम्बिकाराज, सूर्यराज र चिरञ्जीविका अभिभावक रामप्रसादको ʿमेरा जीवन रेखाʾ कृति कुल ७५ पृष्ठमा समेटिएको छ । कृतिको खण्ड एकमा आत्मजीवनी उल्लेख छ भने खण्ड दुईमा आफन्त तथा शुभचिन्तकका नजरमा रामप्रसाद अधिकारी उल्लेख छ ।
दोस्रो खण्डमा दिनबन्धु अर्यालको ʿमर्यादा र सेवामा रामप्रसाद अधिकारीʾ, डा.चैतन्य अधिकारीको ʿसमय र संस्करणमा ठूलो बुबाʾ, युवराज अधिकारीको ʿसामाजिक व्यक्तित्व रामप्रसाद अधिकारीʾ, गायत्री पराजुली (अधिकारी)को ʿठूलो बुबाʾ, भोजराज भण्डारीको ʿमैले चिनेको रामप्रसादʾ र ओमकार अधिकारीको ʿमेरो ठूलो बुबाʾ कविता समेटिएको छ ।
पुस्तकको खण्ड तीनमा विभिन्न विद्वानका अनुसन्धनात्मक लेख समेटिएको छ । उक्त खण्डमा डा.गुरुप्रसाद सुवेदीको ʿसनातन धर्म परिचयʾ, प्रेमराज अधिकारीको ʿपूर्वीय दर्शनका शिखर पुरुष स्वामी रामानन्दʾ, शिवहरि अधिकारीको ʿबालागुरु षडानन्द अधिकारीʾ, युवराज अधिकारीको ʿनेपालमा एकमात्र ब्राह्मण राज्यका अधिकारी वंशका राजाहरू तथा अन्य ऐतिहासिक व्यक्तित्वहरूʾ, श्यामराज अधिकारीको ʿहाम्रो घरको सेतो घोडाʾ र युवराज अधिकारीको कश्यप आश्रम संक्षिप्त चिनारीʾ शीर्षकका लेख रचना छन् ।
पुस्तकको खण्ड चारमा साभार गरिएका लेख रचनाहरू छन् जसमा गोत्र भनेको के हो ?, प्रवर भनेको के हो ?, कश्यप गोत्र वृतान्त, कश्यप गोत्र प्रवर विमर्श, कुलदेवता विन्ध्यवासिनी र क्षेत्रपाल, कश्यप गोत्रीय ब्राम्हणहरूको नेपाल प्रवेश, जसुधरका सन्नतिहरूमा प्रचलित केही लोक विश्वास, संस्कृति तथा परम्परा समेटिएको छ । पुरस्तकको परिशिष्ट खण्डमा ऐतिहासिक अभिलेख, रामप्रसाद अधिकारीका प्रमाणपत्र तथा सम्मान, प्रशंसापत्र, बंशावली, पारिवारीक तस्वीर राखिएको छ
मेरो जीवन रेखा कृतिमा शुभकामना सन्देश दिदै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालʿप्रचण्डʾ, नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट लगायतले समाजसेवी, शिक्षाप्रेमी एवम् विकासप्रेमी छवी बनाएका अधिकारीले समाजमा पु¥याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।