कास्कीमा तयारी पुरा, सबै केन्द्रमा सामाग्री सहित कर्मचारी पुगे, सुरक्षा कडा

गोकुल वानिया
पोखरा ३ मंसिर/कास्कीमा मंगलबार हुने संबिधानसभा निर्बाचनको सबै तयारी पुरा भएको छ । कास्कीका सबै मतदान केन्द्रमा आबश्यक निर्बाचन सामाग्री सहित कर्मचारी र सुरक्षाकर्मी पुगेसकेको जिल्ला निर्बाचन कार्यालय कास्कीले जनाएको छ । मतदाता परिचय पत्र वितरण, सुरक्षा ब्यबस्था, निर्बाचन सामाग्री लगायतका सबै ब्यबस्थापनको काम सकिएको छ । बिहान ७ बजे देखिनै मतदान सुरु हुने भएकाले आजै देखि मतदान केन्द्रमा सुरक्षा तैनाथी गरिएको छ ।

कास्कीको ग्रामिण क्षेत्र सहित पोखरा र लेखनाथ नगर क्षेत्रमा सुरक्षा निगरानी बढाईएको छ । केन्द्रमा मतदानको लागि जाने सबैको सुरक्षा ब्यबस्था मिलाईएकाले निर्भयताको साथ मतदान गर्न स्थानिय प्रशासनले आग्रह गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोईरालाले निर्बाचनमा सहभागि हुने सबै मतदातालाई सुरक्षित रुपमा मतदान गर्ने ब्यबस्था मिलाईएको बताए ।

४ निर्बाचन क्षेत्र रहेको कास्कीमा २७ दलका ७० र ७ स्वतन्त्र गरी ७७ उमेदवार चुनाबी मैदानमा छन् । कास्कीको एक सय ४७ स्थानमा २ सय ९२ मतदान केन्द्र तोकिएको छ । क्षेत्रगत रुपमा कास्कीको निर्बाचन क्षेत्रनम्बर एकमा ८६ , दुईमा ७१, तीनमा ५६ र क्षेत्रनम्बर चारमा ७९ मतदान केन्द्र तोकिएको छ । कास्कीमा एक लाख ९७ हजार ६ सय ६८ मतदाता रहेका छन् । अघिल्लो संबिधानसभा निर्बाचन भन्दा यो पटक कास्कीमा मतदाता संख्या एक लाख १७ हजार घटेका छन् ।

कास्कीको निर्बाचन क्षेत्रनम्बर १ मा सबैभन्दा बढी ५४ हजार ६ सय ६० मतदाता छन् भने सबैभन्दा कम क्षेत्रनम्बर ३ मा ४१ हजार २ सय १६ मतदाता छन् । त्यस्तै क्षेत्रनम्बर २ मा ४८ हजार ६ सय २५ र क्षेत्रनम्बर ४ मा ५३ हजार एक सय ५९ छन् । पोखराका ६ स्थानमा ७ अस्थायी मतदान केन्द्र तोकिएको छ । पोखराका बिभिन्न गण तथा ब्यारेकमा रहेका सेना, प्रहरी तथा कैदी बन्दीलाई लक्षित गरी समानुपातिक तर्फको मतदानको लागि अस्थायी मतदान केन्द्र तोकिएको हो ।

जिल्ला निर्बाचन अधिकृत घनश्याम भण्डारीका अनुसार जिल्ला बिकास समिति कास्की , जिल्ला कारागार, शसस्त्र प्रहरीको कालिका गण मालेपाटन, शसस्त्र प्रहरी तालिम केन्द्र लामपाटनमा अस्थायी केन्द्र तोकिएको छ । त्यस्तै बिजयपुर ब्यारेकमा रहेका सेनालाई लक्षित गरी उद्योग बाणिज्य संघको हल र फुलवारी ब्यारेकका सेनाको लागि दुरसञ्चार कार्यालयमा अस्थायी केन्द्र निर्धारण गरिएको छ । निर्बाचन आयोगले देशभर ३ सय २३ अस्थायी मतदान केन्द्र तोकेको छ ।

निर्बाचनको लागि कास्कीमा २४ सय कर्मचारी खटिएका छन् । निर्बाचन पर्यबेक्षणको लागि ३ सय ८७ राष्ट्रिय पर्यबेक्षकले अनुमति पाएका छन् भने कार्टर सेन्टर, युरोपियन युनियन, अमेरिका, श्रीलङका, फिलिपिन्स र मंगोलियाका पर्यबेक्षक पनि छन् ।

कमेन्टहरु
Loading...