सत्तापक्षले दम्भ देखाएपछि कुर्सी तोडफोड र माइक प्रहारः कांग्रेस नेता कनौडिया

दिपक के श्रेष्ठ

सत्तापक्षले बहुमतको दम्भ देखाएर पेल्न खोजेपछि बाध्य भएर संसदमा कुर्सी तोडफोड गर्नु परेको प्रदेश ५ का विपक्षी दल नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले जनाएका छन् ।

मंगलबार जारी सभामा बोल्दै नेता कनौडियाले सत्तापक्षले विपक्षीलाई सम्मान गर्नुपर्ने भएपनि जम्मा १९ जनाको संख्यालाई पेल्ने प्रवृत्ति देखाएकोमा घटना घट्न पुगेको उल्लेख गरे । ‘प्रतिपक्षको हैसियत नै नभएको जस्तो गरी सत्तापक्ष प्रस्तुत भयो’ उनले भने ‘सत्तापक्षले बिनाकुनै छलफल छापामार शैलीमा प्रदेशको राजधानी तोकेपछि विरोधस्वरुप यस्तो भएको हो ।’ विस्तृत छलफल गरिएको भए दाङ राजधानीकोरुपमा स्वीकार्य हुने उनले बताए ।

जनताहरु विरोध र आन्दोलनमा लागेकाबेला सत्तापक्षले जबर्जस्ती राजधानीको फैसला गरेकोमा विरोध गरेको उनको भनाई छ । सोही व्यवहारका कारण सोमबार कुर्सी तोडफोड र सभामुखलाई लक्षित गरी माइक प्रहार भएको घटना घट्न पुगेको उनको अभिव्यक्ति थियो । राजधानीको विकल्पबारे छलफल नगर्दा प्रतिपक्ष विरोधमा उत्रनु स्वभाविक भएको उनको टिप्पणी छ ।

१३ जनाको समितिले राजधानीबारे ३ स्थानको विकल्प दिएपनि त्यसबारे कुनै छलफल नभएको उनले जनाए । सुझाव समितिले दिएको छलफललाई लत्याउँदै सत्तापक्षले एकलौटी गरेका कारण कांग्रेले विरोध गरेको कनौडियाले बताए ।

दाङ, कपिलवस्तु र रूपन्देही राजधानी हुन सक्ने उक्त समितिको निष्कर्ष रहेको उनले बताएका छन् । उनले अन्त्यमा भनेका छन् ‘हिजोका कुरा बिर्साै, अब नयाँ ढंगले अघि बढौं ।’

 

कमेन्टहरु
Loading...