कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्यो, आजै १९ ले ज्यान गुमाए, थप २४ सय ४० लाई संक्रमण पुष्टि

पोखरा । नेपालमा थप २ हजार ४ सय ४० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप २ हजार ४ सय ४० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

हाल नेपालमा २३ हजार ५ सय ७ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टाको अवधीमा १३ हजार ७ सय ८१ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधीमा नेपालमा १ हजार १ सय ३३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोनामुक्त भएर डिस्चार्ज हुनेको कुल संख्या ६५ हजार २ सय २ पुगेको छ ।

हाल नेपालमा २ सय ४४ जनाको आइसियु तथा ४३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देही जिल्लामा ५ सयभन्दा धेरै सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

त्यस्तै नेपालको मनाङ, मुस्ताङ, रुकुमपूर्व तथा डोल्पा कोरोनामुक्त जिल्ला हुन् ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा कोरोना भाइरस संक्रमणबाट १९ जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा ५ महिला तथा १४ जना पुरुष रहेका छन् । पछिल्लो पटक पर्साकी ६५ वर्षीय, काठमाडौंकी ७६, ८१ र ८३ वर्षीय तथा गोरखाकी ८५ वर्षीय महिलाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

सुनसरीका ५५ वर्षीय, सर्लाहीका ४२ र ६९ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

आज सबैभन्दा बढी काठमाडौंका पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा २६ वर्षीय, ६५ वर्षीय, ६७ वर्षीय, ७८ वर्षीय, ८१ वर्षीय तथा ९१ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै ललितपुरका ३ वर्षीय बालक सहित ५५ र ७१ वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । त्यस्तै चितवनका ६२ वर्षीय तथा नवलपरासी पूर्वका ३६ वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधीमा ज्यान गएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ५ सय ५४ पुगेको छ ।

कमेन्टहरु
Loading...