कोरोना संक्रमणबाट मध्यपुरथिमी, झापा तथा भरतपुरमा १/१ जनाको मृत्यु

काठमाडौं । मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना संक्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ । ५ दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका ती पुरुषलाई शुक्रबार साँझ श्वासप्रश्वासमा समस्या भएर अवस्था जटिल बनेको थियो । यससँगै भक्तपुरमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेहरुमा १० महिला र २१ पुरुष छन् ।

दमककी १ महिलाको मृत्यु

झापाको दमक नगरपालिका–७ की एक वृद्धा महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया महिलाको मृत्युु भएको हो । केही दिनअघि ज्वरोसँगै रुघाखोकी लागेपछि उहाँलाई पाँच दिनदेखि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । उपचार केन्द्रको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए । यसअघि दमक–१ का एक ५८ वर्षीय संक्रमित पुरुषको पनि काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

भरतपुरमा १ पुरुषको मृत्यु

चितवनमा कोरोनाको संक्रमणबाट आज १ पुरुषको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका–१५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । असोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्ना भएका उनको शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान १०ः४४ बजे पुरुषको मृत्यु भएको अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए । यससँगै चितवनका २३ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ । रासस

कमेन्टहरु
Loading...