पोखरा । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल तथा सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै पौडेल तथा थापाका सुरक्षा गार्ड र गाडी चालकलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रजिअ तथा सहायक प्रजिअ बाढी पहिरो पीडितको पुनः स्थापनाका लागि खटिएको समयमा कोरोना संक्रमण भएको अनुमान गरिएको छ । प्रजिअ सहितका टोली जिल्लाका विभिन्न भागमा गएको बाढी पहिरो पीडितलाई राहत प्रदान तथा उद्धारका काममा खटिएका थिए ।
प्रजिअ पौडेललाई कोरोना भाइरससंग मिल्ने रुघाखोकी तथा ज्वरोको लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा बिहीबार साँझ रिर्पोट पोजेटिभ आएको हो । प्रजिअ, सहायक प्रजिअ तथा संक्रमित सुरक्षा गार्ड तथा गाडीचालक अहिले होम आइसोलेसनमा बसेका छन् । संक्रमित प्रजिअ तथा सहायक प्रजिअले सुचना जारी गरेर आफूहरुसंग सम्पर्कमा रहेकाहरुलाई संयमित हुन समेत आग्रह गरेका छन् ।
‘विगत केहीदिनदेखि जिल्लामा उत्पन्न विपदजन्य घटनाहरुको उद्धार राहत र पुनः स्थापना लगायतका कार्यहरुमा दिनरात नभनी खटिँदा हामी कोरोना संक्रमित हुन पुगेका छौं ।’ प्रजिअ तथा सहायक प्रजिअद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘हामी कामको सिलसिलामा विभिन्न महानुभावहरुको सम्पर्कमा पुगेका पनि छौं, हामीसंग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई संयमित भए उच्च मनोबलका साथ सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी कोभिड १९ विरुद्ध उच्च सर्तकता अपनाउनुहुन विनम्र अनुरोध गर्दछौं ।’