सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम अघि बढाउन पहल गर्ने बताएका छन् ।
बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत निर्माणको चरणमा रहेको भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरणका लागि भएको बैठकमा बोल्दै उनले यथाशीघ्र सो काम गर्ने बताए ।
राष्ट्रिय गौरवको आयोजना भएका कारण उक्त स्मृतिले अन्तर्राष्ट्रिय महत्व राख्ने बताउदै उनले बैठकमा उनको उपस्थिति अर्थपूर्ण रहेको बताए ।
समस्या निराकरणका लागि जोखिम आवश्यकता परे पनि दिन आफू तयार भएरै आएको उनले बताए। राम्रो काम गर्नका लागि कानूनी जटिलतामात्रै प्रधान नरहेको उनको जिकिर थियो । देशकै स्मरणयोग्य बनाउनका लागि केही क्षति भए पनि ब्यहोर्न तयार हुनपर्नेमा उनले जोड दिए।
उपाय कसरी निकाल्न सकिन्छ गहन छलफल गरेर निष्कर्ष निकाल्न उनले प्रमुख जिल्ला अधिकारीलगायतलाई निर्देशनसमेत दिए।
स्मृति उद्यानको तत्कालीन वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटा र सांसद शेरबहादुर तामाङद्वारा विसं २०७३ वैशाख २९ गते शिलान्यास गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ दारेगौँडा पानी ट्याङ्कीमा भगवती सामुदायिक वन क्षेत्रको ४२ हजार १०८ वर्गमिटर क्षेत्रमा बन्ने गरी शिलान्यास भएको हो ।
निर्माण समन्वय र सहजीकरण समिति गठनसमेत भएर निर्माण शुरु भएको भनिएको उद्यान पाँच वर्ष बितिसक्दासमेत योजनामै थन्किएको छ । रु ४९ करोड ९३ लाख १६ हजार ५२४ को लागत अनुमान र उद्यानको डिपिआरसमेत सम्पन्न गरी पुनःनिर्माण प्राधिकरणबाट रु एक करोड स्वीकृत भई घेराबार लगाइएको थियो ।
बैठकको अध्यक्षता गरेका सांसद तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा विद्यालय भवन निर्माणले देशकै अग्रता पाएजस्तै भूकम्प स्मृति उद्यान पनि सोही गतिमा बन्नुपर्ने धारणा राखे।
भूकम्पले देशकै सर्वाधिक क्षति पुर्याएको सिन्धुपाल्चोकमा भूकम्प स्मृति उद्यान बनाउन कसैगरी नरोकिने ठोकुवा गरे। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, पूर्वसांसद सुभाष कर्माचार्य, जिल्ला अध्यक्ष झम्क नेपाल तथा नेपाली काँग्रेसका जिल्ला सचिव बिलबहादुर तामाङलगाएतले स्मृति उद्यान पुनःनिर्माणमा अड्किएको गाँठोलाई कुनै विधिद्वारा फुकाउनुपर्ने धारणा राखे।