खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायती राजदूतमा नियुक्त गर्न सिफारिस : वैरागी सरकारको मुख्य सचिवमा नियुक्त

काठमाडौं । सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।

लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेर काम गरेका खतिवडालाई उनले पार्टीका धेरै सिनियर नेताका आकांक्षा पन्छाउँदै अर्थमन्त्री बनाएका थिए। खतिवडाको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि पनि ओलीले उनलाई अर्थमन्त्रीमा निरन्तरता दिए।

सांसद नरहेपछि छ महिना मात्रै मन्त्री बन्न पाउने संवैधानिक प्रावधानअनुसार खतिवडाले भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । खतिवडालाई अर्थमन्त्रीमा कायम राख्न प्रधानमन्त्री ओलीले दोस्रो कार्यकालका लागि पनि राष्ट्रिय सभामा नियुक्त गर्ने प्रयास गरेका थिए ।

त्यसैगरी मन्त्रिपरिषदले आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको छ । राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ। त्यसका लागि संसदले चाँडै नै सुनुवाइ प्रक्रिया सुरू गर्नेछ।

मुख्यसचिवमा भने आजै मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त भएका छन् ।

कमेन्टहरु
Loading...