पोखरा । नेपालमा थप १ हजार ५ सय ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप १ हजार ५ सय ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।
हाल नेपालमा २० हजार ८ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १२ हजार २ सय ५ जनाको पिसिआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १ हजार ५७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ५६ हजार ८ सय २८ पुगेको छ । नेपालमा हाल २ सय १ जनाको आइसियु तथा ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देही जिल्ला नेपालमा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका जिल्लाहरु हुन् । त्यस्तै मनाङ, मुस्ताङ, डोल्पा तथा मुगु जिल्ला कोरोनामुक्त जिल्लाहरु हुन् ।
पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाले ज्यान गुमाएका छन् । २ जना महिला सहित ५ जना पुरुषले पछिल्लो पटक ज्यान गुमाएका हुन् । काठमाडौंकी ३४ र ८६ वर्षीय महिलाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।
त्यस्तै सुनसरी तथा मोरङका ६०/६० वर्षीय २ जना, सप्तरीका ३९ वर्षीय, काठमाडौंका ५४ वर्षीय, र रुपन्देहीका ८२ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ९८ पुगेको छ ।