नेपालमा थप १२ सय ७ लाई कोरोना पुष्टि, पछिल्लो पटक ८ जनाको मृत्यु

पोखरा । नेपालमा थप १ हजार २ सय ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप १ हजार २ सय ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

हाल नेपालमा १८ हजार ३ सय ४१ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यो अवधीमा १० हजार १९ जनाको नमुना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप १ हजार १ सय ४७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको डा गौतमले जानकारी दिएका छन् । उनका अनुसार नेपालमा कोरोना भाइरसमुक्त हुनेको कुल संख्या ५३ हजार १३ पुगेको छ ।

हाल नेपालमा २ सय २४ जना आइसियु तथा २७ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

नेपालमा मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देही जिल्लामा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यस्तै रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु तथा हुम्ला कोरोनामुक्त जिल्ला हुन् ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा कोरोना भाइरस संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाबाट ज्यान गुमाउनेमा सप्तरीका ६३ वर्षीय, काठमाडौंका २० र ७४ वर्षीय, भक्तपुरका ८८ वर्षीय, मकवानपुरका ७४ वर्षीय, ललितपुरका ७६ वर्षीय, रुपन्देहीका ७२ वर्षीय तथा कैलालीका ३० वर्षीय पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ४ सय ६७ पुगेको छ ।

कमेन्टहरु
Loading...