पोखरा महानगरपालिकाले पशुपंक्षीपालक कृषकलाई परिचयपत्र प्रदान गर्ने

पोखरा । पोखरा महानगरपालिकाले पशुपालक कृषकलाई अब परिचयपत्र दिने भएको छ । कृषकले गोठ अथवा फार्ममा पालेका पशुपंक्षीको संख्याका आधारमा वर्गीकरण गरी महानगर पशु सेवा शाखाले कृषकको सम्पूर्ण विवरणसहितको परिचयपत्र वितरणको आवश्यक प्रक्रिया सुरु गरेको जनाएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषक पहिचान तथा वर्गीकरण कार्यविधि २०७५ तथा महानगरपालिका पशु विकास अनुदानसम्बन्धी कार्यविधिअनुसार ७ वटा वर्गमा कृषकको पहिचान गरी परिचयपत्र दिइने शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार सम्बन्धित पशु सेवा केन्द्रको सिफारिसमा फार्म रहेको वडा कार्यालयमा फार्म दर्ता तथा नवीकरण तथा घरेलु कार्यालयमा समेत दर्ता गरी साना कृषकदेखि माथिका वर्गीकृत कृषकलाई परिचयपत्र दिइनेछ ।

महानगरले वर्गीकरणमा परेका, परिचयपत्र प्राप्त गरेका कृषकलाई मात्र चालू आर्थिक वर्षमा अनुदान दिने भएको छ । पशु सेवा केन्द्रका प्राविधिक कर्मचारीले वर्गीकरणका लागि प्राप्त निवेदनका आधारमा कृषकको वर्ग कायम गर्नेछन् । सोही वर्गका आधारमा वडाले दर्ता गर्नेछ । महानगरले वर्गीकरणमा परेका, परिचयपत्र प्राप्त गरेका कृषकलाई मात्र चालू आवमा अनुदान दिने भएको छ । महानगरपालिकाले कृषकलाई विभिन्न ७ वटा वर्गमा विभाजन गरेको छ ।

एउटामात्र गाई भैंसीको माउ पालेकालाई सीमान्तकृत कृषक, १ देखि ४ वटा माउ हुनेलाई निर्वाहमुखी कृषक, ५ देखि ९ वटासम्म साना कृषक तथा १० देखि २९ सम्म व्यवसायी उन्मुख कृषकमा वर्गीकरण गरेको छ । त्यसैगरी ३० देखि ५९ सम्म व्यवसायी कृषक, ६० देखि १ सय ४९ सम्म उद्यमी कृषक तथा १ सय ५० भन्दा माथि गाई–भैंसीका माउ पालेकालाई विशिष्ट कृषक भनी वर्ग छुट्याएको छ ।

त्यसैगरी २ देखि १९ वटासम्म भेडाबाख्राका माउ पालेकालाई निर्वाहमुखी, २० देखि २९ सम्म साना कृषक, ४० देखि ९९ सम्म व्यवसायी उन्मुख, १०० देखि १ सय ९९ व्यवसायी, २ सयदेखि ४ सय ९९ सम्म उद्यमी तथा ५ सयदेखि माथि पालेकालाई विशिष्ट कृषकका रुपमा वर्गीकृत गरिएको छ ।

कुखुरापालक कृषकलाई १० देखि ५० सम्म निर्वाहमुखी, ५० देखि ९ सय ९९ साना कृषक, १ हजारदेखि २ हजार ९ सय ९९ व्यवसायी उन्मुख, ३ हजारदेखि ५ हजार ९ सय ९९ व्यवसायी, ६ हजारदेखि १४ हजार ९ सय ९९ उद्यमी र १५ हजारमाथिको संख्यामा पालेकालाई विशिष्टमा विभाजित गरिएको छ ।

त्यसैगरी एउटा बंगुर पाल्ने निर्वाहमुखी, २ देखि ३ वटा साना कृषक, ४ देखि ६ व्यवसायी उन्मुख, ७ देखि १२ व्यवसायी, १३ देखि २४ सम्म उद्यमी र २५ माथि पालन गरेकालार्ई विशिष्ट कृषकमा वर्ग कायम गर्ने गरी महानगरले कार्यविधि पारित गरी स्थानीय राजपत्रमा प्रकाशित गरेको छ ।

‘कृषकले पालेका पशुका आधारमा महानगरको कार्यविधिमा उल्लेख भएबमोजिम कृषकको वर्ग पहिचान गरी उनीहरुलाई परिचयपत्र वितरणको काम अघि बढाएका छौं ।’ महाशाखा प्रमुख अधिकारीले भने, ‘पहिलोपटक सुरु गरिएको यस कार्यक्रमले अनुदान वितरणसमेत पारदर्शी, वैज्ञानिक र साना कृषकलाई प्रोत्साहन गर्न सघाउने छ ।’

महानगरले परिचयपत्रका लागि आवेदन आउन सुरु भएको तथा परिचयपत्रसमेत तयारी अवस्थामा रहेकाले केही दिनभित्रै औपचारिकरूपमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिने जनाएको छ । कृषक वर्गीकरण तथा परिचयपत्र वितरणबाट पशुपंक्षीपालन व्यवसायलाई व्यवस्थित र सुदृढ तुल्याउनुका साथै पशु, पशुजन्य पदार्थको स्वस्थ्यरूपमा उत्पादन तथा बिक्री वितरणमा सहयोग पुग्ने विश्वास महानगरको छ ।

यसअघि विसं २०७५ असोजमा प्रदेश सरकारमातहतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषक पहिचान तथा वर्गीकरण कार्यविधि तयार गरी स्थानीय तहमा वर्गीकरण गर्ने योजना अघि सारेको थियो । तर वडा कार्यालयमा यसका लागि आवश्यक छुट्टै जनशक्ति नहुँदा सो कार्यले आशातित सफलता पाउन सकेको छैन ।

परिचयपत्रमा कृषकको नाम, स्थायी ठेगना, सम्पर्क नम्बर, फार्मको नाम, ठेगना, नागरिकता नम्बर, महानगरको करदाता नम्बर, कृषक वर्गीकृत पहिचान तथा प्यान/भ्याट नम्बर उल्लेख भएको हुनेछ । रासस

कमेन्टहरु
Loading...