ऋषिकान्त पौडेल |कन्ट्याक ट्रेसीङमा परेर पिसीआर परीक्षण गराउन जाँदा पोखरा महानगरपालिकाका कर्मचारीको लापरवाहीका कारण ३१ नम्बर वडाको एक गाउँ नै कोरोना त्रासमा बस्नुपरेको छ ।
पोखरा–३१ वडा कार्यालयले बुधवार लेखनाथमा पिसीआर परीक्षणका लागि १० जना कन्ट्याक ट्रेसीङमा परेका ब्यक्तिहरुलाई महानगरको स्वास्थ्य महाशाखामा सिफारीस गरेको थियो । तर महानगरबाट खटीएका कर्मचारीले ‘गाउँ नै उल्ट्याएर ल्याउने ?’ भन्दै ४ जनाको मात्र पिसीआर परीक्षण गराएका थिए । परीक्षण गराईएका ४ जनाकै नतिजा पोजेटीभ आएपछि पोखरा–३१ पचभैयाका स्थानीय त्रसीत बनेका हुन् ।
‘वडाको सिफारीसमा परीक्षण गर्न पठाईएकाहरुको परीक्षण नै नगराई फकाईएपछि गाउँ नै त्रासमा परेको छ । ’स्थानीय दामोदर भक्त थापाले भनेका छन् । अझै थापाले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्–‘ती फिर्ता पठाईएकामा पनि संक्रमण रहेछ भने समुदायमा फैलने देखिन्छ । के यस्ता कुरामा स्वास्थ्य महाशाखा गंभीर हुनु जरुरी छैन ? यसकै कारण समुदायमा फैलियो भने जिम्मेवार को ?’
यस विषयमा वडा नंम्बर ३१ का अध्यक्ष कमल बहादुर थापाले पनि कन्ट्याक्ट ट्रेसीङमा परेका हरुलाई पिसीआर परीक्षण नगराई फिर्ता पठाउनु महानगरपालिकाका कर्मचारीको गम्भीर लापरवाही भएको प्रतिक्रिया दिएका छन् । ‘हामीले १० जनाको परीक्षणका लागि पठाएका थियौ तर कर्मचारीहरुले ६ जनाको मात्रै परीक्षण गरेकोमा सबैको नतिजा पोजेटीभ आएको छ । फिर्ता पठाईएकाहरुपनि संक्रमित भएको भए जिम्मेवारी कसले लिने ?’ थापाले प्रश्न गरे ।
यस विषयमा पोखरा माहानगरपालिकाका स्वास्थ्य महाशाखाका अधिकृत हरीलाल आचार्यले भने फितलो प्रतिक्रिया दिएका छन् । ‘ हरेक व्यक्तिको आ–आफ्नो स्वभाव हुन्छ । वा थकानका कारण र श्रोत साधनको अभावले पनि हुन सक्छ ।’–परीक्षण गर्न नमानेर फिर्ता पठाउने कर्मचारीको बचाउ गर्दै आचार्यले त्रुटी नै भएको भए अब नदोहो¥याउने वाचा गरे । आचार्यले नीतिगत जवाफ दिदै लक्षण नदेखिएका हरुलाई पिसीआर परीक्षण नगर्ने राष्ट्रिय नीति भएको भन्दै महानगर बाध्यकारी नभएको जिकिर गरे ।
स्वाब संकलनमा खटीने महानगरकै एक स्वास्थ्य एक कर्मचारीले पनि स्वास्थ्य महाशाखाबाट जाने कर्मचारीहरुले कन्ट्याक ट्रेसीङमा परेर आउने सबैको पिसीआर परीक्षण नगरीदिने गरेको पुष्टि गरे । गत सोमबारपनि लेखनाथमा गरीएको पिसीआर परीक्षणमा केही व्यक्तिहरुलाई विभिन्न बहानामा फिर्ता गरीदिएको ती कर्मचारीले जानकारी दिए ।