गन्थन डेस्क
पछिल्ला समय एसीड आक्रमणका घटना बढ्न थालेपछि सरकारले अध्यादेश मार्फत घटनामा संग्लग्नलाई दिईने सजाँयबारे निक्र्यौल गरेको छ । बिहीबार बसेको मन्त्रीपरीषदको बैठकले एसिड आक्रमण नियन्त्रण गर्न र उक्त कार्यमा संलग्नलाई कारबाही गर्न ल्याईएको अध्यादेश स्वीकृत गरेको हो । उक्त अध्यादेशबारे मन्त्रीहरुले दिने सुझावपछि केही दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी हुनेछ ।हाल संसद अधिवेसनको समय नभएकाले अध्यादेशका रुपमा सरकारले यस्तो कानुन जारी गरेको हो ।
सरकारले ल्याएको अध्यादेश अनुसार तेजाब फ्याँकी, छर्किई, खन्याई वा प्रयोग गरी वा सेवन गराई अंगभंग तुल्याएमा र शारीरिक क्षति पु¥याएमा २० वर्षसम्म कैद सजाय हुनेछ । त्यसैगरी पीडकले १० लाख रुपैयाँसम्म पिडीतलाई दिनुपर्नेछ ।
फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाबजस्ता घातक रसायन छ्यापी दुवै आँखा जले, दृष्टि, दुवै कान जली क्षति भई सुन्ने शक्ति नष्ट भए, कानको जाली क्षति भई काम नलाग्ने भए, अनुहार पूर्ण रूपमा जले, वक्षस्थल (स्तन), यौनाङ्ग आदि जले, क्षति भए २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना निर्धारण गर्ने अध्यादेशमा उल्लेख छ । उक्त अध्यादेशलाई संसद वैठक शुरु भएपछि ६० दिनभित्र पारित गर्दै प्रतिस्थापन गर्नुपर्ने छ ।
एसिड आक्रमणका लागि मुलुकी अपराध संहितामा पनि केही व्यवस्था गरिएको छ । तर उक्त व्यवस्था अपुग भएको भन्दै सरकारले नयाँ अध्यादेश ल्याएको हो।
यसैगरी एसीड आक्रमणको घटनामा दोषी ठहर भई सजाँय काटीरहेको ब्यक्तिले असल चालचलन देखाए पनि कैद छुट वा माफी मिनाहाको सुविधा नपाउने अध्यादेशमा उल्लेख गरीएको छ । यस्तो घटनाका दोषीलाई एकदिन पनि सजाँय माफी मिनाहा नहुने, पूरै अवधि जेल बस्नुपर्ने फौजदारी निर्धारण गरिएको छ ।
अध्यादेशले तेजाब आक्रमणबाट कसैको एउटा आँखा, एउटा कान, जले, क्षति पुगे, अनुहार कुरुप भए, एउटा स्तन जले, दुवै हात जली काम नलाग्ने भए, गोडा पूर्ण रूपमा जलेर काम नलाग्ने भए, टाउकाको कुनै भाग, मेरुदण्ड जलेमा सातदेखि १० वर्ष कैद तथा सात लाख रुपैयाँदेखि १० लाखसम्म जरिवाना निर्धारण पनि गरेको छ । तेजाब छ्यापेर शरीरको कुनै अङ्गमा क्षति भएमा कसुरको प्रकृति अनुसार पाँचदेखि दस वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख जरिवाना हुने अध्यादेशमा उल्लेख छ ।
तेजाब आक्रमणका कारण कसैको मृत्यु भएमा भने त्यसलाई यो ऐन अनुसार नभई कर्तव्य ज्यान महल आर्कषित भई सजाय हुने अध्यादेशमा उल्लेख छ । यदि कसैले तेजाब आक्रमणका प्रयास ग¥यो तर पीडित उम्केर भाग्न सफल भएमा पनि पीडकलाई कैद र जरिवाना गर्ने प्रस्ताव अध्यादेशमा छ । अपराध गर्दा पीडित पक्ष उम्किएर भाग्न सफल भएमा तेजाबसम्बन्धी कसुर गर्न उद्योग गरेको ठहर हुने अध्यादेशमा उल्लेख छ । उद्योगमा दसवर्षसम्म कैद र पाँच लाखसम्म जरिवाना हुने अध्यादेशमा उल्लेख छ ।
त्यस्तै मुलुकी संहितामा भएको व्यवस्था संशोधन गरेर तेजाब आक्रमणमा परेको व्यक्तिको मन्जुरीविना पीडितको कारण देखाई निजको तस्वीर राखी वा नराखी सार्वजनिक रुपमा वा सामाजिक सञ्जालमा चन्दा,सहयोग,सुविधा वा कुनै किसिमको अनुदान माग्न नपाइने बनाइएको छ । यदि कसैले यस्तो गरेको पाइएमा तीन महिना कैद र पाँच हजार जरिवाना वा दुवै सजाय हुन सक्ने अध्यादेशमा उल्लेख छ ।