अवैध बाघको छाला, सालकको खपेटा लगायतका सामान सहित पोखराबाट १ जना पक्राउ

पोखरा । पोखराबाट अवैध बाघको छाला, सालकको खपेटा तथा आखेटोपहार सहित १ जना पक्राउ परेका छन् ।

मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय कास्की तथा इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले अवैध बाघको छाला, सालकको खपेटा तथा आखेटोपहार सहित २८ वर्षीय सन्तोष लामिछानेलाई पक्राउ गरेको हो ।

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ घर भएका लामिछानेलाई प्रहरीको टोलीले पोखरा ३१ स्थित शिशुवाबाट वनपोखरीतर्फ जाँदै गर्दा मंगलबार साँझ करिब साढे ६ बजेको समयमा प्रदेश नं ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट बाघको छाला १ थान, सालकको खपेटा १ थान, वन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जा गरी ३ किलो ७ सय ५० ग्राम बरामद गरेको छ ।

लामिछानेले सो अवैध सामानहरु जेब्रा झोलामा लुकाएर लैजादै गर्दा प्रहरीले जाँच गर्ने क्रममा पक्राउ परेका हुन् ।

उनलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय कास्की पठाइएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...