ऋषिकान्त पौडेल
अविरल वर्षाका कारण पोखराका अधिकांश सहरी सडकमा अनेकन् खाल्डाखुल्डी परेका छन् ।
सडकका खाल्डा पुर्न कालोपत्रे नै प्रमुख विकल्प हो । तर कालोपत्रेको काम नेपाली मजदुरबाट सम्भव नहुने भन्दै सम्बन्धित निकाय भारतीय मजदुरकै भर परेको हो । कोभिड – १९ ले भारतीय मजदुर उतै रोकिँदा पोखराका सडक अझै केही समय यही हालतमै रहने भएको छ ।
वर्षाका कारण भत्केका कोरोना कहरले गर्दा उत्पन्न लकडाउनको अवस्थाका कारण भारतीय मजदुर स्वदेश फर्किएका थिए । अघिल्लो वर्षको चैतदेखि नै पोखरामा भारतीय मजदुरको अभाव सुरु भएको थियो । जसले गर्दा लकडाउनका बेला सडकको मर्मत तथा निर्माण सहज हुने भएपनि कुनैपनि सडक मर्मत भएनन् ।
मजदुरको अभावमा कालोपत्रे योजना असम्भवजस्तै भएपछि सडक डिभिजन पोखराले आफ्ना सडकहरुमा ‘ईमल्सन’को प्रयोगबाट अस्थायी रुपमै भएपनि खाल्डाखुल्डी पुर्ने तयारीमा लागेको छ । ‘वर्षातले सडकमा कैयौ खाल्डाखुल्डी पारेका छन्, कालोपत्रे गर्ने मजदुर छैनन् त्यसैले ईमल्सनको प्रयोग गरेरै भएपनि मर्मत कार्य सुरु गर्दै छौ’ सडक डिभिजन कार्यालय पोखराका प्रमुख सुनिलबाबु पन्तले भने । आवश्यक मात्रामा ईमल्सनको ठेक्का भईसकेको पनि पन्तले जानकारी दिए ।
पोखरा महानगरभित्र करीब २१ किलोमिटर कालोपत्रे सडक रहेको छ । जसमध्ये डिभिजन मातहतको १० दशमलव ४ किलोमिटर मात्रै छ । बाँकी सडक भने प्रदेश सरकार र पोखरा महानगरपालिका मातहत रहेका छन् ।
लकडाउनका कारण मजदुर नपाएपछि गत आर्थीक वर्ष ०७६÷७७ मा डिभिजनको १९ करोड रुपैया फ्रिज भएको थियो । जुन रकम सडक बोर्डलाई फिर्ता पठाईसकिएको छ ।
खानेपानी र विद्युत लाईनका कारण पनि समस्या
खानेपानी संस्थान, नेपाल विद्युत प्राधिकरण लगायतका कार्यालयले आफ्ना सेवा बिस्तार र मर्मत गर्ने क्रममा सहरी सडक भत्काउने तर तत्काल मर्मत गर्ने गरेका छैनन् । जसले गर्दा शहर नै कुरुप हुने गरी पोखराका सडकहरु भत्किएको पाईन्छ ।
त्यसैगरी विद्युत प्राधिकरणको जहाँ पायो त्यहि पोल गाड्ने प्रवित्तिले पनि सडकको अवस्था नाजुक हुने गरेको छ । ‘जहाँ पायो त्यहिँ पोल गाडेको छ ,मनलाग्दी र लापरवाही छ प्राधिकरणको’–डिभिजन प्रमुख पन्तले आक्रोशित मुद्रामा भने । लकडाउन नभएको भए आफु अन्र्तगतका सबै सडकको मर्मत भईसक्ने पनि उनले दावी गरे ।
सरकारी पैसामा अभियन्ताको चर्चा
लकडाउनको स्थिथि बिस्तारै सहज हुन थालेपछि पोखरामा केहि सवारी साधनहरु गुड्न थालेका थिए । सडकका खाल्डाखुल्डीका कारण समस्या उत्पन्न भएपछि केहि ब्यक्ति तथा सामाजिक अभियन्ताहरुले आफ्नो अभियानलाई खाल्डा पुर्ने काममा अघि सारे । सामाजिक सञ्जालमा सरकारी निकायको धज्जी उडाँउदै गाली पनि गरे र ट्रकबाट माटो झारेर सडकको खाल्डा पुरेको तस्वीर पोस्ट्याए पनि । जुन तस्वीरले आम नागरीकलाई अभियन्ताको प्रसंशा गर्न बाध्य तुल्याउछ ।
तर त्यो काम भने सडक डिभिजनकै सहयोग र बजेटमा भएको पनि खुलासा भएको छ । डिभिजन प्रमुख पन्तका अनुसार केहिसमय अगाडी भत्किएका सडकबारे चासो राख्दै केही ब्यक्ति रत्नचोकस्थित कार्यालय पुगेपछि त्यहिँ रहेको ग्राभेल माटो खाल्डा पुर्ने काममा प्रयोग भएको थियो । उक्त माटो डिभिजनले बिजयपुर पुल निर्माणका क्रममा संकलन गरी कार्यालयमै राखेको हो । ‘हाम्रो ग्राभेल, हाम्रै ईन्धन, हाम्रै गाडी र हाम्रै कर्मचारी त्यो काममा थिए । अरु एक दुई पब्लिकले पनि सहयोग गर्नुभयो तर सुनेको छु कुनै अमुक अभियन्ताले हामीले ग¥यौ भनेर सामाजिक सञ्जालमा राख्नुभयो रे’ पन्तले खुलासा गर्दै आश्चर्य जनाए ।