पछिल्लोपटक कोरोनाबाट नेपालमा १० जनाले ज्यान गुमाए, थप १३ सय २५ लाई संक्रमण पुष्टि

पोखरा । नेपालमा थप १ हजार ३ सय २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

नेपालमा पछिल्लो पटक ९ हजार ५ सय ८४ जनाको नमुना परीक्षण गरिएको थियो । हाल देशमा १७ हजार ४ सय ७८ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ६६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ४६ हजार २ सय ३३ पुगेको छ । हाल देशमा १ सय ९० जना आइसियु तथा ३६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन तथा रुपन्देहीमा ५ सयभन्दा धेरै सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, म्याग्दी, डोल्पा, हुम्ला तथा मुगु कोरोना भाइरसमुक्त जिल्ला हुन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ६ महिला तथा ४ जना पुरुष रहेका छन् । पछिल्लो पटक कोरोना भाइरस संक्रमणबाट काठमाडौंकी ४०, ६०, ६३, भक्तपुरकी ७२, ललितपुरकी ७५ तथा पाल्पाकी ४० वर्षीय महिलाको ज्यान गएको छ ।

त्यस्तै धनुषाका ७६, काठमाडौंका ८२, चितवनका ८० तथा रुपन्देहीका ६७ वर्षीय पुरुषले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ सय ११ पुगेको छ ।

कमेन्टहरु
Loading...