पोखरा, २५ कार्तिक/एकीकृत माओवादी कास्की क्षेत्र न.४ का उम्मेदवार चुनावी अभियानका क्रममा दाङसिङ गाविस पुग्नुभएको छ । उहाँले गाविसमा घरदैलो गर्दै विभिन्न स्थानमा चुनावी सभालाई सम्बोधन गर्नुभयो । सोमबार दाङसिङको उल्लेरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार गुप्तबहादुर हमाल सन्देशले क्षेत्र न.४ को विकासमा आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले उल्लेरीको पर्यटन प्रवद्र्धन गरी आम्दानीको श्रोत बृद्धि गर्ने योजना रहेको पनि सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा एकीकृत माओवादीका इलाका ईञ्चार्ज धर्म तमु, विद्युत व्यवस्थापन समिति अध्यक्ष तालबहादुर पुन, गाउँ कमिटी अध्यक्ष आशबहादुर गुरुङ, स्थनीय थमबहादुर पुन, भुमे युवा क्लबका अध्यक्ष धर्म पुन, समाजसेवी गुनबहादुर पुनले बोल्नुभएको थियो । सोही कार्यक्रममा रिम बस्यालले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो सोमबार दाङसिङकै वडा न.८ मौजामा अर्को चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभालाई उम्मेदवार गुप्तबहादुर हमाल, एकीकृत माओवादीका इलाका इञ्चार्ज धर्म तमु, समाजसेवी तिर्थलाल जैसी, पदमबहादुर क्षेत्री, रिम बस्याललगायतले बोल्नुभएको थियो ।
क्षेत्र नं ४ कै ढिकुरपोखरी गाविसमा समानुपातिक उम्मेदवार दुर्गा विकको नेतृत्वमा ५५ सदस्यीय टोलीले वडा न.७ दयले, देउराली, मराम्चेमा घरदैलो कार्यक्रम गर्नुभएको छ । कास्की क्षेत्र न.१ मा उम्मेदवार विष्णु पौडेल, एकीकृत माओवादीकी केन्द्रीय सदस्य कञ्चल खनाल, समानुपातिक उम्मेदवार निर्मला सुवेदी लगायतको टोलीले लेखनाथ–३ को बुढिबजार, सक्नेरी, सुन्दरीबजार, सुकुम्बासी टोलमा घरदैलो चलिरहेको छ ।
क्षेत्र नम्बर २ को नेतृत्वमा पोखरा १५ को काजीपोखरीमा घरदैलो भयो । समानुपातिक उम्मेदबार अमर तमु र पूर्णकुमारी रानाको सहभागिता रहेको थियो । यसैगरी कास्की क्षेत्र नम्बर ३ को पस्र्याङमै घरदैलो चलिरहेको छ । एमाओवादीका उम्मेदबार रामजी बराल जीवनले प्रस्र्याङ वरपर घरदैलो गरेका हुन् । घरदैलो कार्यक्रममा संयौ जनताको सहभागिता रहेको छ ।