इच्छाकामना गाउँपालिकामा १० शैयाको आइसोलेसन

चितवन । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनको इच्छाकामना गाउँपालिकाले १० शैयाको आइसोलेसन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मुग्लिनमा रहेको थकाली सेवा समाजको भवनमा ५ र गाउँपालिका परिसरको स्वास्थ्य चौकीमा ५ शैयाको आइसोलेसन निर्माण गरिएको हो ।

स्वास्थ्य शाखा प्रमुख वासु सापकोटाका अनुसार सो गाउँपालिकामा हालसम्म १३ जना संक्रमित पुगेका छन् । तीमध्ये ८ जनामा हाल पनि संक्रमण रहेको छ । गाउँपालिका अध्यक्ष गीता गुरुङले संक्रमित थपिएको अवस्थामा थकाली सेवा समाजको भवनमा थप ५ शैया विस्तार गरिने छ ।

यस्तै फिस्लिङमा पनि आइसोलेसन सञ्चालन गर्न सकिने उनले जानकारी दिएकी छिन् । हाल क्वारेन्टिन बनाइएका विद्यालयमा पनि आइसोलेसन बनाउन सकिने गुरुङको भनाइ छ ।

गाउँपालिकाले गरेको मेहेनत र स्थानीय जनताको साथ र सहयोगकै कारण हालसम्म संक्रमण फैलन नपाएको भन्दै उनले स्वास्थ्य मापदण्ड पालना गर्न गाउँवासीलाई अनुरोध गरिन् । जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ५ सय १४ पुगेको छ ।

पिसिआरमा अतिरिक्त शुल्क

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन विपरित पिसिआर परीक्षण शुल्क लिएको छ । मन्त्रालयले पिसिआर परीक्षण शुल्क २ हजार मात्र लिन सरकारी र निजी अस्पताल एवं प्रयोगशालालाई निर्देशन गरेको छ ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार नमूना संकलनका लागि ५ सय अतिरिक्त शुल्क अस्पतालले लिँदै आएको छ । उनले भने, ‘अस्पताल सञ्चालक समितिले निर्णय गरेकाले हामीलाई घटाउने अधिकार छैन ।’

रिएजेण्टहरुको बोलपत्र भएकाले अबको खरिदमा मूल्य घटेमा समितिको बैठकले घटाउने निर्णय गर्ने उनको भनाइ छ । अस्पतालले भिटिएमसहित खर्चका लागि भन्दै स्वाब संकलनमा अतिरिक्त रकम उठाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले पिसिआर परीक्षणमा २ हजारभन्दा बढी कसैले लिन नपाउने बताए ।

कसैले अटेर गरेमा कारवाही गरिने उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अतिरिक्त शुल्क लिएको विषयमा आफूले बुझ्ने जानकारी दिएका छन् । भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा परीक्षण निःशुल्क गरिएको छ भने चितवन मेडिकल कलेजले २ हजार मात्र लिएको छ । रासस

कमेन्टहरु
Loading...