महिला उम्मेदवार भन्छन् ‘पार्टीले महिलालाई खेलौना बनाए’

कस्ता छन् त कास्कीका महिला उम्मेदवारहरु ?
हिमाल लम्साल
पोखरा, २५ कार्तिक /आगामी संविधानसभा निर्वाचनमा कास्कीमा प्रत्यक्ष तर्फ ७७ उम्मेदवार प्रतिस्पर्धाका लागि जुटेका बेला कास्कीमा भने १६ जना महिला उम्मेदवारको रुपमा चुनावी दौडमा लागेका छन् । आधा आकाश ढाकेका महिलाहरु कास्कीमा पार्टीलाई हेरेर होइन महिलालाई हेरेर मतदान गर्न आग्रह गर्दै चुनावी प्रचारप्रसारमा व्यापक जुटेका छन् । संविधान निर्माणमा महिलाको भूमिका, हक, अधिकार तथा सशक्तीकरण जस्ता विषयमा व्यापक छलफल भईरहेका बेला कास्कीमा कुल उम्मेदवारको झण्डै २१ प्रतिशत अर्थात १६ महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा जुटेका छन् । प्रत्यक्ष तर्फको निर्वाचनमा कास्कीमा महिला उम्मेदवारको बर्चस्व कायमै रहनेमा भने शंका कायमै छ ।woman umadar

कास्कीमा एकिकृत नेकपा माओवादीले भने प्रत्यक्षमा महिला उम्मेदवारको सहभागिता गराएन भने काँग्रेसले क्षेत्र नं २ बाट शारदा पौडेललाई चुनावी मैदानमा उतारेको छ भने नेकपा एमालेले क्षेत्र नं ४ बाट सिता गिरी ओलीलाई प्रत्यक्ष तर्फको उम्मेदवारको रुपमा ल्याएको छ । आसन्न संविधानसभाको निर्वाचनमा कुन पार्टीले बाजी मार्ने अहिले नै भन्न नसकिएपनि प्रत्यक्षबाट न्युन संख्यामा सिट आउने सम्भावना देखिन्छ । त्यति नै सिट महिलाहरुले ल्याउँछन भन्ने अवस्था समेत नरहेको विश्लेषण अहिले पोखरामा चलिरहेको छ । २०६४ को संविधानसभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फबाट महिलामा क्षेत्र नं ४ मा तत्कालिन नेकपा माओवादीका महिला नेत्री दुर्गा कुमारी विकले जितेकी थिइन भने क्षेत्र नं २ मा नेपाली काँग्रेसको तर्फबाट शारदा देवी पौडेल, एमालेकी गजकुमारी गुरुङ, नेकपा माओवादीका राजकाजी गुरुङ सँग हारेका थिए ।

त्यस्तै क्षेत्र नं ३ मा रविन्द्र अधिकारी विजयी भएका थिए । नेपाली काँग्रेसका महिला उम्मेदवार बिन्दादेवी राना मगर र झलकपाणी तिवारी अधिकारी सँग पराजित भएका थिए । त्यस्तै क्षेत्र नं ४ बाट भने दुर्गा कुमारी विकले बाजी मारेकी थिइन भने नेकपा एमालेका महिला उम्मेदवार सिता गिरी र काँगे्रसका उम्मेदवार प्रकाश गुरुङ समेत पराजित भएका थिए । क्षेत्र नं १ बाट भने काँग्रेस, एमाले र माओवादीले महिला उम्मेदवार उठाएका थिएनन् । क्षेत्र नं १ बाट भने देवप्रसाद गुरुङ विजयी भएका थिए । देशभर संविधानसभा सदस्य निर्वाचनमा ६ सय ७० भन्दा बढी महिला उम्मेदवार चुनावी दौडमा लागेका छन् । संविधान निर्माणमा ३३प्रतिशत महिला सहभागिता सुनिश्चिताको बहस बढिरहेको परिपेक्षमा भने कुल उम्मेदवारको १० प्रतिशत अर्थात अर्थात् ६ सय ७२ महिला उम्मेदवार चुनावी प्रतिस्पर्धा छन् ।

संविधानसभाको निर्वाचनको दिन छोट्टिदै गर्दा उम्मेदवार तथा कार्यकर्ताहरुलाई भ्याईनभ्याई छ । आफ्नो पक्षमा मत ल्याउन संविधानसभा सदस्य निर्वाचनका प्रत्यक्ष तथा समानुपतिकका उम्मेदवारहरु घरदैलो तथा विभिन्न कोणसभा गरेर मत माग्दै हिडिँरहेका छन् । चुनावी सरगर्मी बढे सँगै कास्की जिल्लाका प्रत्यक्ष तथा समानुपतिक उम्मेदवारहरुलाई पनि चुनावी चटारोले छोएकै छ । कास्कीमा जिल्ला क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फ महिला उम्मेदवार तराई, मधेश, पहाड, हिमाल पार्टीको तर्फबाट रनमाया गुरुङ, सद्भावना पार्टी राजेन्द्र महतोको बाट बालुमायाँ पौडेल, स्वतन्त्र उम्मेदवार चिन्ता गुरुङले नेपाली काँग्रेस कास्की क्षेत्र नं १ का उम्मेदवार यज्ञबहादुर थापा, एमाले कास्कीका क्षेत्र नं १ का उम्मेदवार मानबहादुर थापा, एकिकृत नेकपा माओवादीका क्षेत्र नं १ का उम्मेदवार विष्णु पौडेल सँग प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपी चुनावी मैदानमा उत्रिएपनि महिला उम्मेदवारहरुले ठूला पार्टीका उम्मेदवारसँग सामना गर्ने भएका छन् ।

कास्कीको क्षेत्र नं २ बाट नेपाली काँग्रेसले महिला नेत्री सारदा पौडेललाई चुनावी मैदानमा उतारेको छ । उनको प्रतिद्धन्द्धीको रुपमा नेकपा एमालेले कृष्ण थापा, एमाओवादीले बखानसिहं तमु र अखण्ड नेपालले पदम कार्की लगायतका अन्य दलका उम्मेदवारहरुसँग कडा टक्कर हुनेछ । त्यस्तै गरी कास्की क्षेत्र नं २ बाटै प्रत्यक्षमा राष्ट्रिय जनमोर्चाले महिला उम्मेदवार विष्णु राना, नेकपा संयुक्तले विष्णुमाया सुवेदी, तराई मधेश पहाड हिमाल एकता पार्टीले मिना केसी, संघिय गणतान्त्रिक समाजवादी नेपालले विमला बास्तोलालाई महिला उम्मेदवारको रुपमा उठाएको छ । भने क्षेत्र नं २ बाटै प्रत्यक्ष उम्मेदवारको रुपमा प्रेमकुमारी शाही चुनावी महोलमा उत्रिएकी छन् ।

त्यस्तै कास्कीको क्षेत्र नं ३ बाट नेपाल परिवार दलले कल्पना बराल, नेकपा मालेले सरिता अर्याल गिरी, राष्ट्रिय परिवारले सत्या पाण्डे, सद्भावना पार्टी राजेन्द्र महतोको तर्फबाट लक्ष्मी विक नेपाली, स्वतन्त्र महिला उम्मेदवार विष्णु ढुङगानाले कास्कीको क्षेत्र नं ३ बाट प्रत्यक्षका उम्मेदवार एमाओवादीका रामजीप्रसाद बराल जीवन, नेपाली काँग्रेसका सोभियतबहादुर अधिकारी, नेकपा एमालेका रविन्द्र अधिकारी लगायतका अन्य दलका उम्मेदवारहरु सँग चुनावी मैदानमा होमिएका छन् । कास्की जिल्ला क्षेत्र नं ४ नेकपा एमालेले सिता गिरी ओली, सद्भावना पार्टीले जानुका चर्मकार सार्की प्रत्यक्ष तर्फको उम्मेदवारको रुपमा देखा परेका छन् ।

क्षेत्र नं ४ बाट एमाओवादीले गुप्तबहादुर हमाल, नेपाली काँग्रेसले महादेव गुरुङ नेकपा अखण्ड नेपाल पार्टीले कृष्णबहादुर थापालाई चुनावी मैदानमा उतारेको छ । कास्कीबाट समानुपातिकमा नेकपा एमाओवादीको तर्फबाट महिला उम्मेदवारहरु तेजकुमारी पौडेल, निर्मला सुवेदी, दुर्गाकुमारी विक रहेका छन् । नेपाली काँग्रेसले सुनयना पालिखे, हरिमायाँ गुरुङ,वृन्दादेवी रानालाई समानुपातिक उम्मेदवारको रुपमा चुनावी मैदानमा उतारेको छ । त्यस्तै नेकपा एमालेले गजकुमारी गुरुङ, सृजना शर्मा, मञ्जु गुरुङ, मित्रकुमारी गुरुङ र दिलु पन्तलाई समानुपतिक उम्मेदवार बनाएको छ भने राप्रपा नेपालको तर्फबाट महिला समानुपतिक उम्मेदवारमा विष्णुदेवी गुरुङ, स्वाभिमान पार्टीले विष्णु कोइराला, अखण्ड नेपाल पार्टीले पुष्पा केसी र संघियसमाजबादी पार्टीले महिला समानुपतिक उम्मेदवारमा मिना गुरुङलाई उठाएको छ । संविधानसभामा ३३ प्रतिशत महिला सहभागिता, सुनिश्चिता विषयक अन्तरक्रिया कार्यक्रममा राप्रपा नेपालकी समानुपतिक तर्फका उम्मेदवार विष्णुमाया गुरुङले महिलाहरुलाई राजनीतिक पार्टीले केबल खैलौनाकै रुपमा हेर्ने गरेको खुलासा गरिन ।

हामी आधा आकाश ढाक्ने महिलाहरुलाई राजनीतिक पार्टीहरुले कहिले यो त्यो नाउँमा खेलौनाकै रुपमा हेरेका छन्’ उम्मेदवार गुरुङले भनिन् ‘हामी महिलाहरु एकजुट भएर महिलाकै मुद्धा उठाउनुपर्छ । पार्टीगत गुटबन्दीबाट टाढै रहेर महिलाको मुद्धामा एकजुट हुन आवश्यक छ ।’ नेकपा एमाओवादीका समानुपतिक तर्फका महिला उम्मेदवार तेजकुमारी पौडेलले कार्यक्रमको सुरुवातमा नै एमाओवादीले कास्कीमा प्रत्यक्षबाट महिला उम्मेदवार नउठाउनु गम्भिर त्रृटी भएकोे बताउँदै ‘महिला यति उति प्रतिशत उठाउने कुरा ठूलो होइन । जीत्ने क्षेत्रमा महिला उम्मेदवार बनाउने ठूलो कुरा हो ।’ समानुपतिक तर्फको उम्मेदवार पौडेलले भनिन् ।

यता नेपाली काँग्रेसका समानुपतिक तर्फकी उम्मेदवार सुनयना पालिखेले संविधानसमा ३३ प्रतिशत सहभागिता भनेर रटान लगाएमात्रै हुदैन महिलाहरुलाई स्वास्थ्य, शिक्षा, प्रजनन अधिकार लगायतका सवै क्षेत्रमा पहुँच पु¥याएमात्रै सम्भव छ । नेकपा एमालेका समानुपतिक तर्फकी उम्मेदवार सिर्जना शर्माले संविधानसभाका महिला उम्मेदवारहरुलाई यो या त्यो पार्टी भनेर होइन समग्रमा महिला भनेर मतदान गरेमात्रै महिलाको हक अधिकार सुनिश्चित हुने बताइन । सञ्चारिका समुह पश्चिमाञ्चलले आयोजना गरेको संविधानसभामा ३३ प्रतिशत महिला सहभागिता, सुनिश्चिता विषयक अन्तरक्रिया कार्यक्रममा समानुपतिक तर्फका उम्मेदवारहरु वृन्दा राना, दिलु पन्त, लगायतले मन्तव्य राखेका थिए । सञ्चारिका समुह पश्चिमाञ्चलकी अध्यक्ष बसन्ती बास्तोलाको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जमुना शर्मा बर्षा र कार्यक्रम सञ्चालन महासचिव कृपा भण्डारीले गरेकी थिइन ।

कमेन्टहरु
Loading...