चितवन मेडिकल कलेज तथा भरतपुर अस्पतालमा १/१ जना कोरोना संक्रमितको मृत्यु

चितवन । कोरोना भाइरस संक्रमणबाट चितवनमा थप २ जनाको ज्यान गएको छ । जिल्लाको चितवन मेडिकल कलेज तथा भरतपुर अस्पतालमा कोरोनाबाट संक्रमित २ जनाको ज्यान गएको हो ।

भदौ २६ गते कोरोना संक्रमण पुष्टि भए पछि नवलपरासीका ३१ वर्षीय पुरुषको बिहीबार राति १२ बजे चितवन मेडिकल कलेजमा ज्यान गएको हो । उनी नवलपरासीको देवचुली नगरपालिका ११ का बासिन्दा रहेका थिए ।

यता सर्लाहीका ५५ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट जिल्लाको भरतपुर अस्पतालमा उपचार कै क्रममा ज्यान गएको छ । उनको आज बिहान १० बजे ज्यान गएको हो । खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि परीक्षण गराउँदा उनलाई भदौ १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

मृगौलाको समस्या रहेको र नियमित डायलासिस गराउँदै आइरहेका उनको भदौ २३ गतेबाट स्वास्थ्य अवस्था जटिल बन्दै गए पछि आइसियुमा राखेर उपचार भइरहेको थियो ।

कमेन्टहरु
Loading...