सप्तरीमा एकैपटक ३७ प्रहरीसहित ५३ संक्रमित

सप्तरी । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरीसहित ५३ जना आज संक्रमित भएका छन् । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणअनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरी र सोही कार्यालयमा सरसफाई गर्ने राजविराज नगरपालिका–६ का १९ वर्षीय पुरुष संक्रमित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार २ प्रहरी निरीक्षक, ३ प्रहरी नायब निरीक्षक, ४ प्रहरी सहायक निरीक्षक, ४ हवल्दार र अन्य प्रहरी संक्रमित भएका हुन् । सोमा २ महिला प्रहरी छन् ।

यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ३५ वर्षीय चिकित्सक, राजविराज–३ का ४५ वर्षीय अभिवक्ता, भिम दल गणका ३७ वर्षीय पुरुषसमेत संक्रमित भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले जानकारी दिएका छन् । तिरहुत गाउँपालिका–२ का २९ वर्षीय, राजविराज– ११ का १५, १८ र ३५ वर्षीय पुरुषमा समेत संक्रमण देखिएको छ ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा कञ्चनरुप नगरपालिका–६ की पाँच र २५ वर्षीया, वडा नं ८ की ३३ वर्षीया र वडा नं ९ की २७ र ४१ वर्षीया महिला तथा विष्णुपुर गाउँपालिकाका ४५ वर्षीय पुरुष संक्रमित भएका छन् । यी छ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पिसिआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय कञ्चनरुपका सिनियर अहेव डम्बर गुप्ताले जानकारी दिएका छन् ।

यस्तै कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महादेवा गाउँपालिकाका ११ वर्षीय र सुरुंगा नगरपालिका–२ का ४० वर्षीय पुरुषमा संक्रमण देखिएको छ । जिल्लामा आज ५३ जना संक्रमित थपिएसँगै १ हजार १ सय ४३ जना संक्रमित पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमा १ सय ९९ महिला र ९ सय ४४ पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार संक्रमितमध्ये १ सय ११ महिला र ६ सय ३९ पुरुष निको भएर घर फर्किएका छन् । संक्रमण पुष्टि भएका १ महिला र ८ पुरुषको मृत्यु भएको छ । रासस

कमेन्टहरु
Loading...