किसान आन्दोलन चियाको न्यूनतम मूल्य दिलाउने प्रतिबद्धता

इलाम । हरियो चियापत्तीको मूल्य तोकिएबमोजिम नपाएको भन्दै आन्दोलनमा रहेका किसानलाई सूर्योदय नगरपालिकाले कानूनमा तोकिएबमोजिम मूल्य दिलाउने प्रतिबद्धता जनाएको छ । नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई चियाको मूल्य दिएका छैनन् । नगरले बनाएको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ उद्योगीले दिनुपर्ने छ तर कोरोनाको बहाना बनाउँदै अधिकांश चिया उद्योगीले ४० रुपैयाँ दिइरहेका छैनन् । उद्योगीसँग समन्वय गरेर नगरपालिकाले कार्यविधिमा तोकिएबमोजिमको चियाको मूल्य दिनुपर्ने नगरपालिकाका प्रमुख रणबहादुर राईले प्रतिबद्धता जनाएका हुन्।

सूर्योदय नगरपालिकाको मुख्य नगदेबालीको रूपमा नगरका करिब ६ सय ५५ भन्दा बढी किसान चिया खेतीमा आबद्ध छन् । नगरको मापदण्डलाई समेत नमान्दै उद्योगीले अहिले किसानलाई तोकिएको मूल्य नदिएका हुन् । मूल्य पाउनका लागि किसानले असारको पहिलो सातादेखि नै आन्दोलन शुरु गरेका हुन् तर उद्योगीले चासो नदेखाउँदा लामो समय बितिसक्दा पनि आन्दोलन निष्कर्षमा पुगेको छैन ।
रासस

कमेन्टहरु
Loading...