पोखरा । नेपालमा थप १ हजार १ सय ७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १ सय ७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।
यो अवधीमा १० हजार ८ सय ७८ जनाको नमुना परीक्षण गरिएको समेत मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हाल १५ हजार ३ सय ९३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । डा.गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ८ सय ७९ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।
नेपालमा हाल २९ जनाको आइसियु तथा १ सय ७९ जनाको भन्टिलेटरमा राखेर उपचार भइरहेको छ । हाल कोरोमामुक्त जिल्लाहरुमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु तथा हुम्ला रहेका छन् । यस्तै मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर तथा रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट १५ जनाले ज्यान गुमाएका छन् । ५ महिला सहित १० जना पुरुषले कोरोना भाइरसबाट पछिल्लोपटक ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउने महिलामा काठमाडौंका ६१ वर्षीय, गोरखाका ६३ वर्षीय, नवलपरासीका ६२ वर्षीय, पर्साका ५५ वर्षीय तथा कपिलवस्तुका ४७ वर्षीय रहेका छन् । त्यस्तै मोरङका ४० र ७० वर्षीय, काठमाडौंका ७७, ६२, ७३, ८५ तथा ७० वर्षीय पुरुषले कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।
यस्तै ललितपुरका ५५, भक्तपुरका ७३ तथा रामेछापका २३ वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाट ज्यान गएको छ । योसंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ६० पुगेको छ ।