पोखरा । मनाङको एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा आएको छ । जिल्ला अस्पतालका प्रमुखलाई नै कोभिड–१९ को संक्रमण भएपछि २ सातापछि पुनः सञ्चालन भएको हो । अस्पताल निर्मलीकरण पछि मात्रै सञ्चालनमा आएको हो ।
यही भदौ ९ गते स्वास्थ्य प्रमुख नै कोरोना संक्रमित भएपछि मेडिकल अधिकृतले १ सूचना प्रकाशित गरी अस्पताल बन्द गरिएको थियो । सूचनामा स्वास्थ्य प्रमुखको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भन्दै अर्को सूचना प्रकाशित नहुँदासम्म अस्पताल सिल गरिएको थियो । भदौ १९ गते अस्पतालका प्रमुखको कोभिड–१९ को संक्रमणमुक्त भएको रिपोर्ट आएपछि मात्रै अस्पताल सञ्चालनमा आएको छ ।
स्वास्थ्य प्रमुखलगायत ७३ जनाको नमूना स्वाब संकलन गरिएकामा ७२ जनाको रिपोर्ट नेगेटिभ आएपछि अस्पताल निर्मलीकरण गरी सेवा पुनः सञ्चालन गरिएको स्वास्थ्य प्रमुख बद्री आचार्यले बताए । उनका अनुसार १९ गते शुक्रबार सबै रिपोर्ट आएपछि अस्पतालबाट सेवा दिन थालिएको छ ।
जिल्लाको १ मात्र अस्पतालमा सर्वसाधारणलाई सेवा प्रवाहमा धेरै असर परेको उनले बताएका छन् ।
अस्तपतालमा ११ जनाको दरबन्दी रहे पनि ४ जना मात्र दरबन्दीका कर्मचारी रहेको जिल्ला असपतालले जनाएको छ । १ जना चिकित्सक लगायत ७ जना करारमा कार्यरत चिकित्सक छन् । ४ जना ल्याव टेक्निसियन र नर्स करारमा कार्यरत छन् । रासस