पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा ९ सय ८० जना कोरोना भाइरस संक्रमित थपिएको जानकारी दिएका हुन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको उनले बताएका छन् । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयले जानकारी दिएको छ । विभिन्न जिल्लामा रहेका प्रयोगशालामा पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८ सय १४ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोनामुक्त हुनेको संख्या अहिलेसम्म कुल २८ हजार ९ सय पुगेको छ । नेपालमा अहिले २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने १ सय ७४ जना आइसियुमा छन् ।
डोल्पा सहित हुम्ला, मुस्ताङ, मुगु, सोलुखुम्बु जिल्लामा कोरोना संक्रमित छैनन् । यहाँ संक्रमण शुन्य रहेको छ । त्यस्तै ललितपुर, काठमाडौं, चितवन, सुनसरी, बारा, पर्सा, रुपन्देही, धनुषा, चितवन, रौतहट तथा महोत्तरीमा ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।
यस्तै कोरोनाबाट पछिल्लो २४ घण्टामा ९ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा ७ पुरुष सहित २ जना महिला रहेका छन् । मोरङका ४५ वर्षीय, चितवनमा ७० वर्षीय, धनुषाका ३५ वर्षीय, पर्साका ७७ वर्षीय सहित काठमाडौंका ६८, ७४ र ८५ वर्षीय पुरुषले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
त्यस्तै झापाका ४५ तथा मोरङका ६४ वर्षीय महिलाले समेत कोरोनाबाट ज्यान गुमाएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको सख्ंया २ सय ८९ पुगको मन्त्रालयले पुष्टि गरेको छ ।