काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो ३ बजे तानिने भएको छ ।
यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैं गाःबहाल हुँदै मंगलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु¥याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो ।
आज बिहानैदेखि १९ औं जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनका साथै रथ तान्ने व्यवस्थापन गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताए । उनले भने, ‘मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पु¥याएर भोटोजात्रा गर्न सम्भव नहुँदा ३÷३ फिट वा ६ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तान्ने भएका छौं । हाल रथ भएको स्थानबाट मात्र १५ देखि २० मिटर पर सोह्रखुट्टे पाटी भएकाले धेरै परसम्म रथ तान्नुपर्ने छैन ।’
गाःबहालबाट महानगरपालिकाको ढोकासम्म करिब ५ सय मिटर मीननाथको रथ पनि तानिने महर्जनले जानकारी दिए ।
लोकनाथ र मीननाथका दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटन टोलका ४ देखि ५ मानिस सहभागी हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताएका छन् । उनले भने, ‘रथयात्रामा सहभागी हुने मानिसलाई पूर्णरूपमा कोभिड–१९ को मापदण्ड अपनाउन लगाउने छौं ।’ रथ यात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले जानकारी दिएका छन् ।
विगतका वर्षझैं यस वर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले हिजो र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो । आउँदो शुक्रबार सम्भव भएसँगै मच्छिन्द्रनाथलाई बुङ्मती पठाउने कुरा अघि बढिरहेको महर्जनको भनाइ छ ।
आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । वि.सं ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन सुरु गरिएको थियो । रासस