पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा थप १ हजार ४१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण गरिएको थियो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल सख्ंया ४५ हजार ५ सय ७७ पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८ सय ७० रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै हालसम्म २४ घण्टाको अवधीमा १ हजार ५ सय ६६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या २७ हजार १ सय २७ रहेको प्रवक्ता डा.गौतमले बताएका छन् ।
डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाले ज्यान गुमाएका छन् । यसरी कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेमा ३ महिला तथा ६ पुरुष रहेका छन् । नवलपरासी, मोरङ तथा मकवानपुर जिल्लाका १.१ जना महिलाले कोरोनाबाट पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।
त्यस्तै कोरोनाबाट ज्यान गुमाउने पुरुषमा काठमाडौंका ३ सहित रुपन्देही, पर्सा तथा महोत्तरीका १/१ जना रहेको मन्त्रालयले प्रेस ब्रिफिङका क्रममा जानकारी दिएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या हालसम्म २ सय ८० पुगेको छ ।
हिजो शुक्रबार भने कोरोनाबाट १४ जनाले ज्यान गुमाएका थिए । शुक्रबारको यो रेकर्ड अहिलेसम्म कै उच्च हो ।