कास्कीमा पाडापाडी र बाच्छी हुर्काउन कृषकलाई अनुदान

पोखरा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीले गाई भैंसीका बाच्छी/पाडी हुर्काउने कृषकलाई अनुदान दिने भएको छ । जिल्लामा गत वर्ष पहिलोपटक १०० वटाबाट सुरुआत गरिएको यस कार्यक्रम अन्तर्गत यस वर्ष ४ सय वटालाई अनुदान वितरण गर्न ४० लाख बजेट विनियोजन गरिएको विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा शोभा आचार्यले बताए । केन्द्रले कृषकलाई प्रतिपाडी बाच्छी १० हजारका दरले अनुदान दिने गरेको छ ।

प्रोत्साहन रकम लिनका लागि कृषकले कृत्रिम गर्भाधानबाट जन्मेको प्रमाणसहित कम्तीमा एक वर्ष उमेरको कोरली बाच्छी तथा पाडी भएको भनी प्राविधिकले प्रमाणित गरेपछि अनुदानका लागि आवेदन दिन सक्नेछन् । पाडी/बाच्छी हुर्काउन लागत बढ्दा कृषकले झन्झट मान्ने र शुरुमै गोठबाट हटाउने गरेकाले उनीहरुलाई प्रोत्साहन कार्यक्रम ल्याएर त्यसबापत अनुदान दिएर बाहिरबाट गाईभैँसी आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख आचार्यले बताएका छन् ।

प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यस कार्यक्रमका लागि गत वर्ष १० लाख बजेट विनियोजन गरेको थियो । गत वर्ष जिल्लाको माछापुच्छ«े गाउँपालिका र डिसिआइपी हर्ड (गाई/भैंसी वंश सुधार) कार्यक्रम लागू भएका फार्ममा यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

‘उन्नत नश्लका पाडी बाच्छी हुर्काउँदै उत्पादन योग्य बनाएर विदेशबाट गाई/भैंसी आयात गनुपर्ने बाध्यताको अन्त्यका लागि प्रोत्साहन कार्यक्रम ल्याएका हौं, गत वर्षको कार्यक्रम कार्यान्वयन सफल भयो, चालु वर्ष यसलाई थप व्यवस्थित गरी सञ्चालन गर्दछौं । आचार्यले भने ।

आर्थिक वर्ष २०७६/०७७ मा पाडापाडी तथा बाच्छी हुर्काउने ९३ जना कृषकका १ सय पाडी/बाच्छीलाई १० हजारका दरले अनुदान वितरण गरिएको थियो । स्वदेशमै गाई भैंसीमा आत्मनिर्भर बन्दै स्रोतको रुपमा विकास गर्ने लक्ष्य सरकारको छ ।

विज्ञ केन्द्रले गत वर्ष ६३ वटा पशुपक्षी मोडल फार्मलाई १ करोड ९३ लाख ९७ हजार नगद अनुदान प्रदान गरेको छ । त्यसैगरी फ्रेस हाउस सुधार कार्यक्रमअन्तर्गत ९ वटा पसललाई २ लाखका दरले १८ लाख तथा डेरी पसल सुधार कार्यक्रममा ३ पसललाई १ लाखका दरले सहयोग उपलब्ध गराइएको जनाइएको छ ।

पशु आनुवंशिक स्रोत संरक्षण कार्यक्रमअन्तर्गत स्थानीय जातका पारकोटे र लिमे भैंसी संरक्षणका लागि २० कृषकलाई भकारो सुधार सहयोग, तालीम तथा खोप सेवा प्रदान गरिएको बताइन्छ । रासस

कमेन्टहरु
Loading...