ऋषिकान्त पौडेल
कोरोना भाईरसले आक्रान्त बनाउन थालेको ६ महिना हुनै लाग्दा पोखरा महानगरपालिकाले भने बल्ल आफ्ना कर्मचारीको बीमा गर्ने तयारी थालेको छ ।
आफ्ना तीन जना कर्मचारीमा कोरोना पोजिटिभ देखिँदासमेत बिमा गर्नुपर्छ भन्ने भेउ नपाएको महानगरले यो हप्ताको सुरुदेखि प्रक्रिया थालेको हो । कोरोना बीमाका लागि आफुहरुको विवरण संकलन गरीएको कर्मचारीहरुले जानकारी दिएका छन् । तर ढिलो गरी सुरु गरिएको बीमा प्रक्रियाप्रति भने उनीहरुको गुनासो छ ।
‘दैनिकरुपमा नागरिकसँग प्रत्यक्ष सम्पर्क हुने हामी कर्मचारी कोरोनाको उच्च जोखिममा हुन्छौं तर बीमाकाे प्रक्रिया यति ढिलो गरी सुरु हुनु दुखद कुरा हो’, एक कर्मचारीले गन्थन डटकमसँग भने । ढिलै भएपनि महानगर प्रशासनले कर्मचारीको बीमा प्रक्रिया सुरु गरेर आफुहरुलाई ढुक्क बनाएको उनले उल्लेख गरे ।
कोरोना बीमाका लागि महानगर प्रशासनले कर्मचारीहरुसँग नाम, नागरिकता नम्बर, जारी मिति र मोबाईल नम्बर संकलन गरिरहेको छ । ‘महानगर अन्र्तगत रहेका करीब ८ सय कर्मचारीमध्ये हालसम्म ४ सय भन्दा बढीको विवरण संकलन भईसकेको छ’ महानगरका सुचना अधिकारी भरतराज पौडेलले जानकारी दिए । राष्ट्रिय बिमा संस्थानमार्फत कर्मचारीको बीमा गराईने पनि उनले जनाए ।
अधिकांश संघसंस्थाहरुले आफ्ना मातहतका कर्मचारी र सदस्यहरुको बीमा गराईसकेपनि महानगर किन पछि प¥यो त ? भन्ने जिज्ञामा पौडेलले भने ,‘कोरोना बीमा हुने रहेछ भन्ने नै बल्ल जानकारी भयो त्यसैले अहिले प्रक्रिया सुरु भएको हो ।’
स्मरणीय छ, पोखरा महानगरका ३ कर्मचारी कोरोना संक्रमित भई हाल ठिक भइसकेका छन् ।