रिना थापा
निर्माण सम्पन्न भएको ३ महिना नपुग्दै फेवाताल संरक्षणका लागि निर्माण गरिएको सिल्टेसन पोखरी र चेकड्याम भत्किएको छ । सोमबार अविरल वर्षासँगै आएको बाढीले अँधेरी खोलाको सिल्टेसन ड्यामको ५० मिटर भाग बगाएको छ । सोमबार साँझ आएको पानीले अँधेरी खोलाको ड्याम बगाएको हो । ड्याम बगाउँदा खोलाले बाटो परिवर्तन गरि खिमलाल भण्डारीको कुखुरा फार्म क्षतिग्रस्त बनाएको छ । बाढी बस्दा भण्डारीको १ सय बढी कुखुरा बगाएको छ भने १४ बोरा दाना पनि बगाएको छ ।
सोही बाढीले प्रदेश कृषि मन्त्रालयले सञ्चालन गरेको जग्गा चक्लाबन्दी कार्यक्रम अन्तर्गत अनुदानमा सञ्चालन भएको करिब १ सय ५६ रोपनी क्षेत्रफलमा रहेको धान खेत बगाएर क्षतिग्रस्त भएको छ । जग्गा चक्लाबन्दी कार्यक्रमका अध्यक्ष विष्णु दाहालका अनुसार बाढीले सिल्टेसन ड्याम भत्किँदा करिब ५० लाख बराबरको क्षति भएको छ । जग्गा चक्लाबन्दी गरेर बनाइएको धान खेत अहिले बगर बनेको छ ।
‘पुरानो जलाधारको ड्यामलाई भत्काएर नयाँ कमसल ड्याम बनाउँदा अँधेरी खोलाको सिल्टेसन ड्याम भत्किएको छ । यसभन्दा अघि पनि ड्यामको केही भाग बगाएको थियो । कमसल निर्माण सामाग्री प्रयोग भएकाले ड्याम भत्किएको हो । नगरपालिकाले हामीले भनेको कुरा नै सुनेन ।’ उनले गुनासो गर्दै भने, ‘सिल्टेसन ड्याम त बनायो तर गुणस्तरमा ख्याल गरेन । न त ड्याममा थुप्रिएका गिट्टी बालुवा नै निकाल्ने काम ग¥यो । त्यही लापरवाहीले अहिले करोडौं क्षति भएको छ । त्यसको जिम्मा कसले लिन्छ ? ड्याम भत्किएपछि खोलाले बाटो नै फेरेको छ, थुप्रै जनधनको क्षति भएको छ । तर कोही अनुगमनका लागि आएका छैनन् । यो त गैह्रजिम्मेवारीपन होइन र ?’
दाहालका अनुसार स्थानीयको कुरालाई बेवास्ता गर्दै महानगरले बल मिच्याई गरि कमजोर संरचना निर्माण गरेको थियो । कम गुणस्तरीयताकै कारण ड्याम भत्किँदा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको २८ करोड १६ लाख रुपैयाँ खोलासँगै बग्ने खतरा भएको हो । प्रदेश सरकार र महानगरको संयुक्त लागतमा गत वर्षदेखि ४ ठाउँमा सिल्टेसन ड्याम निर्माण गरिएको थियो ।
फेवाताल जलाधार संरक्षण कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिको २३ र २४ वडा अन्तर्गत पामेको बेतेनी खोला, लौरुक खोला, हर्पन खोला र अँधेरीखोलामा ड्याम निर्माण भएका थिए । तर अलिक भारी वर्षा हुना साथ ती ड्याम भत्किने त होइन, भनेर स्थानीय त्रसित हुने गरेका छन् । ड्याम निर्माणका लागि गत वर्षको भदौमा १५ महिना अघि सम्झौता भएको थियो । सम्झौता अनुसार बेतेनी खोला आयोजना स्याङ्जाको श्री गीता जयनेपाल इश्वर जेभी, लौरुक खोला, अँधेरी खोला तथा हर्पन खोला गरि ३ वटा आयोजना दाङको खड्का कृष्ण पि.के जेभीले निर्माण गर्ने गरि सम्झौता भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
उक्त कन्स्ट्रक्सनले निर्माण गरेर हस्तान्तरण गर्नु अगावै पोखरा २३ स्थित ठूलाखेत खहरे खोला र हर्पन खोलामा बनाइएको सिल्टेसन ड्याम भत्किएको थियो । त्यसपछि सोमबार आएको बाढीले अँधेरी खोलाको बाढीले ५० मिटर ड्याम बगाएको छ । हस्तान्तरण नगर्दै ड्याम भत्किएपछि ठेकेदार कम्पनीले कमसल सामाग्रीको प्रयोग गरेको भन्ने बारेमा कुनै दुइमत नरहेको स्थानीयहरु बताउँछन् ।
यद्यपी महानगरपालिका प्रवक्ता नेपाली भने प्राविधिकसहितको टोलीले ड्याम भत्किनुको कारण खोजी गरिरहेको बताउँदै ड्याम निर्माणमा केही कमजोरी भएको स्वीकार गर्छन् । ‘स्थलगत अनुगमनमा छौं, अब विज्ञहरुले कारण पत्ता लगाएछि गल्ती सच्चाउने काम हुन्छ ।’ नेपालीले भने । अनुगमनको क्रममा निर्माण कम्पनीको गल्ती पाइएको खण्डमा ठेकेदारको लाइसेन्स रद्द गर्ने उनले बताए । ड्याम बगेको बारे ठेकेदार कम्पनीको बचाउ गर्दै नेपालीले बाढीले गर्दा निर्माणधीन ड्यामले पानीको बहाव थेग्न नसकेर भत्किएको हुनसक्ने र यसमा महानगर वा निर्माण कम्पनीको लापरवाही नरहेको टिप्पणी गरे ।
यता महानगरका प्राविधिक पनि ड्याम निर्माण कार्यमा कमजोरी नभएको दावी गर्छन् । यो विषयमा इन्जिनियर बिमल आचार्य भन्छन्, ‘ठेकेदार र गुण्स्तरको कुराभन्दा हामी इन्जिनियरले सकेसम्म गुणस्तरीय नै बनाएका हौं । तर गत ५० वर्षको अवधीकै सबभन्दा ठुलो बाढी यो वर्ष आयो ।’ वर्षायामको उर्लंदो भेल र ग्राभेलले गर्दा ड्यामले भार थेक्न नसकेको आचार्यको दावी छ । तर डिपिआर अवधी अझै केही महिनासम्म बाँकी रहेकाले ठेकेदार कम्पनीले नै पुर्ननिर्माण गरी महानगरलाई हस्तान्तरण गर्ने पनि उनले बताए ।
कमजोर अवस्थाको ड्यामकै कारण ४ सयभन्दा बढी घरधुरी जोखिममा परेको वडा नम्बर २३ का वडा अध्यक्ष विष्णु प्रसाद पराजुली बताउँछन् । ‘निर्माणको समयमा ठेकेदार कम्पनीको निर्माण काममा भएको लापरवाही र महानगरको ध्यान केन्द्रित नहुँदा ड्याम भत्किएको हो ।’ पराजुलीले ठोकुवा गरे ।
निर्माणस्थलमा मेयर र उपमेयर अवलोकन गर्न आउँदा पटक–पटक ड्यामको गुणस्तर कमजोर भएको जनाएको भए पनि आफ्नो कुरालाई विपक्षी दलको नजरमा हेरिएको आरोप पराजुलीले लगाए । ‘म वडा अध्यक्ष । मेरै वडामा ड्याम निर्माण भइरहँदा मसँग समन्वय समेत गरिएन । जसले गर्दा अहिले बस्ती नै खतरामा छ ।’ पराजुलीले भने ।