कोरोना कहरमै बढ्दैछ फिल्म निर्माणको घोषणा

पोखरा । कोरोना भाइरसको महामारीका कारण सबै क्षेत्र लगभग ठप्प छन् । अझ मनोरञ्जनको क्षेत्र त झन् शुन्यको अवस्थामा छ । न कुनै हल खुलेका छन् त न कुनै फिल्म नै छायाँकन भइरहेका छन् । फिल्म निर्माण तथा प्रदर्शनको प्रक्रिया ठप्प हुँदा केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त छन् । नेपाली फिल्मकर्मीहरुले निश्चित मापदण्ड राखेर हल खुलाउनु पर्ने आवाज केही समय उठाए ।

मसिनो स्वरमा उठेकै कारण आवाज बलियो भने बन्न सकेन । जस कारण त्यो विषयले सरकार अनि सम्वद्ध निकायललाई छुन सकेन । थुप्रै फिल्महरु रिलिजको तयारीमा रहँदारहँदै रोकिन पुगेका छन् । लकडाउन हुनभन्दा केही दिन अगाडिसम्म कास्कीको घाचोकमा फिल्म ‘दुई नम्बरी’ छायाँकन गरिराखेका दिपेन्द्र लामाको फिल्म छायाँकन १० प्रतिशत हुन नपाउँदै रोकियो ।

प्रचारप्रसार तीव्र बनाएका ‘प्रेम गीत ३’, ‘म यस्तो गीत गाउँछु २’, ‘हिजो आजका कुरा’ लगायत फिल्म रिलिज हुन पाएनन् । छायाँकन सकाएर बसेका फिल्मको लिस्ट लामो छ । तर पनि कोरोना महामारी कै बीचमा फिल्म घोषणा हुने क्रम चलिरहेको छ ।

नायक आर्यन सिग्देल केही हप्ता अगाडि पोखरा बसेर फिल्मको स्क्रिप्टको तयारीमा जुटेका थिए । ‘कायरा’ फिल्म फल्प भएपछि आर्यन अर्को नयाँ प्रोजेक्टमा जुट्दै छन् । नायिका रेखा थापा नयाँ प्रोजेक्टकै लागी कडा मिहेनतका साथ दैनिक फिटनेसमा लागिरहेकी छन् । उनका अनुसार कोरोना महामारीपछि नयाँ प्रोजेक्ट छायाँकन गर्ने तयारी छ ।

निर्देशक दिपेन्द्र के खनालले लकडाउन मै प्रदर्शन मिति तोकेर फिल्म ‘चिसो मान्छे’ घोषणा गरिसकेका छन् । २०७८ भदौ ११ गते रिलिज गर्ने गरी फिल्मको कथा लेखनको तयारीमा उनी जुटेका छन् । अहिलेको विषम् परिस्थितिले सिर्जित अन्यौल चाडैं नै अन्त हुनेछ भन्ने आशा र नेपाली चलचित्र क्षेत्रलाई पुनः चलायमान बनाउनुपर्छ भन्ने सोंचका साथ फिल्म निर्माण गर्न लागिएको उनको भनाइ छ । चलचित्र विकास बोर्डमा दर्ता गरिसकिएको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दै छिन् ।

फिल्म ‘प्रसाद’ को निर्माण टिम ‘प्रसाद २’ को स्क्रिप्टको काम भइरहेको छ । कथा सुशिल पौडेलले प्रिक्वेलको तयारी गरिरहेका छन् । कोरोना महामारीको संकट लगत्तै छायाँकनमा जाने गरी फिल्मको टिम जुटेको छ । ‘प्रसाद’ निर्देशक दिनेश राउतले समय दिन नसक्दा सौरभ चौधरीले फिल्म निर्देशनको जिम्मा पाएका छन् । फिल्ममा पुरानै कलाकार । विपिन कार्कीसंगै नम्रता श्रेष्ठ, निश्चल बस्नेत लगायत दोहोरी सक्ने संभावना छ ।

प्रोडक्सनको काम लागिरहेको ‘प्रेमगीत ३’ टिमले फिल्म ‘हु तु तु’ को घोषणा गरिसकेको छ । निर्माता सन्तोष सेनका अनुसार फिल्म पूर्ण कमेडी जनरामा बन्नेछ । यो फिल्मको पनि स्क्रिप्टको काम भइहरेकोे छ । मल्टिस्टारर फिल्ममा हरिवंश आचार्य, माओत्से गुरुङ, राजाराम पौडेलका साथै प्रदीप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेन रहने छन् ।

विषम् परिस्थिति सामान्य भएसंगै प्रदर्शन र छायांकनको योजना बनाउने बनाउने निर्माता सन्तोष सेनको भनाइ छ । निर्माता छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा फिल्म ‘हु तु तु’ निर्देशन गर्नेछन् ।

निर्देशक कलाकार माओत्से गुरुङले आफ्नै होम प्रोडक्सन ब्यानरमा फिल्म कदमको घोषणा गरेका छन् । फिल्म कथा लेखनको काम भइरहेको छ । ‘सिनेमा बुझ्ने आ–आफ्नो तरिका होलान्, परिभाषा होलान् । मैले मेरो कथा, समुदायको व्यथा, र आम मानिसको मर्म भन्नुपर्छ सिनेमामार्फत् भन्ने सोचेर विभेदको कथा भन्नलाई कदम चाल्दै छु ।’ उनी भन्छन् ।

निर्देशक मिलन चाम्सले ‘गोर्खा द वरिअर’ घोषणा गरिसकेका छन् । उनको फिल्म फ्लोरमा जान नपाउँदै लकडाउन भयो । पछिल्लो पटक चाम्सले म्युजिक भिडियो र कर्मसीयल विज्ञापन निर्देशन गरिरहेका छन् । फिल्म घोषणा हुने र रिलिजका लागि लाइनमा भइरहँदा हल कहिले खुल्छ भन्ने नै अन्यौलको विषय बनेको छ ।

हल सञ्चालक उत्तम द्वा फिल्म हललाई निश्चित मापदण्ड बनाएर छिट्टै खुलाउने सकेमा राम्रो हुने बताउँछन् । ४० प्रतिशत अकुपेन्सीसम्म फिल्म चलाउन सकिन्छ भन्ने उनको भनाइ छ ।

फिल्म रिलिज हुनभन्दा पनि निर्माता, वितरक र हलवालाबीचको समझदारी पनि आवश्यक देखिन्छ । अहिले हल खोल्नेबारे अन्यौलताको कारण ३ पक्षबीचको असमझदारी नै हो । हलवाला कति दर्शक आउँछन् भन्नेमा ढुक्क छैनन् वा आइहाले पनि हलको क्षमताभन्दा कममा सुरक्षा मापदण्ड अपनाएर देखाउनुपर्ने बाध्यता छ । निर्माता फिल्म हलमा चल्नु अगावै लगानी सुरक्षाको प्रश्न उठाइरहेका छन् ।

कोरोना महामारीपछि पनि फिल्म बन्ने क्रम चल्ने नै छ तर अघिल्ला वर्ष झै धेरै फिल्म बन्ने र हलमा पानी पनि भन्न नपाउने अवस्था भने केही कम हुने देखिन्छ । नेपालमा सरदर वार्षिक ८० फिल्म प्रर्दशनमा आउने गरेका छन् । जसमध्ये हातमा गन्न सकिने फिल्मले मात्रै व्यापार गर्ने र दर्शकको मन जित्ने गरेका छन् ।

कमेन्टहरु
Loading...