खिम लामिछाने काजी
“समाज रूपान्तरणका लागि पुस्तकालय“ भन्ने आदर्श वाक्य (नारा) का साथ यस कोरोनामय जटिल परस्थितिका बीच आज भाद्र १५ गते देशभर पुस्तकालय दिवस मनाईदैछ । बिगतमा जस्तो विभिन्न पुस्तकालय, शैक्षिक संस्था र पुस्तकालयसँग सम्बद्ध संघ–संस्थाहरूको सहभागितामा ताजमाजका साथ भव्य रुपमा देशभरी बिविध कार्यक्रम गर्न यसपटक कोरोनाले रोक्यो । यद्दपि, अनलाइन मिटिङ तथा भच्र्युअल कन्फरेन्सहरु गरेर पुस्तकालसंग सम्बन्धि सरोकारवालाहरुद्वारा भने बिबिध कार्यक्रमहरु गरियो । यो कोरोना भाइरसको कारणले गर्नु परेको लकडाउनको समयमा पढ्ने सस्कृतिको महत्व झनै बढेको तथ्य छापाहरुमा प्रकाशित नै भइसकेको छ ।
हरेक उमेर, तह, तप्का, बर्ग, जातजाति, धर्म, सस्कृति सबै ब्यक्तिहरुको साझा रुचीको बिषय हो पढ्नु र ज्ञान हासिल गर्नु । पढ्ने बानीको बिकास गर्ने र पढ्ने सस्कृतिलाइ फैल्याउने पबित्र उदेश्य बोकेर हरेक बर्षको भाद्र १५ गते देश ब्यापी रुपमा बिबिध कार्यक्रम सहित मनाउने गरिन्छ, पुस्तकालय दिवस !
पुस्तक लेखनको विश्व इतिहास केलाउदा ३५०० ईसापूर्व देखि नै सुमेरिया, मेसोपोटामिया, बेबोलोनिया तथा अरीसियाका बासिन्दाहरुले माटाका खबटाहरूमा आफ्ना विचारहरू चित्रात्मक लिपिमा लेखी घाममा सुकाएर राख्ने गर्थे । काठ तथा ढुङ्गाका फेसोले कोरेर आफ्ना भावनाहरु अभीब्यक्त गर्ने गर्दथे । यस्तो फेसो आकारको लिपीलाई अग्रेजीमा क्युनिफर्म लिपि भनिन्छ । यो लिपीलाई नै संसारको पहिलो लिपी थियो । यसरी लेखिएका खबटे पुस्तकका तिनै संग्रहहरूलाई नै पुस्तकालयको बिकासको सुरुवात मानिन्छ । पुस्तकालय त्यो ठाउँ हो जहाँ बिभिन्न प्रकारका ज्ञान, सुचना, श्रोत, आदीलाई सङ्रह गर्ने गरिन्छ । पुस्तकालय शब्द अंग्रेजीको लाइब्रेरी शब्दको रुपान्तरित शब्द हो । लाइबेरी शब्दको उत्पत्ति ल्याटिन शब्द “लाइवर“ बाट आएको हो । जस्को अर्थ पुस्तक अथार्थ किताब भन्ने हुन्छ । पुस्तकालय शब्द “पुस्तक“ र “आलय“ दुई शब्द मिलेर बनेको शब्द हो । पुस्तकको अर्थ किताब र आलयको शाब्दीक अर्थ घर तथा कार्यालय भन्ने हुन्छ । नेपाली व्याकरण अनुसार “आलय“ एक प्रत्यह पनि हो, जस्लाई सम्बन्धीत बिषयलाई बिशाल बनाउन प्रयोग गरिन्छ । जस्तै हिमालय, बिद्यालाय आदी ।
पुस्तक, पत्रपत्रीका, मानचित्र, दस्ताबेज, हस्तलिखित, ग्रन्थ, ग्रामोफोन रेकर्ड, फिल्म सङ्ग्रह गरेर सुरक्षा प्रदान गर्ने र चाहिएको बेला उपलब्ध गराउने ठाउँलाई पुस्तकालय भनिन्छ । यद्दपि, पुस्तक बिक्रेता र पसलमा दराज भरी सजाएर व्यावसायिक दृष्टिले राखिएको ठाउँलाई पुस्तकालय भनिदैन । काव्यशास्त्रमा लेखिएको छ “काव्य शास्त्र विनोदेन, कालो गच्छति धीमताम्। व्यसनेन च मूर्खाणां, निद्रयाकलहेन वा” अर्थात बुद्धिमान मानिस आफ्नो समय पठन पाठनमा ब्यतित गर्दछ । मुर्ख मानिसको समय दुर्व्यसन, निन्द्रा र झगडा गर्दै बिताउछ । पुस्तकमा त्यो शक्ती निहित हुन्छ जस्ले अन्धकारलाई हटाएर जीवन र जगतलाई उजल्याउने सामथ्र्य हुन्छ । मनिसले भोग्ने परेका कतिपय समस्याहरुको निधान र समाधान यही पुस्तकको प्रयोगबाटै हुने गरेको पाहिन्छ । शिक्षाको बिकास गर्ने सदर्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन “हामीले तत्काल ठूला पाठशालाका मन्दिर बनाउन सकोइनौ, तर हामी पुस्तकको विशाल सङ्ग्रह गरेर प्रत्येक टोलटोलमा, गाउँगाउँमा विद्याप्रति अभिरुचि विकास गराएर जनचेतनाको स्तर चाहिएजति उच्चतामा पुर्याउन जरुर कोसिस गर्न त सक्तछौ । नगर्नु महापाप हो, राष्ट्र र प्रजातन्त्रको हत्या गर्नु हो । एकएक पुस्तकालय खडा गर्ने एकएक टोलका सेवकलाई म अन्तर आत्माले नमस्कार गर्दछु।”
नेपालमा पुस्तकालयको बिकासको सन्दर्भमा कुरा गर्दा, नेपालीको एतिहासिक घटनाक्रमहरुलाई हेर्नुपर्ने हुन्छ । मित्ररास्ट्र भारतको नालन्दा तक्षशिला तथा पाटलीपुत्र जस्ता स्थानहरुमा भएको पठन पाठनको प्रभाब नेपालमा पनि परेको मानिन्छ । भारतमा मुसलमानहरुले बिभिन्न राज्यहरु बिजय गर्दै जादा काशीमा सङ्ग्रहित धार्मिक तथा पौराणीक ग्रन्थहरु नस्ट गरिदिन्छन भन्ने डरले उक्त ग्रन्थहरु नेपालको भक्तपुरमा ल्याइ राखेका थिय । त्यसैकारण मल्ल कालमा उपत्यकाका तीन वटा राज्यहरुमा भक्तपुर राज्य ग्रन्थहरुको सङ्ग्र्रहमा सबैभन्दा धनी राज्य मानिन्थ्यो । परापुर्ब काल देखी मठ, मन्दिर, देवालय, मस्जिद, चर्च, राजदरबार, गुरुपुरोहितको निवास, चैत्य, विहार, स्तुपाहरुमा सङ्कलन गरिएका एतीहासिक सामाग्रीहरु जस्तै शिलालेख, ताम्रपत्र, भोजपत्र, काठ, धातु, जनावरको छाला (पार्चमेन्ट), बिरुवाको प्रयोग (पपिरस), ढुङ्गा आदीमा कोरिएका चित्र तथा लेखिएका अक्षरहरु तथा हस्तलिखित ग्रन्थहरु नै बर्तमानको पुस्तकालको पूर्वज रुप हुन । यसरी हेर्दा लिच्छवि तथा मल्लकालिन समयमा पुस्तकालयका स्वरूपको निर्माण भईसकेको थिय भनेर पनि मान्न सकिन्छ । एध्यपी आधुनिक पुस्तकालयको बिकास भने बिक्रम सम्बत १८६९ मा तत्कालिन राजा गिर्वाणयुद्ध वीर बिक्रम शाहको पालामा भएको पाहिन्छ । पृथ्वी नारायण शाहले राज्य एकीकरण गर्दा युद्धमा जितेर ल्याएका सामाग्रीहरुलाई सुचीक्रित गरेर राख्नको लागि एक जना कर्मचारी खटाएका थिय ।
मिती १८६९ साल भाद्र १५ गते लाल मोहर जारी गरी पण्डित केदारनाथ झालाई “पुस्तक चिताही तहबिल“ र अर्को एक जनालाई टहलुवा पदमा कर्मचारी नियुक्ती गरेको दिनलाई नेपालमा पुस्तकालय दिवस मनाउने दिन तोकियो । यस प्रकार, राजकीय स्तरमा सुरक्षित उक्त पुस्तकालयलाई राणा प्रधानमन्त्री देवशमशेरले सर्वप्रथम विसं १९५८ मा उनको राज्यभिषेकको अवसर पारी गोरखापत्रको वर्ष १ अंक २ मा सूचना प्रकाशित गरी जेठ ३ गतेका दिनबाट सर्वसाधारणका लागि खुल्ला गरिएको घोषणा गरेका थिए । उक्त पुस्तकालयको नाम समयको चक्रसँगै रुपान्तरण भएको छ । दरबार पुस्तकालय, घण्टाघर पुस्तकालय, वीर पुस्तकालय, सरकारी किताबखाना नामकरण हुँदै विसं २००४ सालमा नेपाल राष्ट्रिय अभिलेखालयमा परिणत भएको थियो । उक्त पुस्तकालयलाई नेपालकै प्रथम पुस्तकालय मानिन्छ । हाल नेपालको सबैभन्दा पुरानो, दुर्लभ एवम पुरातात्विक महत्वका हिसाबले परिचित छ । ईतिहास हेर्दा प्राय राजा महाराजाहरुको रहर र रुचिबाट पुस्तकको सङ्कलन तथा संरक्षण गर्ने गरिएको पाहिन्छ । राजा र राणाहरुले बिदेश भम्रण गएको बेला पुस्तकहरु समेत ल्याउने गर्दथे । जङ्गबहादुर राणा लगायत कठोर राणाहरुले पढ्ने सस्कृतीको बिकास सिर्फ आफ्नै खलकमा मात्र सिमित राखे । तर राणाशासनको पछिल्लो समयमा सुधारबादी राणा लगायत शिक्षित युवाले स्कुल तथा पुस्तकालय खोल्ने पहल गरेको पाहिन्छ । केशर शम्शेर अध्ययनमा अत्येन्तै रुची राख्ने हुनाले सन १९०९ देखी नै पुस्तकहरुको संकलन गरी निजी पुस्तकालयको स्थापना गरेका थिय । उनको देहान्त पछी बि स २०२६ मा केशर महलले चर्छेको जग्गा समेत उनकी धर्मपत्नीद्वारा नेपाल सरकारलाई हस्तान्तरण गरियो । जुन अहिले केशर पुस्तकालको नामले परीचित छ ।
वि.सं. १९८६ मा जोगवीर सिंह, हरेकृष्ण श्रेष्ठ, बैकुण्ठप्रसाद श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, कृष्णप्रसाद खतिवडा, धर्मराज थपलिया, चित्तघर उपासकलगायत ४६ जनाको युवाहरुको टोलीले पुस्तकालय खोल्न प्रयास गरे । यो कुरा रामचन्द्र अधिकारीले राणा प्रधानमन्त्री भीमशमशेरलाई सूचना दिए । राणा प्रधानमन्त्रीले पुस्तकालय खोल्ने कार्य तत्काल रोक लगाई प्रत्येकलाई जनही १० रूपैयाँ दण्ड गरियो । आधा रकम सूचना गर्ने रामचन्द्रलाई पुरस्कार स्वरुप दिइयो । ईतिहासमा जस्लाई “लाइब्रेरी पर्ब“ को नामले चिनिन्छ । राणाशासन कालमा सार्बजनिक तथा सामुयादिक पुस्तकालय खोल्न नसकिने अवस्थामा पनि बि स १९९३ मा पाल्पामा पुस्तक पढ्ने दलान खुलेको थिय तर १ बर्ष पनि बित्न नपाउदै बन्द हुन गयो । पछी त्यही पुस्तकालय बि स २००४ मा धवल पुस्तकालयको रुपमा स्थापना भयो । त्यस्तै १९९३ साल मै तौलीहवामा पशुपती प्रताप पुस्तकालयको स्थापना भयो । २००३ सालमा ललितपुरको मंगल् बजारमा शारदा पुस्तकालय, २००३ मा प्रदिप्त पुस्तकालय, २००४ मा बुटवलमा महाबिर पुस्तकालयको स्थापना, त्यस्तै २००४ मा सार्बजनिक बिद्याभवन पुस्तकालय धरानमा स्थापना भयो । तत्कालिन शासन पद्दतीको बिरोध गर्ने युवा तथा शिक्षीत समूहले राणाशासनका विरुद्ध प्रजातान्त्रिक भावनालाई जनता सामु बिस्तार गर्ने उदेश्य लिएर मुलुकभर थुप्रै पुस्तकालयहरु स्थापना गरेका थिए । यसै समयमा विभिन्न शिक्षाबिदहरुको पहलमा कतै क्लबको नाममा कतै वाचनालय शब्दको प्रयोग गर्दै पुस्तकालयहरु स्थापना भए । प्रजातन्त्रको स्थापना पछी मुलुकमा शैक्षिक सस्था खोल्ने र पुस्तकालय खोल्ने लहर नै आयो । यसैक्रममा जनस्तरबाट समेत थुप्रै पुस्तकालयहरू स्थापना भए ।
पुस्तकालय ब्यबस्थापन र बिकासबार गण्डकी प्रदेश सरकारले सामाजिक मन्त्रालय अन्तर्गत समाबेश गरेको छ । प्रदेश भित्र रहेका सार्बजनिक पुस्तकालय र सङ्ग्र्रालयहरुको बिषयलाई सामाजिक मन्त्रालयले ब्यबस्थित गर्ने भने उल्लेख गरिएको छ । त्यस्तै पुस्तकालयको बिकास गर्ने उदेश्य राखेर प्रदेश अर्थमत्रीले आफ्नो बजेट भाषणमा समेत सम्बोधन गरेका छन । प्रत्येक स्थानीय तहमा एक एक पुस्तकालय स्थापना गर्ने भनी बजेटमा समेटिएको छ ।
राजा गिर्वाणयुद्ध बिक्रम शाहको पालामा पुस्तकालय रेखदेख गर्न औपचारिक रुपमा लाल मोहर जारी भएको दिन बि स १८६९ भाद्र १५ गते, राणा प्रधानमन्त्री देव शम्शेर सर्ब साधारणको अध्ययनको पुस्तकालय खुला गरेको दिन बि स १८५८ जेठ ३ गते र अन्तराष्ट्रिय साक्षरात दिवस सेप्टेम्बर ८ मध्ये किन कुन चाहि दिनलाइ आधार मानि पुस्तकालय दिवसको दिन तोक्ने भनी देश भरका पुस्तकालय कर्मी, शिक्षाविदहरु र बिज्ञहरु बीच २०६४ देखि ३०६५ बीच छलफल र बहसहरु भए । अन्त्यमा भाद्र १५ गतेलाइ पुस्तकालय दिवस मनाउने भनी सबैको सहमति भयो ।
आम नागरिकहरूमा पुस्तकालयको महत्व र आवश्यकता बारे जानकारी गराउने, अध्ययन संस्कृतिको विकास गर्ने, सूचनामा आधारित समाज निर्माण गर्ने र पुस्तकालयको विकासमा सहयोग पु¥याउने जस्ता विविध उद्देश्यका साथ वि.सं. २०६५ देखि भदौ १५ लाई ‘पुस्तकालय दिवस’ को रूपमा मनाउन सुरू गरियो ।
“सबैको लागि पुस्तकालय” भन्ने नारा सहित प्रथम पुस्तकालय दिवस बि स २०६५ मा देश भर मनाइयो । दोश्रो पुस्तकालय दिवस २०६६ मा “पुस्तकालयको बिकास, नया नेपालको निकास“ भन्ने नाराका साथ देश भर मनाइयो ।
त्यसैगरी तेश्रो २०६७ मा सुचना ज्ञान र शिपका लागि पुस्तकालय, चौथो २०६८ मा “समृद्ध नेपाल निर्माणमा लागि पुस्तकालय”, पाचौ २०६९ मा “पुस्तकालय जाऔ पढने बानी बसालौ” भन्ने नारा रहेको थियो ।
छैटौ २०७० मा “एक गाउ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय” । सातौ २०७१ मा “पुस्तकालयको बिस्तार, सभ्य समाजको आधार” भन्ने नारा रहेको थियो । आठौ २०७२ मा “पुस्तकलाइ माया गरौ, पुस्तकालयको बिकास गरौ” भन्ने नारा सहित बिबिध कार्यकर्महरु गरी मनाइयो ।
नवौ २०७३ मा “जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय” र दशौ २०७४ मा “जीवनपर्यन्त शिक्षाका लागि एक स्थानिय तहः एक नमुना पुस्तकालय” भन्ने नारा सहित बिबिध कार्यक्रमहरु गरी पुस्तकालय दिवस मनाइयो । ११औं पुस्तकालय दिवस २०७५ को नारा “समृद्ध पुस्तकालय सुदृढ समाज“ रहेको थियो भने १२औं पुस्तकालय दिवस २०७६ को नारा “पठन संस्कृतिको पुर्वाधारः पुस्तकालयको विकास र विस्तार” भन्ने रहेको थियो ।
हरेक पुस्तकालय दिवसमा एक आदर्श वाक्य अथार्थ नारा बनाइएको हुन्छ । यसपालीको नारा “समाज रूपान्तरणका लागि पुस्तकालय” रहेको छ । पुस्तकालयको क्षेत्र र उदेश्यहरु पुस्तकालयको प्रकृती अनुसार छुट्टाछुट्टै रहेको हुन्छ । एध्यपी पुस्तकको उदेश्य भने सिर्फ एउटै हुन्छ । पढ्ने र ज्ञान लिने । पुस्तकालयका बिभिन्न प्रकारहरू हुन्छन । जस्तै व्यक्तिगत पुस्तकालय, राष्ट्रिय पुस्तकालय, सरकारी पुस्तकालय, शैक्षिक संस्थाका पुस्तकालय, संघ संस्थाका पुस्तकालय, सार्वजनिक वा सामुदायिक पुस्तकालय, बाल पुस्तकालय, विशेष पुस्तकालय, डिजिटल पुस्तकालय, अमुर्त पुस्तकालय, अनुसंधान पुस्तकालय, व्यावसायिक पुस्तकालय, सेना पुस्तकालय, चिकत्सा पुस्तकालय, सरकारी पुस्तकालय आदी ।
पढ्ने सकृती बिकास गर्ने र पुस्तकालयमा बसेर पढ्ने बानीको बिकास गर्नको लागी बिश्वका थुप्रै देशहरुले पुस्तकालय दिवस मनाउने गर्दछन । जस्तै भारतमा १२ अगस्ट, स्पेनमा २४ अक्टोबर, फिनल्याण्ड र सर्बियामा २८ फेबु्रवरी, पोल्याण्डमा ८–१५ मे , (साप्ताहिकरुपमा), स्लोभेनिया र क्रुरेसियामा ११ नोभेम्बर, फ्रान्समा १४ जनुवरी, माल्टामा २३ अप्रिल, लिथुवानियामा २४–३० अप्रिल (साप्ताहिकरुपमा), बुल्गेरियामा ६–१० मे (साप्ताहिकरुपमा), इटालीमा ३० सेप्टेम्बर, अस्ट्रियामा १६–२२ अक्टुबर (साप्ताहिकरुपमा पुस्तकाल भेटघाट), हङेरीमा ३–९ अक्टुबर (साप्ताहिकरुपमा), ब्रिटेनमा ९–१४ अक्टुबर, इस्टोनियमा २०–३० अक्टुबर, जर्मनीमा २४ अक्टुबर, आयरल्याण्डमा २८ नोबेम्बर देखी ४ डिसेम्बर (साप्ताहिकरुपमा) । पुस्तकालय दिवस मनाउने गरिन्छ । सन २००४ देखी अमेरिकन लाइब्रेयन एसोसीयसनले हरेक बर्षको अप्रिलको दोश्रो हप्तामा नेश्नल लाइब्रेरी वोर्कर्स डे को रुपमा मनाउने गरेको पाइन्छ ।
जय पुस्तकालय !