रुपेन्देही । प्रदेश नं ५ मा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार १ सय एक पुगेको छ । जसमध्ये १ हजार २ सय ९७ जना सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ । प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । तीमध्ये ३९ पुरुष र ३३ महिला रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिएका छन् । उनका अनुसार सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा १÷१ जना छन् । प्रदेशमा ४ हजार ७ सय ३ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।
प्रदेशमा १ सय ४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये १६ जना आइसीयूमा उपचाररत छन् । तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी पौडेलले बताए ।
बुटवलको कोरोना अस्पतालमा २०, भीम अस्पताल भैरहवामा १७, सुशील कोइराला अस्पताल बाँकेमा ३१ र बेलझुण्डी दाङको अस्पतालमा ३६ संक्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ ।
सूचना अधिकारी पौडेलकाअनुसार संक्रमण देखिएका ८७ जना अझैपनि क्वारेन्टिनमै छन् । उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको छ । शुक्रबारसम्म १ हजार ४ सय ७६ जना क्वारेन्टिनमै बसेका छन् ।
अहिलेसम्म ९७ हजार ५ सय ९१ जनाको पिसिआर परीक्षण गरिएकोमा ९४ हजार ६ सय १९ जनाको नतिजा आएकोमा ६ हजार १ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ९ सय ७२ जनाको स्वाब परीक्षण हुने क्रममा छ । रासस