केही वर्ष पहिलाको एउटा सुपरहिट झुट सम्झौं त ? अनुजा बानियाँ काण्ड । जुन झुटबाट विराटनगरकी अनुजा रातारात भाइरल भइन् । काण्ड थियो ९१ लाख र हिराको हार । यो काण्ड पनि पहिलो पटक सामाजिक सञ्जालमै पोस्ट भएको थियो । अनि एकाएक कान्तिपुर राष्ट्रिय दैनिक, बिबिसी नेपाली सेवा, गणतन्त्र नेपालका प्रथम राष्ट्रपति, प्रधानन्यायधीश सबैको आँखामा पुग्यो परालको आगो झैं । कान्तिपुरले प्रमुख समाचार, सम्पादकीय बनायो भने राष्ट्रपति र प्रधानन्यायधीशले फोनै गरेर स्याबासी दिए । बिबिसी नेपाली सेवाले भावुक अन्तरवार्ता लियो । सबैको प्रारम्भिक स्रोत थियो सामाजिक सञ्जाल हुँदै राष्ट्रिय मिडिया ।
अनुजा बानियाँको काण्ड त एउटा उदाहरण मात्र हो । तर भाइरल हुने नाममा हामीले गरका कार्यको प्रभावलाई एक छिन आँखा चिम्लिएर विचार गरौं त, हामीले गरेको ठीक हो या होइन ? घरकै परिवारले समेत नपत्याउने अनुजाको कामले राष्ट्रपति जस्तो मान्छेले त पत्याए । १ दिन नै होस् सारा विश्वले उनको हाइहाई गरे । तर अन्त्यमा यो सबै भाइरल हुन रचिएको योजना रहेछ । न कसैको पैसा हराएको थियो, न त अनुजाले भेटेकी नै थिइन् । फगतमा अनुजाको भाइरल हुने चाहनामा फसिए राष्ट्रपति, प्रधानन्यायधीश, बिबिसी नेपाली सेवा र कान्तिपुर जस्ता हस्ती ।
अब मेरै आफ्नै भोगाइका कुरा । हिजो मलाई एकाएक अपत्यारिलो व्यक्तिबाट फेसबुकको म्यासेन्जरमा एउटा म्यासेज आयो । सर मेरो भिडियो सेयर गरिदिनु न तपाईंको वालमा । मैले सहज रुपमा हस भने भिडियो हेरें । तर सेयर गर्न लायक देखिन । पुनः म्यासेज आयो सेयर गर्नुभयो सर भन्दै । मैले कुनै प्रतिक्रिया जनाइन । दैनिक रुपमा यस्ता म्यासेज मलाई मात्रै होइन, सामाजिक सञ्जाल प्रयोगकर्ता प्राय सबैलाई आइरहन्छन् । हामी पनि पठाइरहन्छौं ।
आजभोलि सामाजिक सञ्जाल सामान्य कुरा समेत देखाउने, आफूलाई हाइहाई गराउने र अरुको अगाडि केही फरक देखाउने माध्यम बनेको छ । त्यसैले त केही समय अगाडि १ किलो चामल राहत स्वरुप दिएको पनि फेसबुकमा लाइभ नै गरियो । यो रोगबाट हामी सामाजिक सञ्जाल प्रयोगकर्ता मात्रै प्रभावित छैनौं । प्राय सबै प्रभावित छौं ।
घरका सानासाना विषयहरु समेत सामाजिक सञ्जालमा राख्न भ्याइहाल्छौं हामीमध्ये धेरैले । हाम्रो केही काम गरेका तस्बिर सामाजिक सञ्जालमा राख्छौं बिक्रीका लागि । राखे वापत् आउँछन् लाइक कमेन्ट । हो, लाइक र कमेन्टमा हामीले हाम्रो भावना बेचिरहेका हुन्छौं । मानौं, हामीले सामाजिक सञ्जालकै लागि सबै थोक गरिरहेका छौं र पछिल्लो समयमा हामी बाँचेको पनि सामाजिक सञ्जालकै लागि हो ।
आजकल घरमा कोही पाहुनाको आगमन भयो भने नमस्कार सहितको हालखबरभन्दा पहिले वाइफाइको पासवर्ड सोधिन्छ । पासवर्ड पाएपछि पाहुना आएको हो कि कुनै शोक शभामा भेला भएको हो, छुट्टाउन नै गाह्रो हुन्छ । तर हिँड्ने बेला लिइएको तस्बिर जब सामाजिक सञ्जालमा देखिन्छ तब चैं प्रष्ट हुन्छ, आफ्नोमा कोही पाहुना आएका रहेछन् ।
मानिसलाई फेसबुकमा तस्बिर देखाउने हतारो यतिसम्म हुन्छ कि, चितामा सुताएर दागबत्ती दिनै लागेको मुर्दाको पनि तस्बिर लिइन्छ । यति मात्र होइन, केहीले त कसैको शवसंग सेल्फी लिन समेत हिच्किचाउँदैनन् । अनि पोष्ट गरिन्छ रिपको आशामा । यस्तो होडबाजीले मृक्तकका आफन्तले देखे उनीहरूको हृदयमा कस्तो चोट पुग्छ भन्ने पटक्कै हेक्का राख्दैनन् । कोही मानिस बिरामी भेट्न आए भने उनीहरूलाई बिरामीको हालत जे जस्तो भए पनि एउटा सेल्फी लिनकै हतारो हुन्छ ।
सञ्चार प्रविधि मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा ९४ लाख फेसबुक युजर, ६० लाख युट्युबमा, ४० लाख ट्वीटर युजर र १ करोड ३१ लाखले मोबाइल चलाउँछन् । यी सबैको काम दैनिक १ पटक भएपनि यो समाजमा जोडिन प्रयोग भएकै हुन्छ । त्यसमा सबैभन्दा बढी प्रयोगकर्ताको आँखामा अडिने कुरा भनेकै नकारात्मक कुरा हुन् । त्यसैले त आजभोलि यस्तै कुरा मात्रै बिक्ने गर्छन् । जसलाई सामाजिक सञ्जालको भाषामा भन्दा भाइरल भिडियो÷फोटो भनिन्छ ।
हामीमा मानवीय संवेदना यतिसम्म हराउँदै गएको छ कि कहिल्यै नदेखेको व्यक्तिसँग च्याटमा बोलेको भरमा मान्छे नांगो हुन तयार हुन्छौं । यति मात्र होइन, कतिपय युवायुवती सामाजिक सञ्जालको माध्यमबाट विवाह बन्धनमा बाँधिएका हुन्छन् । हुन त यस्ता सम्बन्ध सबैको नराम्रो नै हुन्छ भन्ने होइन । यदाकदा राम्रो पनि भएका छन् । तर सकारात्मकभन्दा नकारात्मक हिसाबमा सामाजिक सञ्जाल कै कारण कतिपयले हत्या तथा मानसिक हिंसाको सिकार हुनु परेको घटना हाम्रो अगाडि प्रशस्तै छन् ।
सामाजिक सञ्जालले मानिसको सोच्ने शक्तिमा यतिसम्म ह्रास ल्याएको छ कि आजकल मान्छेहरू भाइरल हुने चाहमा झुटो नाटक गर्नसम्म पछि परेका छैनन्, अनुजा बानियाँ जस्तै ।
यहाँ सामाजिक सञ्जालले मानिसलाई यतिसम्म प्रभावित पारेको छ कि आमाबाबालाई आफ्नो सन्तान तथा परिवारका सदस्यका लागि समय नै हुँदैन । आजभोलि कामकाजी होस् या फेरि घरमा नै बस्ने व्यक्ति, जो कोही पनि समाजिक सञ्जालमा व्यस्त हुन्छन् । कुनै समय यस्तो थियो कि परिवार तथा बालबच्चा भेट भएपछि कुराकानी, हाँसी मजाक हुन्थ्यो । तर आजभोलि सामाजिक सञ्जालले परिवारका सदस्यलाई नै टाढा बनाइदिएको छ । फुर्सद भयो कि पारिवारिक गफ होइन, सामाजिक सञ्जालसंग जोडिन्छन् सबै जना । सबै जना एकै स्थानमा भएर पनि सबै व्यस्त हुन्छन् । सजिलो भाषामा भन्ने हो भने यही सामाजिक सञ्जालले टाढाको व्यक्तिलाई नजिक बनाइदिएको भए पनि परिवारका सदस्यलाई भने एक्लो बनाउँदै लगेको बुझ्न सकिन्छ ।
सामाजिक सञ्जालमा नकरात्मकतालाई बिकाइने र त्यही बिक्ने देश बनेको छ नेपाल । पछिल्लो उदाहरण र सन्र्दभ अछामको रामारोसनका बाढी पीडितलाई देशका गृहमन्त्रीले राहत वितरण गरेको विषय हो । धान फाँडेर कार्यक्रम गरियो भन्दै चौतर्फी नकारात्मकता फैलाइयो । तर वास्तविकता अर्कै थियो । खासमा बाढीले क्षति पु¥याएकै स्थानमा कार्यक्रम गरिएको रहेछ । जब सत्य कुरो सार्वजनिक भयो, ती नकारात्मक फैलाउने कथित मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताले न गल्ती सुधारे न त भुल स्वीकार गरे । हो, समाज त्यही नकारात्मकतामा रमाइरहेको छ । यदि मन्त्री वा कुनै व्यक्ति पीडितको कुरा सुन्न र क्षति हेर्न नगएको भए फेरी उस्तै खबर बन्थे, कि येत्रो वितण्डा हुँदा पनि मन्त्री भएकाहरु जनताको पीडामा सामेल हुन गएनन् । तिनैले खोइरो खनेको भेटिन्थ्यो सामाजिक सञ्जालमा ।
अनि यही घटनामा अर्को कुराको पनि काइदाको विरोध भएको छ । सञ्चारकर्मी सुमन ढुंगाना सामाजिक सञ्जालमै लेख्छन् ‘हेलिकप्टर लिएर मन्त्री शान दिन पुगे । अरे, राजधानीबाट २ दिनको सडक यात्रा गर्दै जाने त त्यसो भए ?’ हो उनकै भनाई मान्ने हो भने मन्त्रीका प्रत्येक सेकेण्ड सम्पूर्ण नेपालीका लागि हो । त्यसैले कुनै एउटा घटनामा दिन फाल्न पनि त त्यति जायज होइन होला नि ? के गर्नु यहाँ जे गरे पनि सुख पाइँदैन । यसो हुनुको कारण मानिसमा भएको नकारात्मक दृष्टिकोण हो ।
जबसम्म हरेक कुरालाई सकारात्मक दृष्टिकोणले हेर्ने बानी पर्दैन तबसम्म यो प्रवृति रहिरहन्छ । गलतलाई सही र सहीलाई गलत होइन, सहीलाई सही र गलतलाई गलत नै भनौं , तर अनावश्यक तर्क दिएर नकारात्मकता प्रभाह नगरौं ।
नेपालबाट विभिन्न बहानामा सामाजिक सञ्जालमार्फत् वार्षिक १२ अर्ब रुपैयाँ बाहिरिएको छ । त्योभन्दा ठूलो मनभित्रको मानवियता बाहिरिएको छ । सास भएर पनि रोवट जस्तै भएका छौं । एक्लै हाँस्छौं, एक्लै रुन्छौं, ग्याजेटकै भरमा । सायद यसैलाई बुझेर होला निवर्तमान सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाललाई नियमन र नियन्त्रण गर्न मिडिया विधेयक ल्याउने तयारी गरेका थिए । उनले भनेका थिए, सामाजिक सञ्जाललाई नियमन नगर्ने हो भने ‘हाम्रो घरघरमा हाइड्रोजन बम फिट गरेर छोडे जस्तो हुन्छ, कति बेला पड्कन्छ थाहै हुँदैन ।’ त्यसैले सोचौं कुनै कुरा पोस्ट गर्नु अगाडि के मैले ठीक गरेको छु त ?