मध्यपुरथिमीमा कोरोना संक्रमितको मृत्यु, नागरिक अस्पताल बन्द

भक्तपुर । कोभिड–१९ संक्रमणबाट भक्तपुरमा १ महिलाको मृत्यु भएको छ । मध्यपुरथिमी नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिएका छन् । उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना संक्रमण पुष्टि भएको बताउँदै उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिएका छन् ।

आजै मृतक परिवारको कन्ट्र्याक ट्रेसिङ गरी स्वाब संकलन गरी पिसिआर परीक्षण गरिने उनले जानकारी दिएका छन् । अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए । अस्पतालका निर्देशक श्रेष्ठले भने, ‘बिरामी अस्पताल आइपुगेर उपचार सुरु गर्दा मृत्यु भइसकेको थियो । हाम्रा डाक्टरले परिवारसँग बुझ्दा ५ दिनदेखि ज्वरो आएको, वान्ता भएको, उच्च रक्तचापको औषधि सेवन गरिरहेको, घर मै बेहोस भएपछि अस्पताल ल्याएको जानकारी गराएपछि राति नै पिसिआर परीक्षणका लागि स्वाब पठाउँदा कोरोना संक्रमण पुष्टि भयो ।’

कोरोना संक्रमणका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपिडी आज र शनिबार दुई दिनका लागि बन्द गरिएको उनले जानकारी दिएका छन् । बिरामीसँग सम्पर्कमा आएका अस्पतालका चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राख्ने र अस्पताललाई भाइरस निर्मलिकरण गरेर आइतबारदेखि मात्रै सञ्चालन गर्ने निर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।

भक्तपुरमा यसअघि कोरोना भाइरस संक्रमणबाट भक्तपुर स्थानीय २ जनाको मृत्यु भएको थियो । गत शनिबार सूर्यविनायक निवासी ७२ वर्षीय पुरुषको उपचारकै क्रममा काठमाडौंको मेडिकेयर अस्पतालमा मृत्यु भएको थियोे भने सूर्यविनायक नपा १ सिरुटार निवासी ६८ वर्षीया एक महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो । आइतबार पनि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौलाका बिरामी बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको मृत्यु भएको थियो । अहिलेसम्म भक्तपुरमा स्थानीयको तीनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अहिलेसम्म भक्तपृुरमा ३ सय ७५ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने मध्यपुरथिमी नगरपालिकामा समुदायस्तर मै भाइरस फैलिएको पाइएको छ । अहिलेसम्म सबभन्दा बढी मध्यपुरथिमी नगरपालिकामा १ सय ५६, भक्तपुर नगरपालिकामा ६२ जना, सूर्यविनायक नगरपालिकामा ९४ जना र चाँगुनारायण नगरपालिकामा भने स्थानीय १९ जना र शसस्त्र प्रहरी गण दुवाकोटका २० शसस्त्र प्रहरीसहित ३९ मा संक्रमित रहेका छन् । रासस

कमेन्टहरु
Loading...