पोखरा । कोरोना भाइरस महामारी सँगै यसबाट बँच्न हाम्रो जीवन पद्दतीमा थुप्रै परिवर्तन गर्नु परेको छ । यसमध्ये एक प्रमुख कुरा मास्क पनि हो । कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको अवस्थामा मास्क लगाउनु अनिवार्य मात्र होइन औषधी जस्तै बन्न पुगेको छ । आफूलाई संक्रमणको जोखिमबाट बचाउन आफ्नो घरबाट बाहिर निस्केर जुनसुकै ठाउँमा जाँदा पनि मास्क लगाउनु अनिवार्य शर्त बनिसकेको छ ।
यद्यपी मास्क सामाजिक दूरीको विकल्प कदापी होइन । संक्रमणबाट जोगिन एकआपसमा दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्नु आवश्यक भएको विज्ञहरू बताउँछन् । मास्क लगाउँदैमा कोरोना संक्रमितको दर घट्छ भन्ने कुरा जापानले देखाइसकेको छ ।
जापानिजहरु हरेकले माक्स बिना घरबाट बाहिर निस्किदैनन्, त्यो देशले लकडाउन पनि गरेन । सिर्फ मास्कको प्रयोगले मात्रै कोरोना संक्रमणको दरमा रोक लगाउन सफल भयो । अरू देशको तुलनामा त्यहाँ मृत्युदर र संक्रमण दर पनि कम छ । जापानमा सबैले मास्क लगाएर हिँड्नु नै यसको एउटा मुख्य कारण हो । तर हाम्रो देशमा भने मास्क लगाउन अनुरोध गरेर मात्र होइन, मास्क नगाउनेलाई प्रहरीले कारवाही गर्ने, दण्ड जरिवाना गर्दा पनि अझै सडक गल्ली तिर मास्क नलगाइ भौतारिने भेटिन्छन् ।
सही तरिकाले मास्क नलगाउँदा यसको प्रभावकारिता कम हुन सक्छ र रोग सर्ने जोखिम बढी हुन सक्छ । सही किसिमको मास्कको उचित प्रयोगले मात्र सम्भावित जोखिमबाट बँच्न सकिने अवस्था हुन्छ ।
यद्यपि, धेरै जसो मास्क केवल मानसिक सन्तुष्टिकै लागि मात्र लगाइरहेको जस्तो देखिन्छ । मास्क लगाउनुपर्ने वैज्ञानिक कारणबाट सुसूचित हुनुभन्दा पनि अधिकांश सर्वसाधारणले लगाउनका लागि मात्र मास्क प्रयोग गरेको देखिन्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा बोल्ने बेलामा मास्क नखोल्ने । धेरै जसो बानी एक्लै बस्दा मास्क लगाउने तर अगाडि कोही व्यक्तिसँग गफिनु पर्दा मास्कलाई चिउडो मुनी सार्ने बानी हुन्छ । यस्तो बानीलाई त्यागेर एकान्तमा एक्लै हुँदा मास्क खोल्ने तर कसैसँग कुराकानी गर्नुपर्दा मास्क लगाइरहने बानी बसाल्नुपर्छ ।
१. मास्क लगाएर मात्र हुँदैन । त्यो लगाउँदा र फुकाल्दा पनि सावधानी अपनाउनुपर्ने हुन्छ । स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार प्याकेटबाट मास्क निकालेपछि मास्कको भित्र पट्टि नछोएरै २ वटा डोरीको सहायताले लगाउनुपर्छ । लगाइएका बेला बारम्बार घाँटीमा झुन्ड्याउने र पटक पटक फुकाल्ने गर्नु हुँदैन । पसिना आएको वा मोबाइल खेलाएको हातले मास्क छुनु हुँदैन ।
२. लगाइ राखेका बेला मास्क सकेसम्म छुन हुन्न ।
३. मास्क निकाल्दा पनि अगाडिको भाग नछोइ पछाडिबाट तुना समात्नुपर्छ ।
४.मास्क निकालिसकेपछि तुरुन्तै साबुन पानीले हात धुनुपर्छ ।
५. कुनै पनि मास्कलाई धोएर पुनः प्रयोग गर्नु हुँदैन । मास्क धोएपछि मास्कको कण छान्ने कार्य क्षमतामा ह्रास आउँछ । पटक पटक धोएर लगाउँदा र तन्काउँदा यसले भाइरस रोक्न सक्दैन ।
६. मास्क बिग्रेको छ, भिजेको छ वा सास फेर्न गाह्रो हुने भएको छ भने त्यसलाई बिसर्जन गरी अर्को मास्क लगाउनुपर्छ ।
७. आजकल बालबालिकालाई पनि मास्क लगाइदिएको देखिन्छ । आवश्यकता नपरेसम्म बच्चालाई मास्क नलगाइदिएकै राम्रो । विश्व स्वास्थ्य संगठनले २ वर्षमुनीका बच्चालाई मास्क नलगाइदिन अनुरोध गरेको छ ।
८. चस्मा प्रयोग गर्दै मास्क लगाउँदा चस्मामा बादल लाग्छ । गालाको माथिल्लो भागबाट हावा निस्केर चस्मामा वाफ लाग्ने गर्छ । वाफबाट छुट्कारा पाउन मास्कको माथिल्लो (नाक रहेको भागमा) टेप लगाउने गरेको पनि पाइन्छ । मास्कको मुनी टिस्सु पेपर राखेर त्योमाथि चस्मा राख्दा पनि बादल आउँदैन । धेरै झुकेर नबस्दा पनि वाफ आउँदैन ।
९. डिस्पोजेबल मास्क कहिल्यै धुनु हुँदैन । यसभित्र धेरै तत्वहरु छन्, जुन धोएपछि खराब हुन सक्छन् ।
१०. माक्सलाई धुनुको सट्टा घाममा ३/४ दिन सुकाएर राख्न सकिन्छ । हरेक दिन लगाएर मास्क फुकालेर एउटा डोरीमा झुन्ड्याउने ४ दिन अगाडि झुन्ड्याएको मास्क झिकेर लगाउने यसरी एउटा मास्कलाई धेरै पटकसम्म प्रयोग गर्न सकिन्छ ।
११. मास्कमा फोहोर लागेको छ, सिङान ¥याल तथा पानीले भिजेको छ भने पुनः प्रयोग गर्नु राम्रो हुँदैन ।
१२. मास्क लगाएर कुरा गर्न असहज हुन्छ । तर लगाएर कुरा गर्दै जाँदा बिस्तारै बानी पर्छ । कुरा गर्ने बेला पनि मास्क खोल्नु हुँदैन ।
१३. मास्कको माथिल्लो भागको भित्र पट्टि मसिनो तारको डाँठ जस्तो हुन्छ र उक्त मसिनो तार भएको ठाउँले नाकलाई राम्रोसँग च्यापेर मुख, चिउँडो र गालाको भाग राम्रोसँग छोपिने गरी लगाउनुपर्छ ।
१४. मास्क लगाउँदा कत्तिको आफूलाई फिटिङ भएको भन्नेमा पनि ध्यान दिनुपर्छ । माथि, तल वा छेउछाउबाट हावा छिर्ने गरी खुकुलो छ भने टेप लगाएर वा अन्य तरिकाबाट मास्कलाई टाइट फिटिङ गराउनुपर्ने हुन्छ ।
१५. एक जनाले प्रयोग गरेको मास्क अर्को व्यक्तिले प्रयोग गर्नु हुँदैन ।
१६. मास्क च्यात्तियो, प्वाल प¥यो वा मैलियो भने त्यसलाई तुरुन्त विसर्जन गरिहाल्नुपर्छ ।
१७. मास्कलाई जहाँ पायो त्यही फ्यात्त फाल्ने होइन । सही ठाउँमा नै विसर्जन गर्नुपर्छ ।
१८. एनल्स अफ इन्टरनल मेडिसिन जर्नलमा उल्लेख गरेअनुसार, हातको सरसफाइ र मास्क लगाउने कार्य प्रभावकारी रूपमा ग¥यो भने भाइरस फैलन निकै कम हुन्छ ।
१९. केही अनुसन्धानले एन–९५ मास्क प्रयोग गरेको केही दिनमै त्यसको प्रभावकारिता घट्ने बताए पनि अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडिसीले भने देखिने गरेर नै एन–९५ मास्क नबिग्रिएसम्म वा नच्यात्तिएसम्म लगाउन मिल्ने हुन्छ भन्ने धारणा सार्वजनिक गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, सर्जिकल मास्क लगाउँदा कोरोना लगायत केही श्वास–प्रश्वास सम्बन्धी रोग फैलिनबाट रोकथाम गर्न सकिन्छ । तैपनि बुझ्नुपर्ने कुरा के छ भने, मास्क मात्रैले सुरक्षा गर्न सक्दैन ।
कोरोना भाइरस कि त श्वास–प्रश्वास ड्रप्लेटकित संक्रमित मान्छेलाई छुँदा स्वस्थ मान्छेमा सर्छ । त्यस कारण रोगी मान्छेले खोक्दा वा हाच्छिउँ गर्दा १ मिटरको दूरीसम्म कोरोना भाइरस अर्को मान्छेलाई सर्ने जोखिम हुन्छ । त्यसैले मास्कको प्रयोग गर्नुको साथै कम्तीमा २ मिटरको दुरी कायम गर्नु जरुरी हुन्छ ।
पब्लिक हेल्थ कमिटी फर द इन्फेक्सस डिजिज सोसाइटी अफ अमेरिकाका अध्यक्ष डा. जुली भ्यासम्पायनले भनेका छन्, ‘मास्कको प्रयोग गरेका कारणले मात्र संक्रमणबाट सुरक्षित छौं भन्ने महसुस गरेका मानिसप्रति हामी चिन्तित छौं । मास्क प्रयोग गर्नुभन्दा राम्रोसँग हात धुनु र संक्रमित व्यक्तिबाट टाढा रहनु महत्वपूर्ण तरिका हो । किनभने सर्जिकल मास्क नाक र मुखमा फिट गर्न सकिँदैन । मुखमा केही ग्याप हुने गर्छ । त्यसैले तपाईंले हावाबाट आएका विभिन्न कणलाई फिल्टर गर्न सक्नु हुन्न ।’
भीड छिचोलेर जाँदा वा सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कले सही तरिकाले नाक–मुख छोप्न सकेमा तुलनात्मक रूपमा संक्रमणको जोखिमबाट आफूलाई बचाउन सकिन्छ । सही साधनको सही उपयोगले मात्र आफ्नो र समुदायको स्वास्थ्यमा सकारात्मक भूमिका खेल्छ ।