‘सम्धी’ कड्किएः क्षमताले नियुक्ति पाएको हो, नाताले हैन

गन्थन डेस्क

नातामा रक्षामन्त्री इश्वर पोखरेलका सम्धी पर्ने प्राडा उपेन्द्र कोइरालाले सामाजिक सञ्जालमा आएको हल्ला र आलोचनालाई चुनौती दिएका छन् । सञ्चारमाध्यममा हालै दिएका एक अन्तवार्तामा कोइरालाले मन्त्री पोखरेलको सम्धी भएर नभई क्षमताका आधारमा नियुक्ति पाउँदै आएको बताएका छन् ।

सन् १९८६ मा आफुले पिएचडी गरेको, २३ वर्ष अघि प्रोफेसर भएको बताउँदै उनले त्यो विज्ञता सम्धीको कारण नभई आफ्नै दक्षताले भएको भन्दै आलोचना गर्नेलाई आफ्नो नियुक्तिबारे नातावादको छायाँ परेको प्रमाणित गराउन चुनौतीसमेत दिए । यसअर्थमा उनले विश्वविद्यालयको सर्टिफिकेट हाँसिल गर्न ‘सम्धी’को सोर्स नलाग्ने उल्लेख गरे । ‘खाद्य संस्थानको महाप्रबन्धक स्वर्गीय प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको हो त्यहाँ सम्धीको कुरा कसरी आयो’ उनले प्रतिप्रश्न गरेका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आफु उपकूलपति भएपछि त्यहाँ आज एमबीए, एमफिल र पिएचडीको अध्यापन सुरु हुने, इञ्जिनियरको मास्टर्स क्लास सुरु हुने गर्वकासाथ बताउँदै कोइरालाले उपलब्धीको बयानसमेत गरे । आफुले जहाँजहाँ नियुक्ति पाएर गएको हो त्यहाँ देखिएको परिवर्तन र नतिजाका कारण प्रधानमन्त्री र अर्थमन्त्री प्रभावित भएपछि नियुक्तिका लागि पुनः आग्रह भएको उनको भनाई छ ।

आजसम्म जसजसले जहाँ नियुक्ति पाए उनीहरु पनि कसैको सम्धी, कसैको ज्वाइँ, कसैको नातेदार नै भएको भन्दै उनी भावुक बनेका थिए । आफु ‘एक्सन ओरियन्टेड’ र रिजल्ट ओरियन्टेड’ भएको प्रतिक्रिया दिए । आफुले खाद्य संस्थान, आयल निगम सुधार गरेको उनको दाबी छ । मूलतः इश्वर पोखरेलको राजनीतिक योगदानलाई बदनामा गराउन लागिपरेकाले आफुर्ला जोडेर स्वार्थ भजाउन तल्लिन रहेको कोइरालाको आरोप छ ।

कोइराला खाद्य संस्थानका महाप्रबन्धक, विराटनगर स्नातकोत्तर क्याम्पसका प्रमुख, नेपाल आयल निगमका महाप्रबन्धक, उच्चमाध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष र लक्ष्मी बैंकका अध्यक्ष भइसकेका छन् । त्यस्तै, उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपतिसमेत भइसकेका छन् । यसलगत्तै कोइरालालाई वाणिज्य बैंकको अध्यक्ष बनाउन लागिएको हो । उनले ०५१ सालदेखि निरन्तर नियुक्ति पाउँदै आएका छन् ।

कमेन्टहरु
Loading...