रिना थापा ।
म्याग्दीको बेनी नगरपालिका ६ चुत्रेनीका २९ वर्षीय कृष्ण मल्ल पैसा कमाउने रहरले केही वर्ष अगाडि विदेश हानिए । आफ्नै गाउँठाँउमा आम्दानीको बाटो नदेखेपछि सम्पत्तिको रहर र परिवारको जिम्मेवारीले सन् २०१४ मा मल्ल अरु युवा जस्तै ४ वर्ष इरानमा रुमल्लिए । कमाइ राम्रै थियो । राम्रै कम्पनीमा सुपरभाइजरको जिम्मा पाएका थिए ।
तर त्यतिबेला युवामा अष्ट्रेलिया जाने हुटहुटी चलेको थियो । त्यस्तै हुटहुटी मल्लको दिमागमा पनि तातियो । अनि फर्किए ८०/९० हजारको मासिक आम्दानी हुने जागिर छाडेर नेपाल ।
इरानमा ४ वर्ष पसिना बगाएका मल्ललाई विदेशको दुःखसँग परिचित थिए । त्यसैले घर फर्किएका मल्ल रनभुल्ल परे । विदेशको राम्रै सुखको जागीर छोडेर अष्ट्रेलिया जाने रहर बोकी नेपाल फर्किएका उनलाई आफ्नै गाउँठाँउमा केही गर्ने जोस चल्यो । एकाएक अष्ट्रेलिया जाने चाहना आफ्नै गाउँमा व्यवसाय गर्ने सोचमा परिणत भयो । जोस आएपनि कुन व्यवसाय सञ्चालन गर्दा राम्रो आम्दानी हुन्छ, उनलाई थाहा थिएन । ‘त्यत्तिकैमा बाख्रा पालन गरेर राम्रो आम्दानी हुने देखिएपछि बाख्रा पालन गरें ।’ उनले भने, ‘मलाई पनि अष्ट्रेलिया जाने इच्छा थियो, तर विदेश जाने लगानीले आफ्नो गाउँमा व्यवसाय सञ्चालन गरे फाइदा हुने देखें, त्यसमाथि आमाबुबा पनि बुढाबुढी भइसक्नुभएको थियो, मुड चेन्ज भो विदेश जान मन लागेन ।’
उनी स्वदेश फर्किएको साढे २ वर्ष हुन लाग्यो । आफ्नै गाउँमा व्यवसाय सञ्चालन गरेर बस्न थालेको भने साढे १ वर्ष पुग्यो । उनले सुरुआतमा ११ लाखमा व्यवसाय सञ्चालन गरेका थिए । अहिले मासिक ५० हजार कमाउँछन् ।
‘घास र जमिन पर्याप्त मात्र भएर अलिकति मिहिनेत गरे व्यवसायबाट फाइदा रहेछ । म त एकदम सन्तुष्ट छु ।’ उनी भन्छन्, ‘तर कृषि र बाख्रा पालनाको अनुदान खान्छु मात्र भन्नेलाई चाहिँ त्यति फाइदा हुँदैन, केही गर्छु नै भनेर होमिए फाइदा छ ।’ मल्लका अनुसार उनलाई १ वर्षमा ७ लाख बराबरको फाइदा भएको छ ।
व्यवासाय सुरुआत गर्दा उनले गाउँकै स्थानीय बाख्राहरु जम्मा गरेका थिए । तर स्थानीय बाख्राबाट नाफा नभएपछि उनले अष्ट्रेलियाबाट आयात गरिएको बोयर जातको बोका र एक माउ पालेर व्यवसाय सञ्चालनलाई अर्को मोड तर्फ धकेले । व्यवसायिक आम्दानी र स्वास्थ्यका हिसाबले पनि लोकल बाख्रा भन्दा बोयर राम्रो हुने उनी बताउँछन् । स्थानीय बाख्राको तुलनाभन्दा बोयर जातको बाख्रामा जन्मेको १वर्षसम्म दैनिक २.३५ ग्रामका दरले मासु वृद्धि हुन्छ ।
बाख्रालाई राम्रो व्यवस्थापन गरेर पालन सके लोकल बाख्राभन्दा बोयरको तौल आधा प्रतिशतले बढी हुने मल्ल बताउँछन् । मल्लका अनुसार बोका नगन्हाउने, बोसोको मात्रा कम हुँदा पनि यो उपयुक्त छ । ‘सरकारले पनि यति बेला युवा व्यवासायीलाई सहयोग गरिरहेको जस्तो भान हुन्छ, त्यसैले म यसबाट खुसी छु ।’ उनी भन्छन् । अहिले मल्लको फार्ममा २५ वटा बोयर र क्रस बाख्रा गरि ५० बाख्रा छन् ।
पछिल्लो केही दिन यता भने लकडाउनले गर्दा बाख्रालाई चाहिने आवश्यक दानाको ढुवानीमा समस्या भएको उनले बताए । ‘बाख्राको माग जताततैबाट हुने रहेछ । परिस्थिति जस्तो होस् घाटा भन्ने कुरा नहुने । उस्तै परे आपूर्ति गर्नै गाह्रो ।’ उनी भन्छन् । अब भने उनी खरी जातको बाख्रालाई बोयर बोका दिएर नस्ल सुधार गर्दै उन्नत जातका पाठापाठी बिक्री गर्ने सोंचमा छन् ।
उनी भन्छन्, ‘विदेश गएर अरुको ठाँउमा पसिना बगाउनुभन्दा आफ्नै ठाँउमा व्यवसाय गर्न उत्तम छ । बाहिरी देश जागिर कस्तो पर्छ थाहा हुँदैन । विदेशमा गर्ने काम स्वदेशमा गर्दा के जान्छ ? दुख सुख आफ्नै देशमा होस् ।’
स्वदेशमै बसेर राम्रो आम्दानी गरेका उनी अब बाख्राको संख्या बढाएर व्यवसायलाई थप ठुलो बनाउने सोंचमा छन् । मिले र सकेसम्म उनले आफ्नो फार्मबाट अरु युवालाई बाख्रा पालन व्यवसायमा प्रेरित गर्न चाहन्छन् ।