गन्थन डेस्क
मंगलबार दिउँसोदेखि सामाजिक सञ्जालमा सम्धी घर कर्जा व्यापक भइरहेको छ । झट्ट सुन्दा कुनै व्यावसायिक बैंकले घर बनाउन उपलब्ध गराउने ऋण जस्तो देखिए, सुनिए पनि वास्तवमा यो त्यसो नभई सरकारले आफ्नो पक्षकालाई गरिने राजनीतिक नियुक्तिउपर कटाक्ष हो ।
यो कर्जाले वर्तमान सरकारका रक्षामन्त्री इश्वर पोखरेललका सम्धी उपेन्द्र कोइरालालाई लक्षित गरेको छ । पोखरेललाई शुक्रबार वाणिज्य बैंकको सदस्यमा नियुक्ति गरेको थियो । उनलाई आजको बैठकले बैंकको सञ्चालक समितिले अध्यक्षमा चयन गर्ने सम्भावना रहेको छ । यस अनुसार कोइराला सातौं पटक सरकारी नियुक्ति पाउने भाग्यमानी हुँदैछन् ।
कोइराला यसअघि खाद्य संस्थानका महाप्रबन्धक, विराटनगर स्नातकोत्तर क्याम्पसका प्रमुख, नेपाल आयल निगमका महाप्रबन्धक, उच्चमाध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष र लक्ष्मी बैंकका अध्यक्ष भइसकेका छन् । त्यस्तै, उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपतिसमेत भइसकेका छन् । यसलगत्तै कोइरालालाई वाणिज्य बैंकको अध्यक्ष बनाउन लागिएको हो । उनले ०५१ सालदेखि निरन्तर नियुक्ति पाउँदै आएका छन् ।
यस्तो अवसर पाइरहनुमा उनको क्षमतामाथि भन्दा पनि मन्त्री पोखरेलको सम्धी हुनुलाई व्यंग्य गरिएको हो । सम्धी घर कर्जाको यो ट्रोल कसले बनायो यकिन छैन । यद्यपि, विज्ञापन शैलीमा बनाइएको यो ट्रोल निकै आकर्षक र व्यंग्यले भरिपूर्ण छ । यसमा ‘आफ्नो भनेको आफ्नै हुन्छ’ र ‘तपाइलाई खुशी दिने आफ्नैले त हो नि’ भनिएको छ । आरबीबी होम लोन भनिएको यो ट्रोलले वर्तमान सरकारको नातावाद र कृपावादलाई उदांगो पारेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको लोगो प्रयोग गरिएको यो विज्ञापनमा ‘बालुवाटर क्षेत्रको ८ आनासम्म जग्गालाई विशेष प्राथमिकता’ भनि उल्लेख गरिएको छ ।