पर्सा । प्रदेश नं २ मा कोभिड–१९ संक्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । यहाँका अस्पतालको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको संख्या निकै बढेको हो ।
भदौ लागिकनका बितेका ६ दिनमै होम आइसोलेसनमा बस्ने ३ हजार २ सय ७ पुगेका छन् । साउन मसान्तमा यो संख्या १ हजार ६३ थियो । भदौका ६ दिनमा मात्रै २ हजार १ सय ४४ जना होम आइसोलेसनमा बस्ने थपिएका हुन् । आफ्नै घरमा रेखदेख, स्याहारसम्भार र वास्ता राम्रो हुने ठहरका साथ होम आइसोलेसनमा बसेको संक्रमण पुष्टि भएकाको भनाइ छ । ठिक आहारव्यवहार, सन्तुलित खानपान र भौतिक दूरी निर्वाहबाट संक्रमणमुक्त हुन सकिने भएपछि यस्ता संक्रमित आफ्नै घरमा बस्न थालेका हुन् ।
‘सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि जनताका काममा लागि रहँदा संक्रमित भइएछ, अहिले होम आइसोलेसनमा बस्दै आएका महोत्तरीको भंगाहा नगरपालिका–४ का वडाध्यक्ष अशोककुमार महतोले सञ्चारकर्मीसँग भने, ‘बस्ने तौरतरिका, निर्वाह गर्नुपर्ने सतर्कता, सन्तुलित खानपानको तालिका र आहारव्यवहारबाटै कोरोना परास्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाहित गर्न पनि होम आइसोलेसन प्रभावकारी हुने लाग्यो, घरका सबैले परबाट हेर्न पाइरहेका र ठिकठाक देखेपछि सबैमा यो संक्रमणबाट मुक्त हुइने आत्मविश्वास जागेको महसुस गरेको छु ।’
प्रदेश नं २ का ८ वटै जिल्लामा गरी भदौ लागेयता १ हजार ५ सय ५५ नयाँ संक्रमित थपिएका छन् । यिनीहरुमध्ये धेरैजसो र यसअघिका समेत गरी अहिले होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार २ सय ७ पुगेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिलेसम्म सिरहा होम आइसोलेसनमा बसेका नदेखिएको प्रदेशको १ मात्र जिल्ला हो ।
यसबाहेक अहिले पर्सामा ७ सय ६६, रौतहटमा ७ सय ४, महोत्तरीमा ६ सय ५१, धनुषा र सर्लाहीमा ३ सय ६० एवं बारामा २ सय ९१ जना संक्रमण पुष्टि भएकाहरु होमआइसोलेसनमा बसेका मन्त्रालयको तथ्यांक छ ।
प्रदेश नं २ का सबै जिल्लामा अहिले निषेधाज्ञा जारी छ । पछिल्लोपटक भदौ १ गते प्रदेशका ८ वटै जिल्ला प्रशासनले निषेधाज्ञा अवधि थप्दै लगेका छन् । कडाइ पूर्वकको निषेधाज्ञा अवधिभित्रै पनि कोभिड–१९ संक्रमण बढ्दो देखिएको छ । भदौ महिनाका छ दिनभित्र प्रदेशभित्र १ हजार ५ सय ५५ नयाँ संक्रमित थपिएका छन् । यसै अवधिमा १४ संक्रमितको मृत्यु भएको छ ।
अहिले (भदौ ६ गते शनिबारसम्म) प्रदेशका ८ वटै जिल्लामा गरी कूल संक्रमित ८ हजार ५ सय २० पुष्टि भएका छन् । साउन मसान्तमा यो संख्या ६ हजार ९ सय ६५ थियो । त्यसैगरी भदौ लागिकन १४ संक्रमितको ज्यान गएको छ । साउन मसान्तमा ४५ रहेको मृतक संख्या शनिबारसम्म बढेर ५९ पुगेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयको तथ्यांक अभिलेखले देखाएको हो । रासस