भावना श्रेष्ठ
चैतको अन्तिम सातादेखि मुलुकमा कोरोनाको असर बढ्दै जाँदा सरकारले लकडाउन जारी गरी संक्रमणलाई फैलन नदिन ठोस कदम चाल्यो । पोखरामा संक्रमण दर केही कम थियो । म सञ्चारकर्म र समाजसेवामा लागेको हुनाले दैनिक गर्नुपर्ने काम थुप्रै थिए । लकडाउन अवधिभर घरमै बसेपनि लकडाउन हटेपछि दिनचर्या व्यस्त बन्दै गयो । बिस्तारै पोखरामा पनि संक्रमित बढ्दै गए । छिमेकी जिल्लाका २ जनाले आइशोलेसनमै ज्यान गुमाए । साउनको २१ गते १ प्रहरीमा कोरोना संक्रमण देखियो । हामी उहाँको सम्पर्कमा थियौं । २५ गते लामाचौर निवासी एकको मृत्यु भएपछि स्वभावैले पोखरा त्रासमा रह्यो । हामी त्रसित भयौं । यो पोखराको पहिलो दुखद खबर थियो ।
साउनको १९ गते स्याङजाको वालिङबाट पोखरा आए । २० गते उनै प्रहरीलाई परिवारसहित भेट्न गयौं । २१ गते बहिनीको नागरिकता बनाउन जिल्ला प्रशासन पुग्यौं । त्यतिबेला उहाँ (प्रहरी)लाई कोरोना संक्रमण भएको खबर पायौं । यो खबरले हामी सबैलाई केही दुखित तुल्यायो । त्यसपश्चाात्, हामी सबै होम क्वारेन्टीन भयौं । सबैको कन्ट्याक्ट ट्रेसिङपछि २२ गते बुबाआमाको परीक्षण भयो । परीक्षणको रिपोर्ट आयो, जसले हामीलाई छाँगाबाट खसेजस्तै बनायो । अर्थात्, रिपोर्ट निस्कियो ‘पोजिटिभ ।’ अचानक बदलिएको माहौलले हामी चिन्तित भयौ भने म थप जिम्मेवार बन्नु पर्ने दायित्व बढ्यो ।
परिवारका सदस्यमा संक्रमण देखिएपछि म आफैंमा त्रसित हुनु स्वभाविक थियो । उहाँलाई स्वस्थ कसरी बनाउने भन्ने दुविधा भइरहेकाबेला कहाँ, कुन आइशोलेसनमा लैजाने भन्ने भयो । अन्ततः घरमै सुरक्षिततवरले राख्ने भन्ने योजना अनुसार कोठाको व्यवस्था गरियो । बाबाआमाको स्याहारसुसारमा जुट्दा म आफैंलाई पनि परीक्षण गराउनु पर्छ भन्ने लागेर २५ गते स्वाब दिए । जुन दिन मेरो जन्मदिन पनि थियो । त्यसपछि स्वाबको नतीजा कुर्न २७ गतेसम्मको समय शब्दमा व्यक्त गर्न सक्दिन । यद्यपि, हामी परिवारभित्र एकअर्कालाई ढाडस दिने काम भइरहेको थियो । हामीले कोरोनाले जित्छौं भन्नेमा दृढ थियो । तर समाजले हामीमाथि नकरात्मक दृष्टिकोण राखिसकेको थियो । हामीले अवहेलना भएको ठम्याइसकेका थियौं ।
करिब ८ बजे हामीलाई आइशोलेसनमा लैजान एम्बुलेन्स आउने सूचना पाएपछि आवश्यक सरसामानको जोहो गरियो । तर, रातको ११ बजेमात्रै एम्बुलेन्स आयो । त्यो बीचमा हामीलाई कोरोनाको कम र समाजको बढी डर लाग्यो । साढे ११ बजे लेखनाथस्थित सरुवा तथा संक्रमक रोग अस्पताल (कोरोना अस्पताल) पुग्यौं ।
आइशोलेसनमा पुगेको भोलीपल्ट बिहान थप पीडा भयो । यो पीडा समाजले दिएको थियो । आइशोलेसनमा आएपछि घरमा सुत्केरीसहित अन्य सदस्यहरु थिए । जहाँ छरछिमेकीहरु हामीलाई अन्यत्रै जानुपर्ने दबाब दिँदैगरेको सूचना फोनमार्फत पाए । टोलका अगुवा, राजनीतिकर्मीहरुले पीडितलाई सान्त्वना दिन हैन हामीलाई हटाउन भेला भएका थिए । हाम्रो संवेदनामाथि मजाक बनाइरहेका थिए । दिदि र भाउजुमाथि हु्ँदै गरेको ज्यादतीले म भित्र आक्रोश र विद्रोह पलायो । तर म किंकत्र्तव्यविमुढ बने । मैले १७ वर्षको उमेरमा टोल विकास समितिको अध्यक्ष बनेर दिएको योगदानलाई समाजले यसरी गुन लगाइरहेको थियो । मेरो घरमा ताल्चा मार्न गएकाहरुलाई फोनबाटै भने, ‘खबरदार मेरो घरमा ताल्चा लगाउन कसले दियो अधिकार । राज्यले होम आइशोलेसनमा बस्न दिएको अधिकारविरुद्ध टोल किन निर्णय गर्दैछ । तर मलाई समाजसँग लडिरहने समय थिएन । आइशोलेसनमै रहेका अभिभावकलाई हौसला दिनु थियो, बचाउनु थियो । यसबीच मैले पात्र चिने, प्रवृत्ति थाहा पाए । सबै बिर्सिएर म बाँच्न र बचाउन तल्लीन भए ।
आइशोलेसनमा हामी भन्दा ३ दिन अघि ल्याइएका संक्रमितहरु पनि थिए । उहाँहरुले पानी समेत खान नपाएको गुनासो सुनेपछि थप दुखित भए । त्यहाँको दूर्दशा देखेपछि हामीलाई मर्न छाडिदिए जस्तो लाग्यो । नर्स, चिकित्सकहरुको मुखै देख्न पाइएको थिएन । खानाको उचित व्यवस्था थिएन । अब मर्ने नै हो भने त्यो भन्दा पहिला लड्ने निर्णयमा पुगे । अब मेरो लडाई सिँधै राज्य र स्थानीय निकायसँग थियो । र, लडाईको हतियार थियो इन्टरनेट र मोबाइल । मैले त्यहाँको दूरावस्था फेसबुकमार्फत सार्वजनिक गरे । तत्काल गन्थन टिम र सम्पादक दिपक के श्रेष्ठ सम्पर्कमा आउनु भयो । गन्थनले हाम्रो चीत्कार समाचार बनाएपछि सम्बन्धित निकाय जुर्मुराए । आइशोलेसनमा हुनुपर्ने सेवा सुविधा तुरुन्तै व्यवस्था गरियो हाम्रो स्वास्थ्य जाँचसँगै खानपानमा सुधार भयो । संक्रमितहरुलाई परिचय लुकाउने परिपाटीविपरित हामीले आइशोलेसनमै नाचगान गरेको भिडियो फेसबुक लाइभ ग¥यौं । यो आफैमा साहसिक कदम थियो, भन्ने लाग्छ । त्यो नाचगानले सबैमा ‘बाँचिन्छ’ भन्ने प्रेरणा मिल्यो । धेरै शुभचिन्तकहरु अस्पतालमै भेट्न आउनु भयो । दैनिकरुपमा हामीले कागती पानी र गुर्जाे खाएको परिणाम हुनसक्छ, शारीरिकरुपमा कमजोर महशुस भएन ।
आइशोलेसनमा १४ दिनसम्म बस्न पर्ने भएपनि साता दिनमै ९ जनाको रिपोर्ट नेगेटिभ आएपछि हामी खुशी भयौं । उहाँहरुलाई बिदाई गर्दाको क्षण आफैंमा रोमाञ्चक लाग्छ । मेरो परिवारको ७ दिनमा पुनः परीक्षण भयो । बाबाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएपछि हामी ६ जना घर फक्र्याै । हामी आइशोलेसनमा गएपछि घरमा ताल्चा ठोक्न पुगेको समाज हामी स्वस्थ भएर फर्किएपछि बधाई दिन कोही आएनन् । समाजको स्वार्थ नाप्ने प्यारामिटर म सँग छैन । शायद, समाज कुनै दिन आफै सुध्रेला । रोगसँग भन्दा मान्छेको सोंचसँग लड्न धेरै गाह्रो हुने रहेछ भन्ने शिक्षा पाएको छु । हाम्रो परिवार अझै एक साता होम क्वारेन्टीनमै रहनेछ । जीवन जिउनु नै ठुलो कुरा हो । आज तीजको दिन, रातो साडी लगाएर छमछमी नाचे । मलाई जिन्दगी बाँच्नु छ । र, सातापछि कोरोनाबारे सचेतना फैलाउन घर बाहिर निस्कनु छ । समाजलाई भन्नु छ, ‘आइ एम अलाइभ ।’