रिना थापा ।
यदि यतिबेला स्थिति सामान्य रहेको भए तीज पर्वको रौनक हुन्थ्यो । सबै महिलाले तीज पर्व उत्साहका साथ मनाउँथे । तर कोरोनाको महामारीका कारण यस वर्षको तीज सम्पूर्ण हिन्दू नारीको लागि खल्लो बनिदियो । पोखरामा पनि दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ३ गते रातिदेखि निषेधाज्ञा जारी ग¥यो । जारी निषेधाज्ञा महिलाको पर्वलाई थप खल्लो बनायो ।
यतिबेला तीज सम्पूर्ण महिलाको लागि खल्लो भएपनि केही हदसम्म उनीहरु घरमै बसेर परिवारसँग मनाइरहेका छन् । तर चाडबाडको समयमा पनि फुटपाथमा तरकारी बेच्ने महिलाहरुलाई तीजको उत्साह देखिएन । अरु महिला माइत जान तथा साथीसंगी भेट्न नपाएर तीज खल्लो मानिरहेका छन् । तर पृथ्वीचोकको चाइना पुल छेउमै बस्ने महिलालाई भने व्यापार नभएर आजको दिन खल्लो बनेको छ ।
उसो त सरकारले १ सय २० दिन गरेको लकडाउनका कारण फुटपाथ व्यापारी मर्कामा परे । यो लामो अन्तराल पछि स्थिति सहज बन्दै थियो । २÷४ पैसा कमाउन सडकमा तरकारी लिएर बसेका उनीहरुलाई फेरि मनमा आशा पलाएको थियो । तर स्थानीय सरकारले जारी गरेको निषेधाज्ञाले पर्व आए पनि बेउमंगी भएका छन् ।
फुटपाथमा सामान्य फलफूल तथा तरकारी बेचेर उनीहरुको जीविकोपार्जन चल्छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न जारी भएको निषेधाज्ञाले त्यो पनि ठप्प जस्तै बन्यो ।
प्रशासनले बिहान ५ बजेदेखि ८ बजेसम्म खाद्यान्न तथा फलफूल पसल खोल्न दिएको छ । यतिबेला उनीहरुको आम्दानी स्रोत त्यही समयमा हुने व्यापार बनेको छ ।
उनीहरुको दैनिकी आज तीज भए पनि फरक छैन । अन्य समय जस्तै रुपी घर्ती मगर सबेरै उठेर तरकारी पोको पारिन् । चाडपर्वका बेला सबैका घरमा मिठोमसिनो पाक्दा उनी भने तरकारी किन्न आउने ग्राहकको पर्खाइमा थिइन् । ‘हामी जस्तालाई के को चाड हुनु ? १ दिन व्यापार नभए भोलि के खाँउ हुन्छ ।’ उनी भन्छिन् । चाडपर्वको रौनकभन्दा पनि व्यापार भए खान पुग्थ्यो भन्ने उनको अपेक्षा यत्ति छ ।
गोरखा घर भइ हाल पोखरामा व्यवसाय गरिरहेकी सीता पाण्डेलाई पनि तीजको रौनकले छुन सकेको छैन । यसो बाटोमा हिँड्ने मान्छे देखे तरकारी किन्ने ग्राहक आएकी भनेर उनी आशा लाग्दो मुहार लगाएर हेर्छिन् । अन्य महिलाको जस्तो माइत जान र दर खान नपाएको चिन्ताभन्दा तरकारी कुहिएर जान्छ कि भन्ने उनलाई चिन्ता छ ।
‘सरकारले बन्द थप्दैन होला नि है ? अस्ती नै को लकडाउन पछि व्यापार होला जस्तो भएको थियो, फेरि बन्द भए त खान लाउन सकस हुन्छ नि ।’ गन्थन डटकमसँग कुराकानीको क्रममा निन्याउरो मुख लगाएर उनले भनिन् ।
उनको पनि जीविकोपार्जनको स्रोत यही फुटपाथमा तरकारी व्यवसाय हो । उनका धेरै अपेक्षा छैन जीवनसँग । बस्, अरुसँग हातमुख जोड्न नपरोस् ।
उनकै छेउमा उमेरले ५० नाघेकी १ वृद्धा पनि तरकारी लिएर बस्छिन् । देशमा फैलिएको कोरोना महामारीको कारण फलतः उनको छोरा र नातिले रोजगार गुमाए । त्यसको प्रतिफल घरपरिवारलाई केही राहत होस् भनी तरकारीको पोको बोकेर उनी फुटपाथ व्यापारका लागि निस्किइन् । उनलाई कोरोनाको डर र तीजको रौनकभन्दा व्यापार भए हुन्थ्यो भन्ने सोच छ । उनी भन्छिन्, ‘मेरा लागि यही तीज । काम गरिएको छ । अरुसँग हातमुख जोड्न नपरोस् त्यत्ति हो ।’
जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञाले विभिन्न क्षेत्रमा असर गरेको त छ नै । यसले मुख्यतयः साना फुटकर व्यवसायीलाई मारमा पारेको छ । सवारीसाधन नचल्दा मानिसहरूको आवतजावत कम छ । जसले स्वत अत्यावश्यक भएपनि तरकारी किनमेल गर्नेको संख्या घटेको छ ।