राजन शर्मा पराजुली
जनताको संविधानसभाबाट संविधान बनाउने चाहना करिब ७० वर्षपछि २ पटकको संविधानसभाको निर्वाचनबाट विश्वको उत्कृष्ट संविधान बनाउँदै पूरा भयो । नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षबाट नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सुनौलो व्यवस्थामा प्रवेश ग¥यो । त्यसपछिका ऐतिहासिक जनाअन्दोलन, जनयुद्ध लगायतका आन्दोलन नै थिए । अविकास, अशिक्षा, गरिबी, जातीय, लैंगिक विभेद अनेक खालका उत्पीडन जस्ता कुराको अन्त्य हुनेछ । यस्तो सपना आम नेपाली जनमानसको थियो ।
नेपाली कांग्रेसले आफ्ना बहुमतका सरकार सञ्चालन गर्न सकेको थिएन । विभिन्न किसिमका शक्ति सन्तुलनमा गठबन्धन सरकार बन्ने र भत्किरहने अवस्थाबाट आम जनता अवाक बनेका थिए । नपाली कम्युनिस्ट आन्दोलनका २ मुख्य घटक नेकपा एमाले र एनेकपा माओवादी पार्टी एकताको संकल्प सहित अगाडि बढे । ‘सुखी नेपाली, समृद्ध नेपाल’ नाराको आलोकमा सबै खाले अविकास, गतिरोध, गरिबी, बेरोजगारीको अन्त्य गरेर नेपाललाई समाजवादको बाटोमा लैजाने प्रण गर्दै जनतामाझ आम निर्वाचनमा होमिए । उनका सम्पुर्ण एजेण्डालाई साथ, समर्थन सहयोग सहित स्वीकार्दै २ तिहाइ मत सहित पुरस्कृत गरिदिए । फलस्वरूप सुर्य ध्वजावहाक विजेता उम्मेद्वार तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध नेपालको संघीय संसदबाट प्रधानमन्त्री पदमा आसिन हुनुभयो ।
विधान निर्माण गर्दा यहाँले खेलेको महत्वपूर्ण भूमिका, जातीय राज्यको विरुद्धमा यहाँको चट्टानी अडान, विरोधीलाई मुटु छेड्ने गरी यहाँले गर्ने प्रहार, आफ्ना कुरा स्पष्टसंग सबैले बुझ्ने गरी आत्मविश्वासका साथ व्यंग्यात्मक शैली सहित समेटेर दिने दृष्टिकोणले यहाँ जनतामाझ लोकप्रिय हुँदै जानुभयो । भारतले संविधानमा आफ्नो अभिष्ट पूरा नहुने देखेपछि नेपालका मधेशवादी दलको सहयोगमा अघोषित नाकाबन्दी लगायो ।
मधेशवादी दल हामीले सीमा ठप्प पारेको भन्न थाले । कांग्रेस कुन दुलोमा लुक्यो चाइचुई केही गन्ध पाइएन । प्रगतिशील, देशभक्त, बुद्धिजीवि, व्यवसायी, कर्मचारी आम जनता सबै यसको विरोधमा थिए, हुने नै भए । तपाईंलाई भारतले पटकपटक भ्रमण आउन आग्रह ग¥यो । तर नाकाबन्दी अन्त्य नगरेसम्म म आउँदिन भनेर जुन साहसिक अडान लिनुभयो, तपाईंलाई जनताले एक देशभक्त मुलुकको राष्ट्रवादी नेताको रुपमा स्वीकार गरे ।
पछौटेपन, अशिक्षा, अविकास, विभेदबाट आफ्नो जन्मलाई नै धिक्कार्दै बस्नु दैनिकी बनेको थियो । पाइपबाट ग्यास, हावाबाट बिजुली, पानीजहाज, पूर्व पश्चिम उत्तर दक्षिण रेलमार्ग, युवालाई रोजगारी, वृद्धहरुलाई ५ हजार, चीनसंग पारवहन सन्धि, यस्ता कुराले आम नेपाली जनतामा सकारात्मक सञ्चार भयो । उत्साह र आशा जाग्यो । अब हाम्रा दुखका दिन सकिए, बाँकी छ त केवल सुख भोग गर्न भन्ने ठाउँमा आम मानिसको मानसिकता आइपुग्यो । यो पनि एउटा सफलता नै थियोे ।
पहिलो कार्यकालमा ट्रेलर मात्रै हेरेका जनता फिल्मको प्रतीक्षामा थिए । तपाईंलाई दोस्रो पटक प्रधानमन्त्रीको रुपमा दिपावली गरेर स्वागत गरे । जनताको अपेक्षा धेरै थियो । यता देशको वास्तविकता अर्कै । रित्तो ढुकिटीले समृद्धि सम्भव थिएन । ५ वर्षको सरकारको नेतृत्व गर्न आसिन भएपछि देशको वास्तविक अवस्था जनतासामु राखेर जनताको विश्वास लिदै ठोस अनि प्रभावकारी कार्यक्रम सहित अत्यन्तै पारदर्शी ढंगले अगाडि बढ्नुहोला भन्ने विश्वासलाई गलहत्याउदै दम्भ, स्वेच्छाचारिता अनि अंहकार सहित केही सीमित व्यक्तिको परिधिमा यहाँका पाइला अगाडि बढ्न थाले ।
यातायातमा सिन्डिकेट खारेजीको घोषणा भयो । समयमा काम नगर्ने ठेकदारको लाइसेन्स खारेज गर्ने घोषणा भयो । सूचना विधयेक, गुठी विधेयक जस्ता विधेयक पेश गरिए । स्याटेलाइटमा पहुँचको कुरा गरियो । पानीजहाज अनि रेल त भइहाल्यो । आफ्नो सेवा सुविधा बढाउन सबै तह र तप्का सक्रिय बने । भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलताको माला जपियो । यथार्थमा तपाईंलाई विस्तारै विस्तारै गरिब निमुखा जनता, बिहान खाए बेलुका के ? बेलुका खाए बिहान के ? भन्ने भन्दा मार्सी चामलको भात खुवाउनेहरु प्रिय हुन थाले । यति र ओम्नी समूहजस्ता समूहको हित नै जनताको हित हुनुपर्ने भयो । सुरु हुनै नपाएको रेल विभागमा बिना टेन्डर अनुचित तवरले करोडौं घोटाला गर्न उद्दत बनियो । यस्तो महामारीको बेलामा स्वास्थ्य सामाग्री खरिदमा समेत भ्रष्टाचार गरियो ।
मर्यादित नेपाली सेनालाई विवादमा ल्याउन खोजियो । वाइड बडी जस्ता अरबौका घोटाला सार्वजनिक भए । तपाईंकै भाषामा मन्त्रीमण्डलका सबै मन्त्री एकातिर र उनलाई एकातिर राख्ने हो भने उनैतर्फ तराजु ढल्किन्छ भन्ने मन्त्रीलाई भ्रष्टाचारको बात लाग्यो । शुन्य सहनशीलताको नारा शुन्य नै भयो । क्षमतावान् नैतिकवान भन्दा आसेपासे पहुँचका आधारमा मोलमोलाइका आधारमा राजनैतिक नियुक्ति हुन थाले । दिगम्बर झादेखि सुशील भट्ट, राजदुतका नियुक्ति, चैतन्य मिश्र जस्ता व्यक्तिको राजीनामा यिनले त्यसतर्फ नै संकेत गर्छन् ।
मन्त्रीहरुलाई कार्य सम्पादन मुल्यांकनका आधारमा काम गराउने र समीक्षा गर्ने कुराको थालनी गर्नु भयो । तर अचम्म जनताको नजरमा सबैभन्दा राम्रो काम गरेका फेल भए अरु पास । अनि उनको सट्टामा हृदयेश त्रिपाठी जस्तालाई जिम्मा लगाइयो । बोल्ने क्रममा सामान्य त्रुटि हुँदा निलम्बन गरिदिने तपाईं चेपाङ बस्ती उजाड्दा मौन रहनुभयो । कम्युनिस्ट पार्टीका नीति सिद्दान्त निष्ठा, सामुहिक नेतृत्वभन्दा पर रहेर केवल एक गुटको मात्रै सरकार हो कि भन्ने तवरले चल्न थाल्नुभयो । पार्टी त तपाईंलाई सत्तामा पु¥याउने हतियार मात्रै बनेजस्तो देखियो ।
कोरोनाको महामारीसंग विश्वनै जुधिरहेको छ । मानिसहरू आत्तिएका छन् । डराएका छन् । अझै भनौं, भयभित बनेका छन् । व्यापार, व्यवसाय, उद्योगधन्दा, कलकारखाना स्कुल कलेज साना ठूला उद्यमी व्यवसायी पीडित बनेका छन् । जसले भर्खर व्यवसाय गर्दै थिए तिनीहरु बैंकमा चर्को ब्याज तिरिरहेका, दैनिक ज्यालादारी मजदुरहरु, प्राइभेट संघ संस्थानमा जागिर गरिरहेकाको स्थिति अत्यन्तै नाजुक बनेको छ । सम्हालिन नसक्नेले आत्महत्याको गलत बाटो रोजिरहेका छन् । सिंगो समाजनै डिप्रेसनको भयावह स्थितिबाट गुर्जिने खतरनाक स्थिति छ । यस्तो अवस्थामा सिंगो देशलाई नै अभिभावकत्व प्रदान गर्दै आम जनतामा हौसला, साहसको वातावरण सिर्जना गर्दै यो महामारीविरुद्द लड्ने सबैको साझा दायित्व हो । तपाईं कहिले पार्टी फुटाउन मिल्न गरी अध्यादेश ल्याउनुहुन्छ । छापामार शैलीमा संसदलाई उठाएर ल्याउन प्रिय संसद पठाउनुहुन्छ । तपाईंका मन्त्री सरकारको कामको बारेमा प्रश्न गर्नेलाई मोतीबिन्दु लागेको छ भन्छन् । तपाईं श्री राम जन्माउन व्यस्त हुनुहुन्छ ।
लकडाउनको बीचमा रातारात फिल्म स्टाइलमा राष्ट्रपति जस्तो मर्यादित संस्थामाथि प्रश्न उठ्ने ढंगले अध्यादेश प्रकरण आएपछि पार्टीमा गम्भीर शंकाको जन्म भयो । एक तिहाई सदस्यले लिखित रुपमा बैठकको माग गरेपछि बैठक बोलाउनुपर्ने वैधानिक व्यवस्था र आफ्नै अध्यक्षतामा केन्द्रीय कमिटीले निर्णय गरेको ३/३ महिनामा स्थायी कमिटी बैठक बस्ने निर्णय पनि कुल्चनुभयो । लामो चौतर्फी प्रेसरपछि मात्र बैठक बोलाउन तयार हुनुभयो ।
बैठकमा धेरै जसो सदस्यले सरकारको काम कारवाही प्रभावकारी नभएको, पार्टी सञ्चालन सही ढंगले नभएको भन्दै कडा आलोचना भयो । आलोचना बढ्दै गएपछि तपाईं बैठकमा बस्न छाड्नुभयो । तपाईंकै सजिलोको लागि बैठक पार्टी कार्यालय छोडेर बालुवाटार बसिरहेको थियो । उठेका प्रश्नहरुको जवाफ दिएर आफ्ना दृष्टिकोण राख्नुभन्दा तपार्इंले आफ्नो गुट सञ्चालन गर्ने मदन भण्डारी फाउन्डेसनमा गएर आफ्ना सहयोद्धा कमरेडहरुलाई भारतीय दलाल करार गर्नुभयो । म नभए कसैले भारतसँग कुरा गर्न सक्दैन । मैले नक्सा ल्याएको हुनाले मलाई भारतले हाम्रै पार्टीका नेताको सहयोगमा हटाउन खोज्यो । भन्न त यसो पनि सकिन्छ तपाईं जस्तो महान व्यक्तिले अघिल्लो कार्यकालमै नक्सा किन सार्वजनिक नगरेको त ?
जगजाहेर भएको कुरा के हो भने नीति तथा कार्यक्रम बनेसकेपछि पार्टी सचिवालयमा छलफल हुँदा सचिवालयका नेताले नयाँ नक्सा त नीति तथा कार्यक्रममै समावेश हुनुपर्छ । त्यसपछि मात्रै नीति तथा कार्यक्रममा समावेश भएको हो । उक्त कदमलाई सारा नेपालीले स्वागत समर्थन सहयोग गरे । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतले एकतर्फी रुपमा हाम्रो भूभाग समेत समेटेर नक्सा जारी गरेपछि तत्काल हाम्रो तर्फबाट पनि नक्सा जारी गर्न निर्देशन दियो । तपाईंले स्वयम् नक्सा त कागजको न हो, छापामा छापिहाल्छ नि म त जमिन नै फिर्ता ल्याउछु भन्नुभयो ? खै त ल्याएको ? यत्रो समयसम्म त्यस विषयमा नेपाल भारत आधिकारिक वार्ता पनि भएको छैन ।
देशमा लोकतन्त्र बहाली हुनुपर्छ । सामाजिक न्याय सहितको समतामूलक समाज निर्माण हुनुपर्छ । समृद्ध नेपालको सपना साचेर, सम्झिँदा पनि पीडाबोध हुने भयकंर कष्टकर जेल जीवन १४ वर्षसम्म काटेर आउनुभएको छ । तर तपाईं सामान्य परामर्श समेत नगरी संसद्को अधिवेशन भंग गरिदिनुहुन्छ । तपाईंको कालमा कलाकारले गीत समेत गाउन पाउँदैन । के यस्तै लोकतन्त्रको लागि त्यो महान् त्याग गरेको हो र हजुरले ? पक्कै होइन । बहुदलीय प्रतिस्पर्धापूर्ण संसदीय लोकतान्त्रिक व्यवस्थामा दलहरुका विधान पनि लोकतान्त्रिक चरित्रका हुनुपर्छ । यो संवैधानिक ग्यारेन्टी हो । त्यसले कार्यकर्ताले उठाएका हरेक प्रश्नको जवाफ पार्टी बैठकमा, संसदमा उठेको प्रश्नको जवाफ संसदमा, जनताले उठाएका प्रश्नको जवाफ आम निर्वाचनमा दिनुपर्ने हुन्छ । त्यसैले जनताले उठाएका हरेक प्रश्नको जवाफ चुच्चे नक्सा हुन सक्दैन ।
लेखक अनेरास्ववियूका केन्द्रीय कमिटी सदस्य हुन् ।