विष्णु गौतम
२०७४ साल असार २ गते वेलुकी सात बजे पोखरा महानगरपालिकाका मेयर मानवहादुर जिसीले एउटा अन्तर्वातामा निकै गर्वका साथ भनेका थिए–“ अब मसँग १८ सय १८ दिन मात्रै समय बाँकी छ तर गर्नु पर्ने धेरै छ । अब एक मिनेट बढी सुते भने पनि मेरा विश्वास माथीको बेईमानी हो ।” लेकसाईडमा खाजा खादै गर्दा सुनेको यो संवादसँगै नेकपा हुनुमा निकै गर्वानुभुत भएको थियो । मेयर निर्वाचित भएको पहिलो हप्तामै यस्तो खालको प्रतिबद्धता सुन्दा एक पेग बढि मेयरको नाममा खाएकै हो ।
तर आज जनताले जहाँ भेट्यो त्यहि धारे हात लागाउने वेला भै सक्यो । सामान्य भन्दा सामान्य काम पनि नहुँदा जनताले चुनावका दिनमा गर्वका साथ मेयर मानवहादुर जिसीलाई गरेको विश्वास विस्तारै धमिराले खाएको छ । त्यो पनि उनकै सहयोगी र समर्थकहरुवाट ।
त्यो अन्र्तवार्ता त्यतिमा मात्रै सकिएको थिएन, उनले भन्दै थिए –“लेक टु लेक र केभ टु केभ साईकल लेन निर्माण गरिने छ । ग्रामीण वडामा रहेका सवै वाटाहरु तीन वर्ष भित्र पुर्ण रुपमा कालोपत्रे गरिने छ । लामो समयपछि भएको स्थानीय निकायको यो चुनाव संबिधानले ग्यारेण्टी गरेका अधिकार जनताको घरदैलोमा लाने महत्वपूर्ण अवसर हो । यो सुनौलो अवसरको सदुपयोग गर्दै जनतालाई समृद्वि बनाउन मैले बिशेष कार्यक्रम ल्याएको छु । हिजोसम्म सिंहदरवारले शक्ति दिएन भनेर दोष लगाएर मात्रै हुँदैन भन्ने मनसायले विकास र समृद्विका लागि विभिन्न कार्यक्रम ल्याएको छुं । यी सबै कुरालाई जोडेर भन्ने हो भने स्मार्ट पोखरा मेरो पहिलो एजेण्डा हो ।”
आज लाग्न थालेको छ तपार्इंको विशेष कार्यक्रम के रहेछ कुन्नी ? लाग्दै छ अघिल्लो हप्ता मात्रै तपाईको हस्ताक्षरमा आएको अनियमिता नै विशेष पो हो की ? तपाईले भन्नु भएको थियो –“ महानगरपालिका कार्यालयले १३ करोड रुपैंया हिनामिना नभएको स्पष्ट पार्दै १ करोड ७३ लाख ११ हजार ९ सय ७८ मात्रै हो ।” कस्तो अचम्म मान्छेहरु दैनिक रुपमा महाकालसँग निरिह भएर पनि जुधिरहेका छन् तर पनि तपाईंलाई कसले सुनाईदिने यो कुरा ।
रेकर्ड राखेको थिए त्यो अन्तर्वाता त्यसैले सुन्दै लेख्दै गरेको छु । त्यतिवेला कर्मचारी संयन्त्रलाई फेर्ने हो र व्यवस्थापन गर्ने हो भने भ्रष्टाचार र कमिसन शुन्यमा झार्न सकिन्छ भन्नु भएको थियो । सँगसँगै कर्मचारी प्रशासनलाइ चुस्त दुरुस्त वनाउन सेकेण्डमा सुन्ने, मिनेटमा काम गर्ने र एक घण्टा भित्र महानगरवासीलाई काम सहित फिर्ता गरिदिने अभियन र काम नभएमा चित्तवुझ्दो कारण सहित फिर्ता गर्ने पनि कामको सूरुवात भयो । खै त आज तपाईले भनेको कुरा, गुलीया सपना, तपाईले यो पढिरहदा लाजले नाक छोप्नु भएको त छैन होला नी है ? अहिले दैनिक रुपमा १५÷२० जनाको दरले कोरना संक्रमित वनेका छन् तपाईका भोटरहरु । नढाटी भन्नुहोसु त कतिजना संक्रमित भोटरलाई भेटेर सान्त्वना दिनु भएको छ ?
गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका अनुसार पोखरा महानगरपालिका भित्र दुई सयको हाराहारीमा कोरना संक्रमित छन् । यो संख्या सेकेण्ड सेकेण्डमा वढेको छ त्यसैले एकिन संख्या लेख्न समस्या भएको हो । जानेर, नजानेर वा लापरवाही जसरी भए पनि संक्रमित त भए भए तर पनि संक्रमितको सख्यामा कम गर्न महानगरको योजना खै ? महानगरको तर्फवाट अपनाउनु पर्ने सावधानी खै ? तपाईकै सचेतक कोरना रेड जोन वडा नं १९ का अध्यक्ष सोभामोहन पोडेलकै फोन उठाउनु हुदैन रे कोरनाको वारेमा कुरा गर्न खोज्दा । कति दिन भाग्न सकिएला र मेयरसाव ?
जे जे वोल्नु भयो–भयो हामी भोटरले असहज मनस्थितीमा वोलेको भनेर माफ गरौला तर अहिले तपार्इंलाई भोट दिएका महानगरवासी हामीहरु कोरनाको त्रासले मर्नु न वाँच्नुको अवस्थामा छौं कृपया केहि त गरिदिनुहोस् । विन्ती मेयरसाव वाँचेमा अर्को पटकको चुनावपछि गर्नुहोला जे जे गर्नु छ अहिले आफ्ना भोटरको जिवन रक्षामा लाग्नुहोस् । केहि गर्न त सक्नु हुन्न तै पनि वोलेर गुलिया कुरा गर्न त कसले सिकाउनु पर्छ र तपाईलाई त्यसैले अहिले चुनावमै झै गरी कोरना संक्रमितको अगाडी उभिएर वोलिदिनुस् –“ ढुक्क हुनुहोस् तपाँईलाई केही हुदैन महानगरले हेर्छ , म यहि भन्न तपाईहरु समक्ष आएको हुँ ।”
महानगरभित्रै रहेको प्रदेश संसद वैठकमा पनि यहि विषयमा निकै ठुलो विभाद भएको छ जसलै गर्दा प्रदेश संसद पनि संचालन हुन सकेको छैन । वहुमत रहेको नाममा नेपाली कांग्रेसले असार २३ मा कोरोना नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउँदै ४ बुँदा समेटेर संसद सचिवालयमा संकल्प प्रस्ताव पेस गरेको थियो ।
जसमा १ घर १ पिसिआर, आइसोलेसन बेडको उचित प्रबन्ध गर्नुपर्ने, जिल्ला जिल्लामा स्थापना गरिएका क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप हुनुपर्ने र कोरोना संक्रमितको निधन भएमा उचित व्यवस्थापनको चाँजोपाँजो मिलाउनुपर्ने यस्ता माग जसले राखे पनि जनताका पक्षमा होईनन् र ? प्रतिपक्षले उठाउदैमा फेल गर्नु पर्ने भन्ने पनि हुन्छ र अहिलेको जमनामा । भोट सवै जनताले दिए तर सरकारमा पुगेपछि सवै जनप्रतिनिधीको प्रतिपक्ष हुने तिनै भोटरहरु त्यसैले त आफ्नै नगर पितालाई यति सारो पर्ने गरी लेखेको छु । \
अन्त्यमा मेयर साप आज सम्म गरेका प्रतिवद्धता र कामहरुको वेथिती सवलाई भुलाउने एक उत्तम अवसर पनि हो यो कोरान कहर । त्यसैले हामीलाई स्मार्ट सिटी समृद्ध पोखरा केहि चाहिदैन मात्रै कोरनामा एक सासको आश्वासन चाहिएको छ । महानगरमा कोरना लाग्ने र मर्ने सवै तपाइको दलका नहोलान् तर तपाईलाई जिताएका भोटर हुन् ।