बिक्रम पाण्डे
लकडाउनमा नेपाली भोको थिए । लकडाउन खोलेपछि नेपाली पाइला–पाइला मरेका छन् । न सरकारले भोको हुँदा पेट भर्दिन सक्यो, न जनताले पाइला–पाइलामा मर्दा पनि सतर्कता अपनाउन सक्यो । जनताको आफ्नै पीडा छ । व्यवसाय खोल्यो न व्यापार छ । न कोरोनाबाट नै सुरक्षित छ । सरकारलाई सधैं दोष दिएर मात्र पनि हुन्न । तर समयमा सही ढंगले कोरोना निवारण जुन रुपमा लाग्नुपर्ने हो, त्यो रुपमा नलाग्दा भोक र रोगले हैन आफै घाँटी रेटेर मर्ने परिस्थिति बनेको छ हामी जस्ता साधारण व्यवसायीलाई ।
व्यवसाय खोलौं कर्मचारीलाई तलब समेत दिन नसक्ने वातावरण बनेको छ । फेरी व्यवसाय खुल्यो भनेपछि साहुले ताकेता गर्न थालिहाल्छन् र सहकारी बैकिङ क्षत्रले ताकेता सुरु गर्न थाल्छन् । उसो त नगरुन् पनि कसरी ? सहकारी बैकिङ क्षत्रको पनि आफ्नै समस्या छ । तर सधारण रुपमा चालाइरहेको जुन व्यवसायलाई पनि आफ्नो व्यवसाय निल्नु र ओकल्नु भएको छ । अझ भनुँ, रेस्टुरेन्ट व्यवसायलाई आफैंमा खतरा छ र उच्च सतर्कता साथ सञ्चालन गर्दा सरकारको रेस्टुरेन्टप्रति गरिएको व्यवहारले ग्राहक आएर खाने वातावरण छैन ।
ठूला व्यवसाय भाटभटेनी, सपिङ महल जस्ता विभिन्न ठाउँमा यति भीड छ कि, रेस्टुरेन्टमा १ महिनामा छिर्ने मान्छे १ घन्टामा छिरेका छन् । तर पनि त्यस्तो ठाउँमा सरकारको निगरानी फितलो देख्दा लाग्छ, जनयुद्धभन्दा ठूलो रुपमा हत्या गरिरहेको छ । जसको जिम्मा कसले लिने, मुला काटिए झैं मान्छे काटिए भन्ने सुनेको हो । तर अहिले बलिको बोको ढले सरि मान्छे ढलेका छन् ।
तर पनि सबै भनिरहेका छन्, हामीले सतर्कता अपनाएका छौं, हामी निगरानी गरिरहेका छौं । अचम्मको कुरा यो छ कि देशभरीमा ८÷९ जनालाई कोरोना लाग्दा ठप्प पारेर लकडाउन गर्ने हाम्रो सरकार दिनकै हजारौं मान्छे संक्रमित हुँदा आश्वासन र भरोसामा मात्र राखेको देख्दा लाग्छ, देशमा जनताको लागि लड्ने नेता कोही छैन । मात्र छ त कुर्सीको लडाइ अनि कमिसनको खेल । एउटा गोप्य स्रोतअनुसार युरोपका केही मुलुकमा नेपाललाई सहायता भनेर सेनिटाइजर, ह्यान्डवास, पिपिइ सेट लगायतका ३ टन सामाग्री सुरक्षित राखेको छ । यहाँका केही युवा त्यो थाहा पाएपछि ल्याउनको लागि आवश्यक प्रक्रिया के के हो भनेर बुझ्न जाँदा कहिले कोभिडको समिति, स्वास्थ्यमन्त्री, भन्सार लगायतका ठाउँमा गोलचक्करमा घुमाइयो ।
नेपालका प्रभावशाली मन्त्रीज्यूहरुलाई भेटेर त्यसको भाडा हामी आफै तिर्छौं, निशुल्क बाँड्छौ आवश्यक कागजी प्रक्रिया मिलाइदिनुस् भन्दा समेत जिम्मेवारी नेतृत्व बहानाबाजी गरेर पन्छियो । पछि बुझ्दै जाँदा उनकै सुपुत्रले त्यसको व्यवसाय चलाइराखेका रहेछन् । यो हदसम्मको दलाली जिम्मेवार व्यक्तिबाट भएपछि हाम्रो नसिबमा राम राम भन्नू बाहेक केही रहेन । के यही हो त सरकारले गर्नुपर्ने भूमिका ? के यसरी नै हो त जनताको सुरक्षा गर्ने तरिका ? हो भने हामीलाई कुन संरचनाको लागि सरकार चाहिने के का लागि सरकार ? हामी नागरिकको बाँच्ने अधिकार खोइ कहाँ हरायो ? मलाई लाग्छ, रोगदेखि डराएर सरकार भाग्दै छ ।
सरकार मात्र होइन आफ्नो गाउँठाउँ, सहरको सुरक्षा गर्छु, जनताको हकहितको लागि लड्छु भन्ने नै आज कुन दुलोमा बसेका छन्, थाहा पत्तो छैन । जनप्रतिनिधि, देशका ठुला नेता यति बेला कोरोनाको महामारीमा उच्च सतर्कता साथ सबै खाले जनताको जिउधन जोगाउन अनुरोध छ । किनकी जनतानै नरहे नेता कसले भन्ने ? त्यसैले सबै खाले जनता, व्यवसायीको तत्काल सुरक्षा र बाँच्ने अधिकारको लागि अग्रसर हुनहोला । जनता भोक र रोगले मरे त ठीकै होला सरकार । घाँटी रेट्न थाले भने सरकार हुनु भन्दा नहुनुनै बेस ठान्ने छन् ।
बजार नखुल्दा जेनतेन बाँचिएकै थियो । तर बजार खुलेपछि त झन् महामारीले मारेको मारै भइरहेको छ । अब लकडाउन मात्र समस्या समधान होइन । हरेक जनताको बाँच्ने आधारको सुरक्षा सहित कर्फ्यू नै लागाउनु पर्नेछ । पार्टीका नेता कार्यकर्ता केही समाजसेवी र सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएर घरघर, टोलटोलमा गएर परिक्षण गरेर सबैको बाँच्ने अधिकारलाई कदर गर्नुपर्ने छ । यी सम्भव पनि छ ।
हामी यति बेला संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकमा छौं । सहजै रुपमा कफर््यू नै लगाएर प्रत्येक जनताको घरमा पुगेर परिक्षण गरी हामीले कोरोना रोगथाम सहजै गर्न सकिन्छ । सम्बन्धित निकायले यसमा चासो जति देखाउनुपर्ने हो, जसरी देखाउन्पर्ने हो, त्यसरी नदेखाउँदा यो विषम परिस्थिति आएको हो । देशमा अहिले ७ सय ५३ वटा स्थानीय सरकार, ७ ओटा प्रदेश सरकार र एउटा संघीय सरकार क्रियाशिल छन् ।
तर यी यसरी चलिरहेका छन् कि, जसको एकअर्कासंग कुनै अन्तर सम्बन्ध नै छैन । एउटा नेसनल टेलिभिजनमा वीरगञ्जको मेयर साहेबले कोभिडको स्थिति यहाँ भयावह देखियो, हामीले मात्रै नियन्त्रण गर्न सकिने स्थिति बनेन भनेर पटक–पटक प्रदेश र केन्द्र सरकारलाई गुहार्दा पनि कोही जिम्मेवार बनेन । देशको मुख्य नाका, जहाँ उच्चतम तहको सुरक्षा सतर्कता अपनाउन्पर्ने हो, त्यहाँ अहिले जटिल स्थिति देखा परिसक्यो । मेहर साहेब स्वयम् आइसोलेसनमा छन् । हाम्रो राज्य निकाय कति गैरजिम्मेवार छ, यो सानो उदाहरण मात्रै हो ।
यसलाई ध्यान दिएर कोरोनाको रोगथामका लागि अब पनि गम्भीर रुपले काम गरिएन भने गल्ली–गल्लीमा लासको लस्कर सिवाय केही देख्न पाइने छैन ।