पोखरा । अनेसास नेपाल गण्डकी समितिद्वारा लकडाउनमा साहित्यकारलाई सिर्जनशील बनाउन आयोजना गरेको प्रदेशस्तरीय लकडाउन संस्मरण प्रतियोगिता–२०७७ मा गौरी तमु प्रथम भएकी छन् ।
यसैगरी प्रतियोगितामा बिएस निरबले द्वित्तीय र तारानाथ पराजुलीले तृत्तीय स्थान प्राप्त गर्न सफल भएका छन् । यस्तै प्रतियोगितामा कान्ति पौडेल, डा. कालु शर्मा सुवेदी, कुशुमकेशव पराजुली, गगन थापा मगर, गोपाल खनाल, तिलक पौडेल, दिलिप दोषी, लिली अधिकारी त्रिपाठी, सन्दीप खत्री र सुमन श्रापित उत्कृष्ट १० मा पर्न सफल भएका छन् ।
अनेसास गण्डकीले २०७७ वैशाख १७ गते पहिलोपटक संस्मरण आह्वानको सूचना प्रकाशन गरेको थियो । उक्त सूचनानुसार पछि ३५ दिन समयावधि थप गरेर २०७७ साउन ३ गतेसम्म संस्मरण आह्वान गरेकोमा ३७ संस्मरण संकलित भएको गण्डकीका महासचिव असफल गौतमले बताए । कार्यक्रम संयोजक तथा गण्डकी प्रदेश संयोजक सरिता अर्याल, गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबा र महासचिव असफल गौतमको ३ सदस्यीय प्रारम्भिक छनौट समितिबाट चयन गरिएका १३ संस्मरण अन्तिम नतिजाका लागि अकारादी क्रममा लेखकको नाम नराखिकन अनेसास गण्डकी जनाउने समितिको कोडमा मुल्यांकन समिति समक्ष पेस गरिएको थियो ।
अन्तिम निर्णयका लागि साहित्यकार प्रतीक ढकाल, विधान आचार्य र प्रभा बरालको ३ सदस्यीय समितिले आइ.एन.एल.एस.जी–एफ कोड नम्बरको ‘लकडाउनमा मेरो अनुभूति’ शीर्षकको संस्मरण प्रथम, आइ.एन.एल.एस.जी–जे कोड नम्बरको संस्मरण ‘कोरोना म कुन देशको शरणार्थी’ शीर्षकको संस्मरण द्वित्तीय र आइ.एन.एल.एस.जी – जी कोड नम्बरको ‘कोरोना कहरसित भविष्यको रहर’ शीर्षकको संस्मरणले तृत्तीय स्थान प्राप्त गरेको नतिजा आयोजक समितिलाई प्रदान गरेको थियो ।
प्रतियोगितामा प्रथम हुनेले ११ हजार १ सय ११, द्वित्तीयले ५ हजार ५ सय ५५ र तृत्तीयले ३ हजार ३ सय ३३ रुपैयाँ नगदसहितको सम्मान र उत्कृष्ट १० ले उत्कृष्टताको प्रमाणपत्र प्राप्त गर्ने गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबाले जानकारी दिए ।
कार्यक्रम संयोजक अर्यालले विजयी प्रतियोगीलाई बधाई र प्रतियोगितामा सहकार्य गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै पुरस्कार वितरण कार्यक्रम कोरोना कहरको महामारी कम भएपछि पोखरामा औपचारिक कार्यक्रमबीच अर्पण गरिने बताइन् ।
उपाध्यक्ष घायलश्रीले प्रतियोगितालाई सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै निकट भविष्यमा उत्कृष्ट संस्मरणसहितको कृति प्रकाशन गर्ने अभियानमा प्रदेश समिति रहेको बताए ।