पोखरा ।
केही दिन अगाडि मात्रै कोरोना फैलिइएको जिल्लाबाट काठमाडौं फर्किएका संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पाण्डे सांसद प्रदीप यादव सहितको टोलीसंग वन व्यवस्थापन सम्बन्धी अध्ययनका लागि तराई पुगेका थिए, जहाँका विभिन्न जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिएको छ । सांसद प्रदीप यादवलाई समेत यस अगाडि नै कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ ।
यता हिजो काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ८ जना सम्पर्कविहीन भएका छन् । बुधार काठमाडौंमा १ सय २ जनामा संक्रमण भएकोमा ८ जना स्वास्थ्यकर्मीको निगरानीबाट सम्पर्कविहीन रहेको इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । १६ जना संक्रमित सम्पर्कविहीन भए पनि ८ जना भने सम्पर्कमा आएका छन् ।
सम्पर्कविहीन संक्रमित कोरोना फैलिएका तराईका विभिन्न जिल्लाबाट आएको बताइएको छ । उनीहरुमध्ये केहीले फोन नउठाउने तथा कसैले अफ गरेर राखेको इडिसिटीमा केस म्यानेजमेन्ट संयोजक उत्तमकुमार कोइरालाले बताएका छन् ।